0

                                 दुई नम्बर प्रदेश यतिबेला निकै चर्चामा छ । राजनीतिक अस्थिरता र मधेस केन्द्रित आन्दोलनका कारण दुई नम्बर प्रदेशका जनता बढी प्रताडित छन् । स्थानीय तलको निर्वाचन पनि दुई नम्बर प्रदेशको असोज दुई गते हुनेगरी सरेको छ ।

यही राजनीतिक अस्थिरताले आर्थिक समृद्धि हासिल गर्न नसकेको ठहर गर्दै यतिबेला त्यहाँका व्यवसायीहरु आर्थिक समृद्धिको अर्को बाटो खोजिरहेका छन् । दुई नम्बर प्रदेशमा पर्यटन प्रबद्र्धनबाट राम्रो आम्दानी लिन सकिनेभन्दै त्यहाँका व्यवसायीहरु एकढिक्का भएर अघि बढेका छन् ।

बारा र पर्सालाई लक्षित गरी अहिले विभिन्न कार्यक्रम, अन्तर्क्रिया गोष्टि भइरहेका छन् । यसै विषयमा केन्द्रितरहेर हामीले होटल व्यवसायी संघ बाराको अध्यक्ष, होटेल व्यवसायी महासंघ प्रदेश नम्बर दुईको संयोजक मोहन शर्मासँग बारा र पर्सा दुई जिल्ला तथा दुई नम्बर प्रदेशको पर्यटन व्यवसाय, पर्यटन सम्भावना लगायतका विषयमा कुराकानी गरेका छौं ।

० बारा र पर्सामा पर्यटकीय सम्भावनाका क्षेत्र के के हुन् ?

– बारा र पर्सा भारतसँग नजिकको सीमाना भएका जिल्ला हुन् । यी भारतसँग जोडिएका छन् । मकवानपुर, रौतहट र चितवनसँग सीमाना जोडिएका यी जिल्ला पर्यटकीय सम्भावना बढी भएका जिल्ला हुन् ।

पर्सा बन्यजन्तु आरक्ष हालसालै मात्र निकुञ्ज बनेको छ । यो ठाउँ काठमाडौंबाट पनि छोटो दूरीमा आउन सकिने ठाउँ हो । विमानस्थल पनि भएको बारा जिल्ला काठमाडौंबाट १५ मिनेटमा आउन सकिन्छ ।

यहाँ धेरै सम्भावना छ । त्यसभित्र पनि हामीले अघि बढाउन खोजेका क्षेत्रहरु भनेको पर्सा राष्ट्रिय निकुञ्ज र त्यहाँ भित्र रहेका जीवजन्तुलाई पर्यापर्यटनका रुपमा अघि बढाएर स्वदेशी तथा विदेशी पर्यटकलाई जंगल सफारी गराउनेसहित विभिन्न प्याकेजका कार्यक्रम बनाउन खोजेका छौं ।

जसको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरिरहेका पनि छौं जसले सम्भावनाका बाटाहरु बढाएको छ ।

० बारा र पर्साका मुख्य पर्यटकीय गन्तव्य चाँही कुन कुन हुन् ?

– पर्साको वीरगन्जमा गहवामाई भन्ने छ, पर्सा मै घरिहवा पोखरी भन्ने छ । बारामा गढीमाई विश्व प्रख्यात हो । पाँच वर्षमा एकपटक मेला लाग्छ । गढीमाईमा दर्शन गर्न आउनेको संख्या एकदमै धेरै हुन्छ । ऐतिहासिक स्थान सीम्रनगौढ छ ।

