0

पूर्वराजाको शुभकामना 

 प्रधानमन्त्रीको सम्बोधन

 भित्रि रहस्य के ?

-सुशील पन्त
नयाँ बर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओलीको सम्बोधन आउनुअघि पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ बर्षको शुभकामनाको नाममा केही कुरा बोले । गणतन्त्र अझैपनि संस्थागत भइनसकेको र राजनीति स्थिर भइनसकेको अबस्थामा पूर्वराजाले केही बोल्दा तरंग उत्पन्न हुनु स्वभाविक छ ।
आफ्नो शुभकामना वक्तव्यमा पूर्वराजा ज्ञानेन्द्रले वर्तमान शासकीय शैलीले देश कमजोर भएको बताए मात्र भनेका छैनन राज्य संयन्त्रलाई व्यक्तिगत लाभामा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भइसकेको टिप्पणी गरे । पूर्वराजा ज्ञानेन्द्रले नभनेपनि देश कमजोर भएको कुरा सबैले स्वीकारेको बिषय हो । त्यसैले पूर्वराजाको वक्तव्यप्रति जनताको विरोध भन्दापनि साहानुभूति देखियो ।
गणतन्त्र स्थापनाको आठ बर्ष पुग्नै लाग्दा समेत पूर्वराजाले वर्तमान शाशकीय शैलीप्रति किन टिप्पणी गरिरहेका छन् ? सत्ताच्युत भएको एउटा शक्तिले वर्तमान शाशकीय शैलीप्रति कडा टिप्पणी गर्दा राजनीतिक नेतृत्व किन लाचार छ ? २०६२/०६३ सालको जनआन्दोलनको दशक पूरा हुदैगर्दा दलहरुले जनतामा किन निराशा बढ्यो भन्ने बिषयमा गम्भीर समिक्षा गर्नुपर्ने समय भएको छ ।
नयाँ बर्षको पूर्व सन्धयामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशबासीका नाममा संवोधन मार्फत केही सन्देश दिन खोजेका छन् । खासगरी नेपाललाइ भविष्यमा कसैको ‘प्रयोगशाला’ बन्न नदिने बताए । माओवादी सशस्त्र जनयुद्धको शान्तिपूर्ण अवतरण पछिका दिनमा नेपाल विदेशीको प्रयोगशाला जस्तो बन्न पुगेको थियो ।
नेपालमा विदेशी हस्तक्षेपले कति हद नाघेको थियो भने, कुनैदेशका सहसचिव हैसियतका राजदूतहरुले प्रधामन्त्री र दलका नेताहरुलाइ घुमाइ रहे । प्रधानमन्त्री भइसकेका र राजीनितिक दलका शीर्ष नेता कुनै विदेशी नेतालाइ भेटन लाइन लागेर होटलमा पुग्ने देखी लुकिलुकि दुतावासमा पुग्ने घटना सामान्य भए ।
राजदूतहरु यति शक्तिशाली भएकि परराष्ट्र मन्त्रालयले बनाएको कुटनीतिक मर्यादालाइ उनीहरुले लुङ्गि लगाइदिए । प्रधानमन्त्रीलाइ भेटन राजदूतहरु चप्पल लगाएर पुग्न थाले । सभासद्हरुलाइ प्रलोभन र विदेश भ्रमणमा लगेर आफ्ना एजेण्डामा सहमत बनाए । माव अधिकारको मुद्दा उचालेर देश विखण्डनको नारा बोकेर हिडनेलाइ भेटन छद्म भेषमा तराइमा पुगे ।
ढिलै भएपनि यो देशका सरकार प्रमुखले नेपालमा विदेशी चलखेलको रहस्य बुझेछन । प्रधानमन्त्री ओलीले संवोधनका क्रममा भने ‘अविकासको नकारात्मक परिणाममा टेकेर अनगिन्ती ‘सामाजिक वैज्ञानिकहरु’ले धर्म, संस्कृति, जात÷जाति, भूगोल र क्षेत्रका नाममा हाम्रो देशमाथि अनेक खालका परीक्षण गरे’का भन्दै यो मुलुकलाई थप प्रयोगशाला बन्न दिन नहुने’ बताए ।
देशका कुनैपनि प्रधानमन्त्रीले गरेका संवोधन नराम्रा थिएनन, तर यो देशका राष्ट्रसेवक हरुले प्रधानमन्त्रीको भाषा बुझ्दैनन् । सरकार छाड्ने वेलामा सबै प्रधानमन्त्रीको एउटै गुनासो हुने गर्छ, कर्मचारीले सहयोग गरेनन् ।
प्रधानमन्त्री ओलीलाइ यस मामिलामा सुविधा छ, एमाले बाहुल्य कर्मचारीले प्रधानमन्त्रीको लय लाइ पछ्याउने छन् । बितेको ६ महिनामा सहयोग नगरेपनि भावी दिनमा कर्मचारीको सहयोग उनले पायने नै छन् । सरकार सफलताको मापदण्ड नै कर्मचारीले कति सहयोग ग¥र्यो भन्ने मै निर्भर गर्नेछ ।
