छुर्पी, गुतपाक, चीज, ललिपप, बम्बईसन गाउँमै उत्पादन

स्थानीय उद्यमीले दुधको विभिन्न परिकारहरु बनाउन थालेपछि उदयपुर हडिया गाविसमा उत्पादन हुने दुध स्थानीयरुपमै खपत हुन थालेको छ । विगतमा स्थानीयरुपमा दुध खपत हुन नसक्दा र बाहिर पनि पठाउन नसक्दा प्याक्नु पर्ने बाध्यता थियो ।
तर, अव गाउँमै छुर्पी, गुतपाक, चीज, ललिपप, बम्बईसन आदि बनाउन जानेपछि स्थानीयरुपमै खपत हुन थालेको स्थानीय अगुवा उद्यमी कुमारसिंह कार्कीले बताउनुभयो । घ्यू, दही, महि, नौनी बनाउने चलन पुरानै भएपनि नयाँ परिकारहरु भरखरैदेखि बनाउन थालिएको छ । बनाईएका परिकारहरु स्थानीय बजार, हाट, पसलहरुमा विक्री हुने गरेको उद्यमी नरेन्द्र खड्काले बताउनुभयो । पूर्व शिक्षकसमेत रहनुभएका उद्यमी कार्कीका अनुसार केही समयअघि दुधको विभिन्न परिकार बनाउने तालिम स्थानीय १२ जना उद्यमीलाई दिईएको थियो ।
जिल्ला घरेलु विकास समिति उदयपुर र एकिकृत पशुपालन तथा कृषि फर्म, हडियाको संयुक्त अयोजनामा तालिम दिईएको थियो । हडिया गाविस र आसपासका गाउँमा ब्यवसायिकरुपमा गाईभैसी पालन तथा हरेक घरमा दुहुना रहेकोले दुध प्रसस्त पाईने गरेको हो । त्यसरी उत्पादन भएका दुध खपत भन्दा बढि हुँदा त्यसको सदुपयोग गर्ने सीप, ज्ञान नहुँदा प्याक्नु परेको थियो । घरेलु विकास समिति उदयपुरका कार्यालय प्रमूख गोपालप्रसाद शर्माले हडियामा प्रसस्तमात्रामा दुध उत्पादन हुने भएकोले दुधजन्य परिकारहरुको उत्पादन प्रशस्त हुने र त्यसलाई बजारीकरण गर्न सक्दा उद्यमीहरुलाई राम्रो आयआर्जन हुने बताउनुभयो ।
पशु सेवा कार्यालय उदयपुरका प्रमूख जगबीर यादवले दुध सबैभन्दा राम्रो खाद्य पदार्थ भएकोले विभिन्न परिकार बनाएर खेर जान नदिनु बुद्धिमानी मात्र नभई आयआर्जनको राम्रो माध्यम भएको बताउनुभयो । उहाँले भन्नुभयो “दुध बराबरको खाद्य पदार्थ अहिलसम्म कुनै पनि बैज्ञानिकले बनाएको छैन ।” उहाँले यसको उत्पादन बृद्धि गर्न पशुपालनलाई आधुनिक ढंगले ब्यवस्थित रुपले गर्नुपर्ने बताउनुभयो ।
लघु उद्यम विकास कार्याक्रमका बजार विशेषज्ञ इश्वरी गौतमका अनुसार उदयपुरमा दुधबाट बन्ने विभिन्न परिकारहरुले राम्रो बजार पाउने सम्भावना रहेको बताउनुभयो ।
Post a Comment