५२ बिगाहको एउटै पोखरी पनि छ । हाम्रै पहलमा नेपाल सरकार वन मन्त्रालयले बन्यजन्तुको सुरक्षाका लागि बनाइएको बन्यजन्तु आरक्ष राष्ट्रिय निकुञ्ज बनाएको छ । त्यहाँ भित्रका दृश्यावलोकनका लागि जंगल सफारी लगायतका गतिविधिमा सहभागि हुन सकिन्छ । ऐतिहासिक सीम्रौनगढ त्यस क्षेत्रमा रहेको इसरा र सरोखरजस्ता ठूला पोखरी, रानीबास, कङकालीजस्ता पूराना मन्दिर छन् ।  रामहरी भाटा, टुपेश्वर महादेव, हलखोरिया दह, कामिनी दहलगायतका स्थान बारा र पर्सामा घुम्न आउँदा छुटाउनै नहुने गन्तव्यहरु हुन् । यसबाहेक अरु पनि छन् ।

० चुनौतीहरु चाँही के के छन् ?

–चुनौतीहरु सारै धेरै छन् । उद्योग वाणिज्य संघ बारामार्फत हाम्रै पहलमा यसको खोजी थालेको हो । वीरगन्जमा पर्यटन कार्यलय छ । तर, उसले काम गर्न सकेको छैन् । सीम्रन पर्यटन प्रबद्र्धन समिति भन्ने पनि छ । ती समितिहरुले केही काम गर्न सकेका छैनन् । राजनीतिक नियुक्ति पाएका त्यहाँका समितिका मान्छे र कर्मचारीले तलब खाने बाहेकको कामै गरेका छैनन् ।

पर्यटन कार्यालयले पनि मन्दिरको कम्पाउण्डलाई वाल गर्ने जस्ता साना झिना मसिना काम गरिरहेको छ । राजनीतिक दललाई खुसी बनाउन साना साना पार्क बनाउने बाहेक अरु केही गरेको छैन ।

म चाँही होटल व्यवसायी संघ बाराको अध्यक्ष मात्र नभएर प्रदेश नम्बर दुईको नै संयोजक भएको हिसावले हाम्रो उद्देश्य भनेको बारा, पर्सा, रौतहट,मकवानपुर, चितवनदेखि लिएर सिरहा सप्तरीसम्मको पर्यटनको अवस्थाको चिन्ता लिएर त्यसको विकासका लागि काम गर्नु मेरो लक्ष्य हो ।

यही लक्ष्य प्राप्तीका लागि आएका चुनौतीहरुको पनि सामना गर्दै बारा जिल्लालाई सेन्टर पोइन्ट पारेर विभिन्न प्याकेट बनाउने जस्तै, गढीमाईको प्याकेज, जनकपुरको प्याकेज, हिमाली श्रृखंलाहरु देखिने दामनसम्मको प्याकेज बनाउने गरी काम गर्न खोजिरहेका छौं ।

२०६७ सालदेखि हामीले होटल व्यवसायी संघको निर्माण गरेर त्यसैको पहलमा यस्ता गतिविधि गरिरहेका छौं । यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन कसरी सकिन्छ भनेर सरोकारवाला निकायसँग छलफल, गोष्टि अन्तर्क्रिया लगायतका काम गरिरहेका छौं ।

हामीले गाइड तालिम गराउन सफल भयौं । २५ जना गाइडलाई रेडि अवस्थामा राखेका छौं । उनीहरुलाई सरकारी मान्यताप्राप्त तालिम गराएर सरकारी मापदण्डको लाइसेन्स पनि प्रदान गरेका छौं ।

होटल व्यवसायको क्षमता तथा स्तर वृद्धिका लागि क्षमता अभिवृद्धि तालिम गरेका छौं । त्यसका लागि न्याथनबाट अभिवृद्धि तालिम सञ्चालनका लागि सहयोग प्राप्त भएको थियो । हामीले पर्यटक भित्र्याउन खाना महोत्सव पनि चलायौं । ‘बारा खाना महोत्सव’ नाम राखिएको महोत्सवमा पर्यटन बोर्डको पनि सहयोग थियो । स्थानीय निकाय अन्तर्गत जिविस, नगरपालिकाले पनि हामीलाई सहयोग गरेका थिए ।

