0

हिरापुरका चम्किला उफ्रने हिराहरु

 डडेल्धुराबाट कञ्चनपुर झरेका हिक्मत विष्टको तीन महिना अघी निधन भयो। जेठको दोस्रो साता कञ्चनपुरमा भेटिनुभएका शुक्लाफाँट बन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत यूवराज रेग्मीले हरियो वन कार्यक्रमको भ्रमण टोलीका पत्रकारहरुमाझ भन्दै हुनुहुन्थ्यो “उनै हिक्मतले पचास बर्षअघी हिरापुर फाँटमा कृष्णसार मारेका रैछन।” हिक्मतले सुनाएका प्रसङगहरु उल्लेख गर्दै रेग्मीले भन्नुभयो “हिरापुर फाँट मौजाको रुपमा उनीहरुको भोगचलनमा आइसकेपछि पचास बर्षअघी त्यहाँ आफूले कृष्णसार मारेको घटना विष्टले कथाको रुपमा सुनाएका थिए। सोहि प्रसङग समेत अहिले कृष्णसारको संरक्षणको पहल गर्ने एउटा कडी भएको छ।”
सन् १९७३मा शाहि शुक्लाफाँट बन्यजन्तु आरक्ष वन्यजन्तुको संरक्षणका लागि स्थापना गरिएको थियो। तर केहि वर्षपछि पूर्व पश्चिम राजमार्ग भन्दा उत्तरतिर  चुरेको भागलाई समेत समेटेर आरक्षको क्षेत्रफल बढाइयो। पूर्व पश्चिम तथा उत्तर दक्षिणको वन्यजन्तुको जैविक मार्ग कायम राख्न तथा उनीहरुको आवतजावतलाई सहज बनाउने उद्धेश्यले आरक्षको क्षेत्रफल बढाउँदा विष्टहरुको मौजा हिरापुर शुक्लाफाँटा आरक्षमा परेको थियो। मौजा बनाइनु अघी जंगल नै रहेको हिरापुर मौजामा परिणत भएपछि त्यहाँ वस्ती बस्नुका साथै खेतीपाती समेत हुन थालेको थियो। मौजामा रहेका वासिन्दाका लागि बिष्टहरुले खानेपानी लगायत अन्य भौतिक पूर्वाधारको समेत राम्रै प्रवन्ध गरेका थिए। सोहि विष्टहरुको मौजा हिरापुरले अहिले आफ्नो परिचय फेर्दै गएको छ।

३०५ वर्गकिमि क्षेत्रमा फैलिएको शुक्लाफाँटा वन्यजन्तु आरक्ष भित्रको विष्टहरुको तत्कालिन मौजा हिरापुरको विशाल फाँटको साँढे ६ हेक्टर क्षेत्रफलमा समेटिएको यो सानै ठाउँ अहिले कृष्णसारको संरक्षणको उत्कृष्ठ केन्द्रको रुपमा स्थापित हुने चरणमा रहेको छ। अब केहि वर्षमै यो फाँटा हिरापुरबाट कृष्णसारको उत्कृष्ठ प्राकृतिक वासस्थानका कारण ‘कृष्णापुर’को रुपमा परिचित हुने क्रममा रहेको छ। हिरापुरको नयाँ परिचय बनाउन यूएसएआइडी नेपालको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमको साथमा विश्ववन्यजन्तु कोष डव्लु डव्लुएफ, केयर  नेपाल, फेकोफोन र एनटीएनसी लागिपरेका छन्। शुक्लाफाँट बन्यजन्तु आरक्ष भित्र सञ्चालनमा रहेको यो संरक्षण केन्द्र संरक्षण अभियानको उत्कृष्ठ र सफल कथा बन्ने चरणमा रहेको छ।

नेपालको वर्दिया खैरापुर र भारतको केहि ठाउँमा मात्र पाइने कृष्णसार लोपोन्मुख वन्यजन्तु अन्तर्गत पर्दछ। नेपालमा वर्दियाको खैरापुरमा मात्र रहेका कृष्णसारको प्राकृतिक वासस्थान विस्तारको साथै यसलाई अन्यत्र सार्न र यसको संरक्षण गर्ने संरक्षणकर्मी र संरक्षणमा काम गर्ने संस्थाहरुलाई चुनौती थियो। हुनत बस्तीको बीचमा भएपनि यादवहरुको बस्ती भएकोले कृष्णसार खैरापुरमा सुरक्षीत नै रहेको थियो। पश्चिम ताल अन्तर्गत तराई भुपरिधी कार्यक्रम डब्लुडब्लुएफका सह प्रबन्धक तिलक ढकाल भन्नुहुन्छ “यादवहरु र कृष्णसार बीचको साँस्कृतिक सम्वन्धले पनि खैरापुर बस्तीको बीचमा पनि कृष्णसार सुरक्षीत छ।”  कृष्णसारलाई कृष्णको रुप मान्ने यादवहरुको कारण खैरापुरमा कृष्णसार सुरक्षीत मात्र हैन बढ्ने क्रममा रहेको बुझाई ढकालको छ।

