गए कागजी प्रेमपत्रका दिन, कस्ता छन् प्रेमपत्र लेख्ने–पढ्नेका अनुभव ?
कुनै जमाना थियो, जतिखेर मोबाईल थिएन । कुनै जमाना थियो, जतिबेला फेसबुक, ट्वीटर, ईमेल, इन्टरनेट जस्ता प्रविधिका विकास भएका थिएनन् वा ती प्रविधि नेपालीका पहुँचमा आईपुगेका थिएनन् । तर, प्रेम सम्बन्ध त्यतिखेर पनि थियो । प्रेम त सदियौंदेखि चल्दै आईरहेको छ ।
विशेषतः दुई विपरित लिंगीबीच हुने भावनात्मक प्रेम वा भनौं दुई विपरित लिंगीबीचको आकर्षणको प्रेम, सरल शब्दमा भन्नुपर्दा दुई भिन्न शरीरका माया–पिरतीका प्रेम सदियौंदेखि चल्दै आईरहेका छन्, अझैपनि चल्दै छन् र समाज, समुदाय रहुन्जेल चलिनै रहनेछन् ।
तर, जतिबेला नेपालीका पहुँचमा प्रविधि थिएनन् । त्यतिबेला प्रेम साटासाट गर्ने माध्यम पत्र थियो, पूर्ण रुपमा भन्नुपर्दा कागजमा कोरिने ‘प्रेमपत्र’ थियो । कयौं कुरा सोचेर, कल्पेर, कति समय, दिन लगाएर, विशेष मिहिनेत गरेर प्रेमपत्र तयार पारिन्थ्यो र आफूलाई मनपर्ने वा आफ्नो ‘मायालु’लाई दिइन्थ्यो । तर, अहिले जुग फेरिएको छ । जुग फेरिएसँगै विशेषतः सहरीक्षेत्रमा कागजी प्रेमपत्र ‘लोप’ प्रायः भएका छन् ।
तर, कागजी प्रेमपत्रको ‘जुग’ देखेका, भोगेका ‘पात्र’हरु, जो अहिले फेरिएको जुगलाई पनि नजिकबाट नियालिरहेका छन्, उनीहरुको अनुभूति कस्तो छ, के भन्छन् उनीहरु ? त्यसलाई बाहिर ल्याउने जमर्को यहाँ गरिन खोजिएको छ ।
इन्द्रध्वज क्षेत्री
इन्द्रध्वज क्षेत्री, सोसियल मिडियाका अग्रणी व्यक्ति हुन् । उनी नेपालीका माझ सामाजिक सञ्चाल फेसबुक, ट्वीटर, ब्लग जस्ता विषयमा गहिरो अनुसन्धान र प्रशिक्षण लगायतका विषयमा दख्खल राख्ने र अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तिका रुपमा समेत परिचित छन् । उनी भन्छन्–‘प्रेमपत्रले स्वरुप परिवर्तन गरेको छ ।’ पत्र अभिव्यक्तिको माध्यम भएको भन्दै उनले भने–‘प्रविधिको विकाससँगै अभिव्यक्तिको शैली परिवर्तन हुँदै गएको छ ।’
३० वर्षीया विवाहित क्षेत्रीले आफूले ‘ठिटो’ उमेरमा प्रेमपत्र लेखे पनि कसैलाई दिन भने नसकिएको बताए । प्रेमपत्र लोप हुँदै गएको हो कि भन्ने पंक्तिकारको जिज्ञासामा उनले भने–‘हाम्रो पुस्तालाई त्यस्तो लाग्ला तर नयाँ पुस्ताले त्यो कार्यलाई जारी राखेका छन् । तर, कागजमै लेख्ने शैलीको प्रेमपत्रको स्वरुप फेरिएर ‘इलेक्ट्रोनिक’ माध्यबाट प्रेमको अभिव्यक्ति हुन थालेको छ ।’
जिन्दगीमा एक–दुई पटक प्रेमपत्र पाएको क्षणको अनुभव सुनाउँदै उनले भने–‘बबाल लाग्थ्यो, आफ्नो उमेर पनि त्यही अनुसार थियो, त्यतिखेर ।’
७ वर्षअघि मागी विवाह गरेका क्षेत्रीले प्रविधिको विकाससँगै प्रेमपत्रको स्वरुप र दायरामा परिर्वतन आएको बताए ।
हरि अर्याल