अब निजी लगानी र यहाँको पर्यापर्यटनको सम्भावनाका बारेमा अन्तर्रक्रिया गरेर ठोस कामको गुरु योजना बनाएर अघि बढ्नेछौं । वन र वन्यजन्तुको संरक्षण गरौं पर्यटन प्रबद्र्धन गरौ भन्ने मूल नाराका साथ हामीले गर्ने अन्र्तक्रिया चुरेको संरक्षण गरौ मधेसलाई मरुभूमिहुनबाट बचाउँ भन्ने विषयमा केन्द्रित हुनेछ ।

यसरी विभिन्न गतिविधिबाट आफूहरुले पार गर्नुपर्ने चुनौतीलाई पेल्दै हामी अघि बढेका छौं ।

० व्यवसायीहरु कत्तिको जागरुक छन् ?

–हेर्नुहोस् यहाँ चितवनको सौराहा भन्दा पनि बढी सम्भावना भएको यस क्षेत्रमा सोचे अनुसारको काम हुन सकेको छैन । किनभने हामीले धेरै प्रचारप्रसार गर्न सकेका छैनौ । पर्यटकीय गन्तव्यमध्ये काठमाडौं, त्यसपछि पोखरा, सौराहा अनि वारा पर्सा भन्ने जानकारी गराएर निजी क्षेत्रलाई आकर्षित गराउन जरुरी छ । निजी क्षेत्रले लगानी नगरेसम्म त्यो सम्भव छैन् । यहाँ भएका व्यवसायीहरु जागरुक नै भएपनि सोचअनुसारको काम हुन सकेको छैन । अब अरु व्यवसायी पनि यहाँ भित्र्याउन जरुरी छ ।

यत्ति गर्न सके स्वदेशी तथा भारत,चीन र अन्य देशका नागरिकलार्इ पनि यहाँ ल्याउन सकिनेछ ।


० दुई नम्बर प्रदेशमा पर्यटन व्यवसायबाट आर्थिक समृद्धि सम्भवन छ ?

–पर्यटन व्यवसायबाट आर्थिक समृद्धि हासिल गर्ने प्रदेश नै दुई नम्बर हो । किन भने पर्सा वन्यजन्तु आरक्ष राष्ट्रिय निकुञ्जमा परिवर्तन भइरहेका बेला कोशीटप्पु वन्यजन्तु आरक्ष पनि यही प्रदेशमा छ । दुईटा आरक्ष भएको प्रदेश यही हो । आरक्ष र निकुञ्ज देखाएर पर्यटक प्रबद्र्धन गर्न सम्भव भयो । यतातिर, अन्तर्राष्ट्रिय विमानस्थल बन्नेकुरा छ, फास्टट्याकको शिलान्यास भइसकेको छ । र, सबैभन्दा भारतको बिहारबाट आउने पर्यटकलाई लक्षित गर्दै पर्यटन व्यवसाय सञ्चालन गर्न सक्यौ भने हामी अझै समृद्ध हुन्छौं । ऐतिहासिक रुपमा रहेका जानकी मन्दिर, गढीमाई, पर्यापर्यटनका क्षेत्रमा हुने गतिविधिले आन्तरिक पर्यटन त अझै बढ्छ नै ।


नेपालमा विदेशी पर्यटक आउने कारणहरु यहाँको हिमाल, खोलानाला, वनजंगल, धार्मिक स्थल, ऐतिहासिकस्थलसँग सम्बन्धित रहेर आउने हो । त्यसरी हेर्दा हामीसँग हिमालमात्र टाढा छ । व्यापारिक केन्द्र वीरगञ्जबाट नेपाल छिर्नेद्वार छ ।

यातायातको सहजता छ, अन्य जति सेवासुविधा पाउने हो त्यो यहाँ सम्भव छ । त्यसैले हामीले थोरैमात्र मेहनत गर्नेहो भने नेपालमा अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेशबाट पर्यटन व्यवसायले बढी आम्दानी लिन सक्ने अवस्था छ ।

Source:- #tourkhabar


Post a Comment

 
Top