“संकटको सूचीमा रहेको कृष्णसार एकैठाउँमा रहँदा अचानक पर्न सक्ने भवितव्यबाट बच्न र बचाउन अन्यत्र पनि प्राकृतिक रुपमा सार्नु पर्ने थियो, सोहि कुराको पूर्ती हिरापुरले गरेको छ।” शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत यूवराज रेग्मीले भन्नुभयो “वैकल्पिक वासस्थानको पहिचान गरि त्यसको विकास गर्नु र कृष्णसारमाथि आइपर्ने खतराको न्यूनीकरण गर्न हिरापुरमा कृष्णसार सारिएको हो।” पचास वर्षअघी हिरापुरमा कृष्णसार मारेको हिक्मतको भनाई र स्थानान्तरण गर्न खोजिएको अन्य फाँट भन्दा तुलनात्मक रुपमा उपयुक्त फाँट भएको अध्ययन पछि कृष्णसारलाई गत वर्ष हिरापुर सारिएको थियो।

नेपालगञ्जमा रहेको मिनिजुबाट २२ वटा र काठमाडौं चिडियाखानामा रहेका ६ वटा कृष्णसारलाई २०६९ को भदौदेखि असोजसम्म हिरापुर स्थानान्तरण गरिएको थियो। दुई ठाउँबाट ल्याइएका २८ वटा मध्ये ३ वटा केहि समयभित्रै मरेपछि यसको संख्या २५ मा सिमित भएको थियो। एनटीएनसीका वन्यजन्तु प्राविधिक सुमन मल्लका अनुसार हिरापुर ल्याइएका कृष्णसार मध्ये एउटा हिरापुरफाँटमा छोड्ने वित्तिकै उफ्रेर जाँदा सुरक्षाका लागि लगाइएको तारवारको पोलमा ठोक्किएर मरेको थियो। एउटा नेपालगञ्जबाट ल्याइएको कानो र लंगडो कृष्णसार पनि केहि समयपछि मर्यो भने तेस्रो कलेजो खराव भएका कारण मरेको थियो। सारिएका यि तीन कृष्णसारको मृत्यु र तिनको पोष्टमार्टम गरी सद्गती गर्नुपर्दा संरक्षणकर्मीहरुलाई निराश पनि बनाएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषका  मल्ल भन्नुहुन्छ ” स्थानान्तरण गरेर हिरापुर ल्याइएका कृष्णसारबाट ४ वटा वच्चा जन्मेपछि भने शुरुमा कृष्णसार मर्दाको निराशामा कमि भएको छ। अहिले त संरक्षणकर्मीहरुलाई थप खुसी दिनेगरी केहि पोथी गर्भिणी समेत भएका छन्। “

हुन पनि कृष्णसार राख्न हिरापुर फाँटाको साँढे छ हेक्टर कम भएपछि साँढे चार हेक्टर जमिन थप्ने र थपिएको क्षेत्रमा समेत घाँस एवं उनीहरुको लागि उपयुक्त भूसतहको व्यवस्था गर्ने र तारबारको काम समेत शुरु भएको छ। “केहि समयमै ११ हेक्टर क्षेत्रमा कृष्णसार बढेको संख्यामा देख्न पाइनेछ।” शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रेग्मीले भन्नुभयो।
कृष्णसार स्थानान्तरणको यहि परियोजनाका लागि यूएसएआइडी नेपालले हालेको पचास लाख रुपैयाँ, आरक्षले लगाएको १२ लाखको मूल्य बराबरको काठको पोल र राष्ट्रिय प्रकृति संरक्षण कोषले खर्चेको २७ लाख बरावरको खर्च संरक्षणको क्षेत्रमा ठूलो रकम नभएपनि महत्वपूर्ण भने भएको छ। दातृ निकायको आर्थिक सहयोग अनि स्थानियबासिको सहयोगमा आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको पहल भने संरक्षणको क्षेत्रमा कोषेढुङगो सावित भएको छ। हुन पनि कृष्णसारको संरक्षणमा जुन काम हुँदै थियो त्यो ति संस्थाहरुको लागि प्रयोग पनि थियो। आरक्षका प्रमुख संरक्षण अधिकृत रेग्मी भन्नुहुन्छ ” यो स्थानान्तरण परियोजना सफल हुँदा कृष्णसार संरक्षणमा ठूलो काम भएको सन्देश अन्तराष्ट्रिय स्तरमै जानेछ।” नभन्दै स्थानान्तरण पछिको ९ महिनाले सफलताको कथा भन्न थालिसकेको छ।

