0
११ भदौ, काठमाडौं । सरकारले एकैपटक ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक्त गरेको छ भने यूएई, ओमान, साउदी अरेबिया र कुवेतमा श्रम सहचारी नियुक्त गरेको हो ।

मुख्य श्रम गन्तब्य मुलुकका दूतावासमा आउने नेपाली कामदारको समस्या समाधानका लागि श्रम कन्सुलर तथा सहचारीले काम गर्ने गरेका छन् ।
सरकारले कोरियाका लागि डिल्लीराम बास्तोलालाई श्रम कन्सुलर नियुक्त गरेको छ । बास्तोला लामो समयमा ईपीएस कोरिया शाखाको निर्देशकका रुपमा काम गरेका थिए ।
उनलाई कोरियाली श्रम अधिकारीहरुसँग पनि काम गरेको अनुभव भएकाले समन्वयमा बास्तोलाले राम्रो काम गर्ने अपेक्षा छ । उनी कोरियाली कामदारको समस्याबारे राम्रो ज्ञान भएका अधिकारी हुन् ।
ईपीएसमा रहँदा उनले गरेको कामको सर्वत्र प्रशंसा भएको थियो ।
त्यसैगरी मलेसियामा लागि बद्रिकुमार कार्की श्रम कन्सुलर नियुक्त भएका छन् । लामो समयदेखि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा कार्यरत कार्की पनि विदेशिने कामदारको समस्याबारे राम्रो ज्ञान भएका ब्यक्ति मानिन्छन् ।
यसअघि उनी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको निर्देशकका रुपमा काम गरिरहेका थिए ।
यूएईको श्रम सहचारीमा मोतिराम भुसाल नियुक्त भएका छन् । उनी पनि लामो समयदेखि श्रम मन्त्रालयमा अधिकृत पदमा कार्यरत छन् ।
मन्त्रालयका विभिन्न नीतिगत र ब्यवस्थापकीय जिम्मेवारी सम्हालेका भुसाल वैदेशिक रोजगारीका विषयमा विशेष दखल राख्छन् । उनी वैदेशिक रोजगारीमा रहेका कामदारको समस्याबारे पनि राम्रो जानकार मानिन्छन् ।
अब उनी यूएई गएपछि त्यहाँका शोषित/पीडित नेपाली कामदारको पक्षमा राम्रो काम गर्ने अपेक्षा गरिएको छ ।
सरकारले ओमानमा श्रम मन्त्रालयकै शाखा अधिकृत कृष्णा कुमारी गौलीलाई श्रम सहचारी नियुक्त गरेको छ ।
कुवेतमा श्रमका शाखा अधिकृत ज्ञानेन्द्र शर्मा श्रम सहचारी भएका छन् ।
साउदी अरेबियाको नेपाली कन्सुलेट जनरल अफिसमा शाखा अधिकृत राजु कुँवर श्रम सहचारी नियुक्त भएका छन् ।
उनीहरु सबै श्रम मन्त्रालयमा नै विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका ब्यक्तित्व हुन् ।
श्रम सहचारी नियुक्तिको इतिहासमा यसपाली पहिलोपटक कम्तिमा आईईएलटीएस मा ५ अंक ल्याएका उम्मेदवार सहभागी भएका थिए । यसमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्रलाई मात्र आधार लिइएको थियो ।
शाखा अधिकृतस्तरको श्रम सहचारीमा रिक्त ४ पदमा १२ जनाले आवेदन गरेका थिए । उपसचिवस्तरको काउन्सिलर पदमा रिक्त २ पदमा ८ जनाले आवेदन गरेका थिए ।
कन्सुलर र सहचारी छनोटमा जेष्ठता तथा अनुभववापत २० अंक, अंग्रेजी भाषाको ज्ञानवापत १० अंक, पावर पोइन्ट प्रस्तुतीकरणवापत १० अंक र सचिवको मूल्यांकन वापत ५ अंक गरी ४५ अंकलाई पूर्णांक कायम गरिएको थियो ।
सबै अंकमा पहिलो स्थान प्राप्त गर्नेलाई उसको रोजाई र प्राथमिकताको आधारमा पदस्थापन गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

Post a Comment

 
Top