वाग्द्वारमा स्नान मेला
वैशाख १
– प्रत्येक वर्ष वैशाख १ गते स्नान मेला लाग्ने वाग्मती नदीको उद्गमस्थल वाग्द्वारमा आज बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बुढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नव वर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ । आजको दिनमा यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
सृष्टिको सुरुमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भयो । ब्रह्माजीले शिवजीको ध्यान गरी शिवजीको वाग्अर्थात् बोलीबाट प्रकट भएकाले सो नदीको नाम वाग्मती रहेको प्रा डा ऋषिराम पोखरेल बताउछन् ।
“ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यही भएको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्वती र वाग्मती आदि नामले पुकारिन्छ”–उनले भने “वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनि अश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ, भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको हो ।”
वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भकभके बोली भएकाको बोलीमा शुद्धता आउने जनविश्वास छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ मानिस स्नान र जल सेवनका लागि वाग्द्वारमा आउने गरेको बुढानीलकण्ठका बासिन्दा नरप्रसाद धिताल बताउछन् ।
शिवजीको बोलीबाट वाग्मती प्रकट भएर अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवम् दान गरेमा पुण्य प्राप्त हुनेछ भनी विष्णुले वरदान दिएकाले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चलिआएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डन बताउछन् ।
वाग्मती नदी भारतमा रहेको जमुना नदीसँग नमिलुन्जेल अविच्छिन्न रुपमा वाग्मतीकै नामले चिनिने र यस बीचमा एक हजार आठ तीर्थस्थल रहेको प्रा डा पोखरेल बताउछन् । प्राचीनकालमै तपस्या, ध्यान र साधनाका लागि उपयुक्तस्थल मानिएको शिवपुरी क्षेत्रमा अगस्त्य, दधिचि र कार्तिकेय लगायत ऋषिले आई तपस्या गरेको प्रमाण विभिन्न शास्त्रसिद्ध छ । आधुनिक युगमा पनि शिवपुरी बाबा यसै क्षेत्रमा आई तपस्या गरेर विश्वप्रसिद्ध भए ।
सो क्षेत्रमा शिवपार्वतीको जोडी घुम्दै आउँदा सुन्दरीजलको झरनाबाट मोहित भएर शिव त्यहीँ बसी तपस्या गर्दा शैलमतेश्वर र पार्वती तपस्या गरेको स्थान शैलवतीअर्थात् सुन्दरीमाईका रुपमा अहिलेसम्म पनि प्रख्यात छन् । दुवैका नामबाट प्राचीनकालदेखि नै सुन्दरीजल नामकरण भएको स्थानीयवासीको विश्वास छ ।
प्रत्येक वर्ष वैशाख १ गते वाग्द्वारमा स्नान गर्न आउने चपलीकी सुनयना रेग्मी आफूमा आनन्द बढेको र वर्षमा एक पटक मात्र भए पनि वनजङ्गलको मार्गमा तीन घन्टा हिँड्दा स्वास्थ्यमा राम्रो भएको अनुभवले स्नान गर्न आएको बताउछन् ।
वाग्द्वार बुढानीलकण्ठ र सुन्दरीजल दुई ठाउँबाट जान सकिन्छ । बुढानीलकण्ठबाट तीन घन्टा र सुन्दरीजलबाट साढे तीन घन्टा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रा गरेपछि प्राकृतिक छटा र सौन्दर्यले भरिएको वाग्द्वार पुगिन्छ । वैशाख १ गते वाग्द्वार र सपनतीर्थ स्नान गरी भक्तपुरको बिस्केट जात्रा हेरेमा वर्षभर रोगव्याध नलाग्ने किंवदन्ती समेत छ ।
Post a Comment