हतकडीसहित फरार अभियुक्त पक्राउ
२१ माघ
मानव बेचबिखन मुद्दाका आरोपित दाङसिङ–५ का ३८ वर्षीय लालबहादुर तामाङलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । नौ वर्षअघि हतकडीसहित फरार मानव बेचबिखन मुद्दाका आरोपी तामाङलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । दाङसिङ–५ का २२ वर्षीया र १९ वर्षीया दुई युवतीलाई २०६४ कात्तिक ९ गते ललाइफकाई भारततर्फ बिक्री गर्न लैजाँदै गर्दा पर्सा जिल्लाको इनर्वाबाट पीडितलाई उद्धार गरी पीडक तामाङलाई पक्राउ गरिएको थियो ।
पीडितको जाहेरीमा पर्सा जिल्ला अदालतले नुवाकोट क्षेत्र पर्ने भन्दै मुद्दा नुवाकोटमा लैजान आदेश दिएपछि २०६४ कात्तिक २३ गते नुवाकोट आउने क्रममा विदुर नपा–४ बट्टारबाट अभियुक्त तामाङ हतकडीसहित फरार भएका थिए । फरार प्रतिवादी तामाङलाई जिल्ला अदालतले १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
फरार तामाङ भारतमा लुकीछिपी बस्दै आएको र बेलाबेलामा घरसमेत आउने गरेको सुराकीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । फरार अभियुक्त तामाङलाई आज नै जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको छ ।
अभियुक्त ताामाङ फरार भएपछि उनलाई नुवाकोट ल्याउने प्रहरी हबल्दार रामशरण राई र प्रहरी जवान रामकृष्ण ओझालाई तत्काल निलम्बन गरी जिल्ला प्रहरी कार्यालय पर्साले विशेष अदालत गठन गरेको थियो र कारबाही स्वरुप उनीहरुलाई १५ हजार रुपैयाँ जरिवाना र सेवाबाट बर्खास्त गरिएको थियो । फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरिरहेको प्रहरीले यो वर्ष हातहतियार खरखजाना मुद्दामा चार र मानव बेचबिखन मुद्दाका आठजनालाई पक्राउ गरिसकेको छ ।
Post a Comment