असुल्न बाँकी
सर्वोच्च अदालतअन्तर्गत रहेको फैसला कार्यान्वयन निर्देशनालयका अनुसार २००८ सालदेखि ०६९ सालसम्म विभिन्न अदातलबाट कसुर ठहर भएका व्यक्तिबाट ९८ हजार ४८ वर्ष एक महिना १९ दिन कैद असुल बाँकी रहेको छ । अदालतले फैसला गर्दै जाने तर राजनीतिक र आर्थिक प्रभावमा परी सरकारले फैसला कार्यान्वयन नगरेपछि यो अवस्था आएको हो ।
राजनीतिक व्यक्तिलाई दलले संरक्षण गर्ने र आर्थिक अवस्था राम्रो भएका व्यक्तिको जालोमा प्रहरी परिरहेका कारण फैसला कार्यान्वयन भनेजस्तो हुन नसकेको निर्देशनालयको ठहर छ ।
यस वर्षको वैशाख मसान्तसम्म तीन तहका जिल्ला अदालतबाट भएका फैसला र यसअघि भएका फैसलाबाट केही मात्रामा जरिवाना र कैद असुल भएको छ । वैशाख मसान्तभन्दा अगाडि एक लाख १९ हजार ४ सय ३० वर्ष पाँच महिना २७ दिन कैद असुल गर्नुपर्ने थियो । यस वर्ष २१ हजार ३ सय ८२ वर्ष ४ महिना ८ दिन कैद असुल भएको निर्देशनालयले जनाएको छ ।
फैसलापछि कसुरदार फरार हुनु, तिनको सही ठेगाना फेला पार्न नसक्नु, झुठो नाम, थर र ठेगाना पेस गर्नु, व्यक्तिको पहिचान हुन नसक्नु, अनुसन्धान प्रक्रिया फितलो हुनुजस्ता कारणले फैसला कार्यान्वयनमा कठिनाइ भएको निर्देशनालयले जनाएको छ । पछिल्लो समयमा राजनीतिक र आर्थिक कारणले पनि फैसला कार्यान्वयन हुन नसकेको निर्देशनालयले जनाएको छ ।
Post a Comment