जनताको जीवन स्तर नसुधारिएकोमा प्रधानमन्त्रीले संवोधन मार्फत चिन्ता व्यक्त गरे, यो सकारात्मक कुरा हो । तर प्रधानमन्त्रीले बोलेको कुरा सरकारका कर्मचारीहरुले महशुस गरेर जनताको जीवन स्तर सुधार्ने तर्फ उनलाइ कति सहयोग गर्छन भावी दिनमा थाहा हुनेछ ।
सर्बसाधारण जनताले अहिले पनि खाना पकाउने ग्यास सहज रुपमा नपाएको कुरा उनले गरे । प्रधानमन्त्री र उनका सायोगीहरुले बुझ्नु पर्ने कुरा, आम सर्बसाधारणलाइ एक सिलिण्डर ग्यास पाउन नाकाबन्दीको समयमा भन्दा कम्ती सास्ती छैन् । तैपनि भावावेशमा आएर सिलिण्डरका जमाना गए, भान्सामै ग्यासको पाइप ल्याइदिन्छु भन्ने अविश्वनिय आश्वासन यसपटक दोहो¥याएनन् ।
प्रधानमन्त्री ओलीले संवोधनका क्रममा देश विकासका लागि धेरै समय नभएको र त्यसमा आफूसंग अझै कम समय रहेको बताए । देशको राजधानी काठमाडौ शहरलाइ आधुनिक बनाउन नक्सा कोर्न दिएको कुरा गरे । यो प्रसंशनीय कुरा हो, कि देशको राजधानी विश्वकै प्रदुषित शहरको रुपमा सुचीकृत हुदा त्यसले अर्थतन्त्रको एउटा खम्बा पर्यटक आगमनमा ह्रास पुगेको छ । कुरुप बन्दै गरेको राजधानीलाइ सपार्न उनले कस्तो योजना ल्याएका हुन निकट भविष्यमै थाहा होला ।
प्रधानमन्त्री ओलीले आफ्नो संवोधनका क्रममा भारतीय नाकाबन्दी र मधेश आन्दोलनको कुरा उठाए । उनले उठाएको कुरा सही हो, अर्बौ रुपमा नोक्सानी हुनेगरी भएको आन्दोलनको औचित्य के थियो, प्रधानमन्त्री जस्तै नेपाली जनताले जान्न चाहान्छन् । तर यस्ता कुराले आन्दोलनमा जान निहु खोजेर बसेका मधेशवादी दललाइ झन सिरिङगाएको जस्तो हुनेछ ।
प्रधानमन्त्री ओलीले आन्दोलनरत मधेशवादी दलहरुतर्फ संकेतगर्दै ‘घरपरिवारका सदस्य परचक्री जस्तो र घरबाहिरका सल्लाहकारहरु स्वधर्मी जस्तो हुनै सक्दैन’ भन्दै मधेशवादी दललाइ गतिलो झापड हानेका छन् । परचक्री र स्वधर्मी शव्दले मधेवादी दल र भारतलाइ झन चिढ्याउने छ ।
प्रधामनन्त्री ओलीले भुकम्प पीडितप्रति साहानुभूती पोख्दै ‘पीडितका लागि भोलि वा हुँदैछ भन्ने शब्द कर्णप्रय हुन्न भन्ने म राम्रैसँग महसुस गर्छु’ भने । तर भुकम्प पीडितलाइ जाडो छल्न दिने भनिएको पैसा फागुन सम्म नदिएको भन्दै चर्को आलोचना भएको कुरालाइ प्रधानमन्त्रीले ढाकछोप गर्न खोजे ।
नेपालमा नाम कमाउनको लागि धेरै काम गरिरहनु पर्दैन । बावुराम भट्टराइले काठमाडौमा केही किलोमिटर सडक विस्तार गरेका थिए, अहिले सम्मपनि उनको कामको प्रसंशा गरिरहेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौमा एक बर्षभित्र मेलाम्ची पानी ल्याउने उद्घोष गरेका छन । अधिकाशं पूर्वाधार तयार भइसकेको अबस्थामा मेलाम्चिको सुरुङ निर्माणको कामलाइ युद्धस्तरमा सम्पन्न गरेर एक बर्षभीत्र मेलाम्चिको पानी काठमाडौमा ल्याउन सके भने पनि उनी सफल भएको मानिने छ ।
२०७२ को अन्तिम दिनमा पूर्व प्रधानमन्त्री बावुराम भट्टराइले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै भनेका छन, ‘नाकावन्दी नभइदिएको भए (केपी+पिके+केटी) सरकारले वितेको वर्षको उपलव्धी के देखाउँदो हो ? नयाँ वर्ष कुनै विपत्ति नआओस् र यो सरकारले जनता ठग्ने वहाना नपाओस !
निश्चयपनि केपी ओलीले भारतीय नाकाबन्दी कसिएको समयमा सरकारको नेतृत्व लिदै अफ्टयारो परिस्थितीवाट काम सुरु गरेका थिए, परिस्थिती केही बदलिएको छ । विगतमा अफ्टयारो परिस्थितीवाट काम सुरु गरेको भन्दैमा सरकारले सधैभरी शंकाको लाभ भने पाउने छैन ।

Post a Comment

 
Top