0
 पानीको हाहाकार
२१ माघ
लामो समयदेखि पानी नपर्दा महोत्तरीको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाविसमा खानेपानीको हाहाकार मच्चिएको छ । करिब आठ महिनादेखि पानी नपर्दा जिल्लाको पशुपतिनगर, किसाननगर, हात्तीलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, बर्दिबास, गौरीबास, खयरमारा, बिजलपुरा, निगौल, गौशाला लगायतका गाविसमा खानेपानीको हाहाकार मच्चिएको स्थानीयवासीले बताएका छन् । 
 
ढुङ्गा र चट्टानयुक्त भौगोलिक बनावटकाकारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेर ती विभिन्न गाविसमा रहेका २०० भन्दा बढी इनार सुकिसकेका छन् भने बाँकी इनारको पानी पनि पाताल पुगिसकेको लक्ष्मिनियाँका रामनाथ महतोले बताउनुभयो । सयौँ इनार एकैचोटि सुकिदिँदा त्यस क्षेत्रमा खानेपानीको बिकराल समस्या उत्पन्न भएको र त्यस्तै बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निक्कै समय खर्चिन परेको बेलगाछीका भोला महतोले बताउनुभयो । 
 
जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाविसमा पानीको हाहाकार मच्चिएपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एकजना सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाविस र वरपरका नदी, खोलामा धाउनु परेको गौशालाका हजारी साहले बताउनुभयो । खयरमाराका देवेन्द्र यादवका अनुसार पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेका छन् भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्यहरु सातामा दुई÷तीनपटक मात्रै गर्ने गरेका छन् । 
 
ती गाविसमा विभिन्न सामाजिक सङ्घसंस्था र गाविसकै खर्चमै पनि धेरै पहिले जडान गरिएका दर्जनौँ धारा, स्यालो ट्युबवेल र डिप बोरिङ पनि खराब भएर सञ्चालनमा नहुँदा स्थानीयवासीलाई पानीको जोहोका लागि छिमेकी जिल्ला धनुषाका सहरबजार र पाँचदेखि सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाविसका नदीनाला र इनारमा जानुपर्ने बाध्यता रहेको पशुपतिनगरका बुधवा महतोले बताउनुभयो ।

Post a Comment

 
Top