लेखकै क्रममा पोखरा निवासी हरि अर्याल भेटिए । उनी केही समय पहिलासम्म राजधानीमै थिए, केही वर्ष यहाँका एनजिओमा कार्यरत कर्मचारी थिए । उनको अनुभव पनि माथिकाझैं मिल्दाजुल्दा छन्, तर उनले आफ्नोताकाको प्रेम सम्बन्धका विषयमा खुलेर कुरा गरे ।
‘मैले त्यस्तै एक सय वटा जति कागजी प्रेमपत्र पाए हुँला’–उनले भने–‘ताली एक हातले मात्रै बझ्दैन, भन्नुको अर्थ मैले त्यो भन्दा अझ बढी कागजी प्रेमपत्र लेखें ।’
हाल खेती, किसानीमा संलग्न उनले मसीले कागजमा लेखिने प्रेमपत्र परिवर्तन भएर ईमेल–इन्टरनेटमा पुगेको बताए । उनले प्रेमपत्र अद्यावधी हराएको नभई नाम मात्रै परिवर्तन भएको सुनाए । अर्यालका अनुसार पहिलाका कागजी प्रेमपत्र आजभोलि मोबाईल एसएमएस र ईमेल भएका छन् ।
किन लेखिन्थ्यो त प्रेमपत्र ? ३५ वर्षीय अर्याल भन्छन्–‘विपरित लिंगीप्रतिको आकर्षण बढेपछि भावनात्मक कुराहरु बाहिर निकाल्न प्रेमपत्र लेखिन्थ्यो ।’ उनले अगाडि थपे–‘आफ्ना भावनात्मक संवेगहरु, कुराहरु बाहिर आउँदा मन हलुका हुन्थ्यो, सन्तुष्टी प्राप्त हुन्थ्यो, त्यसैले प्रेमपत्र लेखिन्थ्यो र सन्तुष्ट भएको महशुस गरिन्थ्यो ।’
९ वर्षअघि मागी–प्रेम विवाह गरेका अर्यालले पहिले–पहिले लेखिने र अहिले लेखिने प्रेमपत्रमा ‘आकाश–पाताल’को भिन्नता रहेको बताए । उनले भने–‘त्यतिबेला सातामा, महिनामा एकचोटी प्रेमपत्र लेखिन्थ्यो । अनि, एउटै प्रेमपत्रमा साताभरी, महिनाभरीका मनका भावहरु उल्लेख गरिन्थ्यो, त्यो संवेग अटाईन्थ्यो, एउटै पत्रमा धेरै कुरा पोखिन्थ्यो । तर, अहिले एक पटकमा एउटा मात्रै कुरा पोखिन्छ, प्रविधिको विकास भएको छ, पहिलेको जस्तो आफ्ना भावनाहरु राख्न समय कुरिरहनु पर्दैन, जतिखेर मन लाग्यो त्यतिखेर प्रेमपत्र लेख्न सकिने भएकाले थोरै कुरा र पहिलेका सन्र्दभमा कम गहन कुराहरु आजभोलि प्रेमपत्रमा देखिने गरिएको छ’–उनको बुझाई छ ।
‘प्रेमपत्रमा थोरै डिमाण्ड, थोरै प्रशंसा, थोरै आशावादी कुरा, भविष्यका कल्पना, आकांक्षाहरु पोखिन्थे’–उनले भने–‘तर, धेरै कल्पनाका कुराहरु प्रेमपत्रमा लेखिदैन थिए, यथार्थ कुराहरु नै त्यसमा हुन्थे ।’
उनले जमाना फेरिएका कारण प्रेमपत्रले कापीका पाना र कलमको मसी छोड्दै गएको र त्यसले ईमेल र मोबाईलमा बृहतरुप हासिल गरेको जिकिर गरे ।
अनिता शिवाकोटी
सञ्चारकर्मी अनिता शिवाकोटीको बुझाईमा भने बोलेरै छिटो र सरल तरिकाबाट प्रेम अभिव्यक्त गर्न सकिने समयमा कागजी प्रेमपत्र हराउँदै गएको हो । उनले भनिन्–‘आजभोलि च्याट, फोन र भेटेरै छिट्टै प्रेम अभिव्यक्त गर्न सकिन्छ, त्यसैले कागजी प्रेमपत्र हराउँदै गएको छ ।’ उनले बोलेर गरिने प्रेम अभिव्यक्तिमा भावनात्मक गहनता नहुने बताइन्, भनिन्–‘जति लेखेर भावना व्यक्त गर्न सकिन्छ, बोलेर सकिदैन ।’
