0

तरकारी खेतीबाट १९ जना पाल्दै



बेलौरी नगरपालिका ४ बुटावारीका ४४ वर्षीय अमृत चौधरी अपांगता भएका व्यक्ति हुन् । उनको दायाँ खुट्टा राम्ररी चल्दैन । कुनै बेला हिँडडुल गर्नै समस्या हुन्छ । उनले सबलांगझै काममा खटिएर १९ जनाको परिवार पालेका छन् ।
आधा बिघा जमिनमा उनले बाह्रै महिना तरकारी खेती गरेर परिवारलाई आत्मनिर्भर बनाएका छन् । उनी साँझ बिहान जुन बेला पनि आफ्नै बारीमा काम गरिरहेका भेटिन्छन् । उत्पादन गरेको तरकारी टाढाटाढासम्म लगेर बिक्री गर्ने काम पनि उनी आफैं गर्छन् । ‘दैनिक १० र १५ किलोमिटर टाढासम्म पुगेर तरकारी बिक्री गर्छु,’ उनले भने, ‘बेलौरी, आईबीआरडी र पुनर्वासम्म पुगेर तरकारी बिक्री गर्छ ।’ उनी बिहानै उठेर तरकारी टिपेर साइकलमा गाउँगाउँ चहार्दै स्थानीय बजारसम्म पुग्छन । अमृतले तरकारीबाटै वार्षिक डेढ लाख आम्दानी गर्छन् । त्यही आम्दानीबाट घरपरिवारका खर्च चलाउँछन् । ‘भाइहरू अँधिया गरेर धानगहुँ जुटाउँछन्,’ उनले भने, ‘मैले तरकारी खेतीबाट खर्च जुटाउँछु ।’
उनले छोराछोरीको पढाइ खर्च, परिवारको नुनतेल तथा अन्य खर्च त्यही तरकारी खेतीबाट जुट्ने गरेको बताए । उनीसँग ‘ख’ वर्गको अपांगताको परिचयपत्र पनि छ । तर उनी सामाजिक सुरक्षा भत्ता भने पाउँदैनन् । सानैमा एकाएक खुट्टा दुख्न थालेको र पछि बिस्तारै चलाउनै नसकिने भएको उनले बताए । ‘पछि पछि त हिँड्नै नसकिने भयो,’ उनले भने । उनले बेमौसमी र मौसमी दुवै किसिमका तरकारी खेती गर्छन् । अहिले उनको बारीमा काउली, टमाटर, आलु, खुर्सानी, बन्दा र प्याज रोपिएको छ । अन्य ठाउँका तुलनामा यहाँ तरकारीको मूल्य पनि कम छ । अहिले बजारमा काउलीको मूल्य ४० देखि ६० रुपैयाँ प्रतिकिलो छ । तर यहाँ १५ रुपैयाँ प्रतिकिलोमा काउली बिक्री भइरहेको छ ।
यहाँका अधिकांशले घरमा खानका लागि तरकारी उत्पादन गर्ने भएकाले यहाँ तरकारीको मागसँगै मूल्य पनि कम छ । त्यही भएर टाढासम्म पुगेर तरकारी बिक्री गर्नुपरेको अमृत बताउँछन् । ‘उनले विभिन्न किसिमका तरकारीका बेर्नाहरू तयार पारेर पनि बिक्री गर्छन्,’ उनका छिमेकी मायाराम शर्माले भने, ‘गाउँलेहरू पनि उनकै बारीबाट बेर्ना लगेर तरकारी खेती गर्छन् ।’ उनका अनुसार खासगरी प्याजको बेर्नाको माग निकै बढी हुने भएकाले यहाँ त्यसको उत्पादन पनि बढी हुन्छ । सामूहिक रूपमा तरकारी खेती गर्नेहरू पनि उनकै बारीमा आएर सिक्ने गरेको मायाराम बताउँछन् । अमृतले विगत १० वर्षदेखि तरकारी खेती गर्दै आएका छन् ।
उनी बाह्रैमास आफ्नो बारीमा विभिन्न किसिमका तरकारीहरू लगाउँछन् । गैरसरकारी संस्था राष्ट्रिय समाज कल्याण संघले समेत उनलाई बीउबिजन तथा आधुनिक तरकारी खेती गर्नमा सहयोग र्पुयाउँदै आएको छ । उक्त क्षेत्र बाढीको जोखिममा भएकाले विपद् व्यवस्थापनका लागि गठन भएका समूहहरू सामूहिक तरकारी खेती गर्न उनकै बारीमा आउने गर्छन् ।
गाउँमै हाटबजार नहुँदा दैनिक १०र१५ किलोमिटर टाढा गएर तरकारी बिक्री गर्नुपरेको कृषक अमृत बताउँछन् । स्थानीय स्तरमै सातामा एक दिन भए पनि हाटबजार सञ्चालन भए कृषकहरूलाई सजिलो हुने उनले बताए ।

Post a Comment

 
Top