सुन रे सियाराम ! अब म देहात फर्कन्न
कमलरीहरू कागजमा त मुक्त भए तर सहरका थुप्रै घरमा अझै मालिकको सेवा गरिरहेकै छन् । सरकारले एउटा प्रथा भंग गर्दैमा त्यसका सबै डोबहरू मेटिन्छन् भन्ने होइन ।
हृदयको गहिराइ शब्दमा उतार्न सिपालु कवि श्रवण मुकारुङले सहरका घर–घरमा देखेका छन्– निर्दोष अनुहारका कमलरी । चौधरी, थारु, विभिन्न जातका आदिवासी दिदीबहिनीहरू । भात पकाउँछन्, पोँछा लगाउँछन्, भाँडा माझ्छन् । मौका परे मालिकहरू तिनको शारीरिक शोषण गर्न पनि बाँकी राख्दैनन् ।
कमलरी सिर्जना चौधरीको मृत्यु आत्महत्याबाट भएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् । संयोग हेर्नुहोस् न, सिर्जना चौधरीले चाकुपाटको एउटा घरमा मानसिक पीडाले आफैंमाथि आगो सल्काउँदा कवि मुकारुङ कमलरीको विक्षिप्त मनमाथि लेखेको आफ्नो गीतमा संगीत भर्दै थिए–
सुन रे सियाराम !
सुन रे सियाराम !!
सुन रे सियाराम !
सुन रे सियाराम !!
‘सिर्जनाको घटना मलाई थाहै थिएन, तर कमलरीहरूलाई सहरका ठूलाबडाका घरमा काम लगाउने चलन नेपाली समाजको ठूलो विभेदका रूपमा मैले हेरेको छु,’ कवि मुकारुङ प्रस्ट्याउँछन्, ‘छोरी भनेर माया गर्ने पनि छन्, जिस्क्याएर तान्ने पनि छन् ।’
संयोग पनि कस्तो, सिर्जनाले आफूलाई आगो लगाएर मारेको चार दिनपछि सिर्जनाहरूकै पीडा नेपालयको मासिक सांगीतिक कार्यक्रम पलेँटीमा पस्कँदै थिए श्रवण । भन्दै थिए–
सुन रे सियाराम !
सुन रे सियाराम !!
अब म तँलाई पर्खन्न
अब म देहात फर्कन्न ।
सुन रे सियाराम !
सुन रे सियाराम !!
अब म तँलाई पर्खन्न
अब म देहात फर्कन्न ।
रमाइला र हृदयको धड्कन बढाउने रोमान्टिक गीत लेखेरमात्र समाजको वास्तविक अनुहार देखाउन नसकिने मान्यता राख्ने कवि मुकारुङ बेथितिहरूलाई गीतमार्फत व्यक्त गर्न सके यस्ता मुद्दा सामाजिकीकरण हुने बताउँछन् । त्यही भएर उनले पलेँटीमा गत चैत १८ गते, सिर्जना चौधरीको निधन भएको चार दिनपछि, प्रस्तुत गर्न कमलरीको पीडामा आधारित एउटा गीत लेखे–
आँसुको इनार जमे नि
प्यार मेरो सच्चा छ ।
जीवन मेरो अच्छा छ
पेटमेँ मालिकको बच्चा छ ।
आँसुको इनार जमे नि
प्यार मेरो सच्चा छ ।
जीवन मेरो अच्छा छ
पेटमेँ मालिकको बच्चा छ ।
कविताहरू निश्चित पाठकसम्म मात्र जाने भएकाले गीतका रूपमा बढी स्रोतासम्म समाजको समस्या पुर्याउने उद्देश्यले कवि मुकारुङ यो गीत लेख्न तम्सिएका हुन् ।
पलेँटीका करिब सय स्रोताले दुई महिनाअघि नेपालयको ‘आर शाला’मा सुने यो गीत जसलाई संगीतकार आभासले संयोजन गरेका हुन् । नेपालयको रेकर्डमा मात्र भएको यो गीत आम स्रोतासम्म पुर्याउने हो भने कमलरीको दुःख हटाउनै सकिएला/नसकिएला, तर उनीहरूको पीडा बाँड्न सकिने निश्चित छ ।
मुक्त कमलरीको अहिले जारी आन्दोलनमा सरकारले गरेको बर्बर दमनको सायद कवि मुकारुङलाई पहिल्यै आभास थियो । उनले व्यंग्य गरेका छन्ः
अब म जान्छु थानामा
अब म जान्छु अदालत ।
सरकार बस्ने सहर हो यो
मैल्यै जित्ने पक्का छ ।
अब म जान्छु थानामा
अब म जान्छु अदालत ।
सरकार बस्ने सहर हो यो
मैल्यै जित्ने पक्का छ ।
कहाँ जित्नु ! कमलरीहरुमाथि लाठी बर्सँदै छ, विवादास्पद मृत्यु छानबिन गर्न माग गर्दै सडकमा ओर्लिएको निहुँमा ।
कवि मुकारुङलाई अहिले यो गीत सुनाउन गोष्ठीहरूमा फर्मायस आउँछ । यो गीत लेखेबापत उनले पुरस्कार पनि पाउँदै छन् । बिस्तारै लोकप्रिय हुँदै छ यो गीत, भुसको आगोजसरी, भित्रभित्रै । कमलरीको समस्यामाथि बन्दै गरेको एउटा डकुमेन्ट्रीमा पनि यो गीत राखिन लागेको जानकारी कवि मुकारुङलाई संगीतकार आभासले गराएका छन् ।
यो गीत रेकर्ड भएर आम स्रोतासम्म पुग्ने कुनै तयारी छ कि छैन ?
