जाजरकोट–डोल्पा सडक खण्डको काम तीव्र
माघ २१
– राष्ट्रिय राजमार्गले अहिलेसम्म पनि छुन नसकेको डोल्पामा सरकारले तय गरेको लक्ष्य अनुरुप दुई वर्षभित्रै सडकको पँहुच विस्तार गर्न युद्धस्तरमा काम भइरहेको छ ।
जाजरकोट–डोल्पा सडक खण्डको १०८ किमीमध्ये १०० किमी सडक खण्डको निर्माण भइसकेको र बाँकी १८ किमी सडक निर्माणका लागि अहोरात्र काम भइरहेको कार्यदलका प्रमुख नेपाली सेनाका महासेनानी विश्वबन्धु पहाडीले बताउनुभयो ।
सडक खण्डको बाँकी रहेको १८ किमी सडक चट्टानै चट्टान भएकाले निर्माण गर्न धेरै चुनौती छ । नाकाबन्दीले इन्धनको समस्या भए पनि सडक निर्माण भने नरोकिएको उहाँले बताउनुभयो ।
जाजरकोटे र डोल्पालीको समस्यालाई ध्यानमा राख्दै बीच बीचमा जिप सेवा सञ्चालन समेत गरिएको उहाँको भनाइ छ । दुई महिनाभित्रै रुकुमको गोतामकोटदेखि रुकुमकै मन्का बगरसम्म आन्तरिक जिप सेवा सञ्चालन गरिने बताइएको छ ।
आन्तरिक रुपमा सञ्चालन गरिएको जिप सेवाले दैनिक उपभोग्य वस्तुको उपलब्धतामा केही सहज भएको र जिल्ला बाहिर जानलाई पनि दूरी कम भएको सर्वसाधारणले बताए । चालु आवमा सरकारले डोल्पा–जाजरकोट मोटरबाटो विस्तारका लागि रु १५ करोड विनियोजन गरेको छ ।
Post a Comment