0
दार्चुला बगाउनमा भारतको मुख्य हात
 महाकाली नदीले कटान गरेपछि दार्चुला सदरमुकाममा अहिलेसम्म ३ सय ५० घरका २ हजार ५ सय भन्दा बढी मानिस विस्थापित भएका छन् ।
स्थानीय प्रशासनका अनुसार ६४ वटा निजी घर, ४ वटा मन्दिर, १३ वटा सरकारी कार्यालय र एउटा झोलुंगे पुल महाकाली नदीको बाढीले बगाएको छ । अझै २ दर्जन घर जोखिममा छन् ।
उकु गाविसको जोलजिबीमा रहेको नेपाल भारत जोड्ने झोलुंगे पुल बिहान साढे ४ बजेतिर बाढीले बगाएको हो । यसैबीच भारतको धौलीगंगा जलविद्युत आयोजनाको पानी नेपालतिर छोडिदिएकाले बाढी आएको भन्दै स्थानीय राजनीतिक दलहरुले छानबीनको माग गरेका छन् ।
जिल्ला विपत् व्यवस्थापन समितिको मंगलबार बिहान बसेको बैठकमा दार्चुला सदरमुकामलाई क्षति पु¥याउने नियतले भारतले पानी छोडेको भन्दै दलका नेताहरुले उच्चस्तरीय छानबिनको माग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी चिरन्जीवी अधिकारीले बाढी नियन्त्रणका लागि भारतसंग समन्वयको प्रयास गरेपनि भारतले बेवास्ता गरेको बताउनुभयो ।
दार्चुला सदरमुकामभन्दा १८ किलोमिटर उत्तरपश्चिममा भारतले २ सय ८२ मेगावाटको धौलिगंगा जलविद्युत परियोजना निर्माण गरेको छ । भारतको दारमा क्षेत्रमा ग्लेसियर पग्लिएर धौलिगंगा नदीमा पानीको वहाव बढेपछि महाकालीको सतह बढेको बताइएको छ ।
धौलिगंगाको बाँध नै भत्किने अवस्थामा पुगेपछि बाँध बचाउने कि महाकाली नदी किनारको वस्ती बग्न दिने भन्नेमा भारतीय अधिकारीहरुबीच आइतवार छलफल भएको थियो ।
आइतवार राती १२ बजेदेखि नै भारतको धार्चुलास्थित महाकाली नदी किनारमा रहेको गोरखा रेजिमेन्टको व्यारेक सार्न सुरु गरिएको स्थानीय वासिन्दा बताउँछन् ।
आइतवार राती ११ देखि नै धौलिगंगा जलविद्युतको बाँधबाट पानी छोडिएकोले महाकाली नदीमा पानी बढेर घर बगाउन सुरु गरेको थियो । भारतीय पक्षले सोमबार दिउसो मात्रै नेपाली पक्षलाई धौलिगंगाबाट पानी छोडिन लागेको जानकारी दिएको थियो ।
भारतीय पक्षले समयमै जानकारी नदिएकाले नेपालतर्फ धेरै क्षति भएको पूर्व सभासद् लक्ष्मणदत्त जोशी बताउनुहुन्छ ।
स्रोतका अनुसार दार्चुलाका प्रमुख जिल्ला अधिकारीले धौलिगंगाको बाँधबाट पानी छोडेर महाकालीको वहाव बढेको जानकारी गृह मन्त्रालयमा गराउनुभएको थियो । तर गृह मन्त्रालयका सहसचिव शंकर कोइरालाले दुई देशबीचको सम्बन्धमा समस्या आउने गरी यसबारे जानकारी सार्वजनिक नगर्न प्रजिअ अधिकारीलाई आग्रह गर्नुभएको थियो ।
दार्चुलाका स्थानीय वासिन्दा पनि भारतले धौलिगंगाको बाँधबाट एकै पानी छोडिदिदा खलंगा बजार बगेको बताएका छन् । बाँधबाट पानी छोडेकै कारण खलंगाका घरवस्ती महाकालीले बगाएको व्यापारी हरकसिह ठगुन्नाले बताउनुभयो ।
ठगुन्नाको खलंगाको घाटबजारस्थित एउटा घर बगिसकेको छ भने अर्को घर बग्ने अवस्थामा रहेको छ ।

Post a Comment

 
Top