मुकारुङले हाँस्दै भने, ‘आभासजी (संगीतकार आभास) लाई घच्घच्याउन पर्छ यसका लागि त, मैले रेकर्ड गर्ने कुरा भएन, खर्च धेरै लाग्छ !’
संगीतकार आभास र नेपालय यो गीत स्रोतामाझ पुर्याउन कहिले तात्लान्, थाहा छैन । हामीले भने एल्बममा आइनसकेको कवि मुकारुङको यो सिर्जना राखेका छौं ।
सुन रे सियाराम !
सुन रे सियाराम !
सुन रे सियाराम !!
अब म तँलाई पर्खन्न
अब म देहात फर्कन्न
सुन रे सियाराम !
सुन रे सियाराम !!
सँगै सहर जाउँ भन्दा
रोएर मान्दै मानिनस् ।
भगाई दूर देश लैजान
तैंले कहिल्यै जानिनस् ।
जब म चढेँ गाडामा
अन्तिम पल्ट दिएँ हात ।
तँलाई पिपल प्यारो भो
मलाई तान्दै तानिनस् ।
अब तँ एक्लै खेत खन्
अब तँ एक्लै माछा मार् ।
अब म तँलाई पर्खन्न
अब म देहात फर्कन्न ।
आँसुको इनार जमे नि
प्यार मेरो सच्चा छ ।
जीवन मेरो अच्छा छ
पेटमेँ मालिकको बच्चा छ ।
अब म जान्छु थानामा
अब म जान्छु अदालत ।
सरकार बस्ने सहर हो यो
मैल्यै जित्ने पक्का छ ।
अब तँ एक्लै घुँघी टिप्
अब तँ एक्लै माघी मान् ।
अब म तँलाई पर्खन्न
अब म देहात पर्खन्न ।
सुन रे सियाराम !
सुन रे सियाराम !!
सुन रे सियाराम !
सुन रे सियाराम !!
अब म तँलाई पर्खन्न
अब म देहात फर्कन्न
सुन रे सियाराम !
सुन रे सियाराम !!
सँगै सहर जाउँ भन्दा
रोएर मान्दै मानिनस् ।
भगाई दूर देश लैजान
तैंले कहिल्यै जानिनस् ।
जब म चढेँ गाडामा
अन्तिम पल्ट दिएँ हात ।
तँलाई पिपल प्यारो भो
मलाई तान्दै तानिनस् ।
अब तँ एक्लै खेत खन्
अब तँ एक्लै माछा मार् ।
अब म तँलाई पर्खन्न
अब म देहात फर्कन्न ।
आँसुको इनार जमे नि
प्यार मेरो सच्चा छ ।
जीवन मेरो अच्छा छ
पेटमेँ मालिकको बच्चा छ ।
अब म जान्छु थानामा
अब म जान्छु अदालत ।
सरकार बस्ने सहर हो यो
मैल्यै जित्ने पक्का छ ।
अब तँ एक्लै घुँघी टिप्
अब तँ एक्लै माघी मान् ।
अब म तँलाई पर्खन्न
अब म देहात पर्खन्न ।
सुन रे सियाराम !
सुन रे सियाराम !!
Post a Comment