चिडियाखानाबाट मात्र ल्याइएका कृष्णसारसँग प्राकृतिक वासस्थानका कृष्णसारलाई ल्याएर घुलमिल गराउने चुनौती अधिकारीहरुलाई छ। दुईवटा ठाउँका कृष्णसारबीच संसर्ग गराएर बच्चा जन्माउने काम पनि संरक्षण अभियानमा महत्वपूर्ण कामको रुपमा लिइन्छ। यसको लागि १० वटा जति कृष्णसारलाई यसै बर्ष वर्दियाको खैरापुरबाट हिरापुर लैजाने योजना आरक्षले बनाएको रेग्मीले बताउनुभयो।
वरिपरि जंगलको बीचमा रहेको त्यो विशाल फाँट हिरापुरबाट विष्टहरुलाई उठाइनु अघी खेति र चरिचरनको लागि राम्रो ठाउँ रहेको स्थानियहरु बताउँछन्। वन्यजन्तु आरक्ष भएपछि पनि छाडा छाडिएका घरपालुवा जनावरको लस्कर हेर्ने हो भने हिरापुर फाँट घरपालुवा जनावरको घाँसे मैदानको स्रोत हो। ‘तर आरक्षभित्र घरपालुवा जनावर छोड्नु गैकानुनी मानिन्छ। ‘ शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत यूवराज रेग्मीले भन्नुभयो ‘ शुक्लाफाँटाको प्रमुख समस्या छाडा रुपमा छाड्ने घरपालुवा जनावर हुन।’ हिरापुरका हिराको रुपमा रहेका कृष्णसारको संख्या वढ्दै जाने हो यो ठाउँ घरपालुवा जनावरको चरिचरनको लागि हैन कृष्णसारकै लागि अपुग हुनसक्छ। जंगली मांसाहारी जनावरबाट सुरक्षित बनाउन तारबारभित्र रमाउँदै आएका कृष्णसारको संख्या केहि सयको संख्यामा पुगेपछि भने जंगलतर्फको तारवार भने खोल्ने योजनामा आरक्ष छ। रेग्मी भन्नुहुन्छ ” कृष्णसार कति संख्यामा पुगेपछि जंगलमा छोड्ने भन्ने चाँहि  अध्ययनको क्रममा छ। ”


नौ महिना अघिसम्म चिडियाखाना र वर्दियाको खैरापुरामा मात्र पाइने कृष्णसार अब कञ्चनपुरको हिरापुर फाँटामा पनि पाइने थालेपछि कृष्णसार हेर्न आउनेहरुको संख्या पनि बिस्तारै बढ्ने अनुमान आरक्षको छ। वर्दियाको खाता करिडोरमा सामुदायिक जंगलमा वन्यजन्तु हेर्न आन्तरिक तथा वाह्य पर्यटक आउन  थालेपछि त्यहाँको पर्यटनका माध्यमबाट त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुगेको जस्तै त्यस क्षेत्रको पनि पर्यटनमा योगदान पुन सक्ने आँकलन आरक्षको छ। हिरापुरको छेउकै राना थारुहरुको संस्कृती परम्परा र कृष्णसार लगायतको बन्यजन्तुको फ्युजन गराएर यसको मार्केटीङ गर्न सके पर्यटन क्षेत्रमा यसको दीर्घकालिन प्रभाव रहन सक्छ। पर्यटन मार्फत स्थानियको जनजीविकाको सवालमा आरक्ष दातृ निकाय तथा अन्य साझेदारहरुको साथ लिएर काम गर्न खोजिरहेको छ। स्थानिय चोरी शिकारी नियन्त्रण समितिहरु त्यसैको एक कडी भएको रेग्मीको भनाई छ।

नेपाल र भारतमा मात्र सिमित संख्यामा पाइने दुर्लभ प्रजातीको कृष्णसारको संरक्षणमा आरक्षले अन्य साझेदारहरुसँग मिलेर गरिरहेको प्रयास दातृ निकायहरुको आँखामा पनि परेको छ। कृष्णसारको हिरापुरमा स्थानान्तरण र ति कृष्णसारले आफूलाई हिरापुरको प्रकृतीसँग गराएको अनुकुलनले संरक्षण क्षेत्रमा एउटा सफलताको कथा बनाएको यूएसएआइडी नेपालका प्राकृतिक स्रोत व्यवस्थापन स्पेसलिष्ट नेत्र सापकोटा बताउनुहुन्छ। सापकोटाले भन्नुभयो “यो गर्व गर्न लायक सफलताको कथा हो। तर अझै गर्न वाँकी छ।”

Post a Comment

 
Top