उनले ईमेल, इन्टरनेटले गर्दा भावना कमजोर बनेको तर्क गरिन् । ‘कागजमा लेखिने समयताका जुन गहिरो भाव पत्रमा हुन्थे, प्रविधिको विकासपछि त्यो कमजोर बन्दै गयो’–उनले भनिन् ।
कागजी प्रेमपत्र समय–समयमा मात्रै लेखिने हुँदा त्यसमा निश्चित समयभित्रका भावना, कौतुहलता, उत्सुकता, गुम्सिएका छट्पटी उल्लेख हुने गर्थे, उनको बुझाई छ । –‘आजभोलिका प्रेमपत्रमा भावनात्मक गहनता हुँदैन, कि त त्यो भाषामा दख्खल भएका वा साहित्यकारहरुले नै लेख्नु पर्यो’–शिवाकोटीले भनिन् ।
४ वर्षअघि प्रेम–मागी विवाह गरेकी उनले आफूले कागजी प्रेमपत्र लेखे पनि कसैलाई नदिएको भन्दै प्राप्त भने गरेको बताइन् । अहिले ‘अप्सन’ धेरै भएका कारण कागजी प्रेमपत्र हराउँदै गएको उनको कथन छ । ‘अहिले भिडियो च्याट नै छ, यातायातको सुविधा छ, जसले गर्दा भेटेरै कुरा गर्न सकिन्छ, त्यसैले कागजी प्रेमपत्रको महत्व घट्दै गएको छ’–उनले भनिन् ।

सुवासकुमार कोइराला
लेखकै सन्र्दभमा भेटिएका माइक्रो ब्लगिङ साईट ट्वीटरमा सक्रिए तथा ब्लगर समेत रहेका सुवासकुमार कोइराला (कुलरिम्स)को बुझाई पनि क्षेत्रीको जस्तै छ । उनले पनि प्रविधिको विकाससँग प्रेमपत्रले पनि रुप परिवर्तन गरेको तर्क गरे । ‘कागजी रुपमा लेखिने प्रेमपत्रमा विविध रुप भेटिन्थ्यो’–उनको कथन छ । –‘मैले एक पटक रगतले समेत लेखेको प्रेमपत्र देखेंको थिएँ । मैले चिन्ने एकजना दाइलाई आएको उक्त पत्र रगलते लेखिएको थियो, जहाँ म तपाईं बिना बाँच्न सक्दिन जस्ता कुराहरु उल्लेख थियो’–उनले भने ।
तातोपानी भन्सारको एजेण्ट सम्बन्धी कार्यमा संलग्न ३४ वर्षीय ‘कुलरिम्स’ले आफूले भने कहिल्यै कागजी प्रेमपत्र नलेखेको दाबी गरे । कागजी समयमा लेखिने प्रेमपत्रको समयमा भन्दा प्रविधिको विकास भएपछि लेखिने गरेको प्रेमपत्रको भाषा, शब्द लगायतमा ‘वेयट’ घट्दै गएको उनको बुझाई छ ।
प्रेमपत्रमा कस्ता कुरा उल्लेख हुन्थे त ? ‘कुलरिम्स’ भन्छन्–‘यो कुरा ०६१/०६२ सालतिरको हो, जतिबेला म कम्प्युटर कोर्ष पढाउँथे, सिकाउँथे । त्यतिबेला मेरो एकजना ‘विद्यार्थी’ थिइन् । उनले मलाई पठाएको एक प्रेमपत्र थियो, जसमा लेखिएको थियो–सरलाई एकदमै मन पराउँछु, कस्तो–कस्तो फिलिङ्गस हुन्छ, सरले ‘एस’ भन्नु भएन भने त…. । तर, मैले उनको प्रस्ताव स्वीकारिन, म खुशि थिइन् । उनको प्रेम अन्धो थियो । बरु, मैले उनलाई सम्झाएँ ।’
उर्मिला थपलिया
लेखकै क्रममा भेटिएकी नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य तथा हाल धादिङ क्षेत्र नम्बर दुईबाट कांग्रेस महासमिति सदस्य समेत रहेकी उर्मिला थपलियाले पनि सोसियल मिडिया, मोबाइल आदीले गर्दा प्रेमपत्र ओझेलमा पर्दै गएको बताइन् । उनले प्रविधिको विकासले समाज साँघुरिएको भन्दै फिल्मको देखासिखी गर्ने बानीले प्रेमपत्र भन्दा पनि छिटो र सतहको प्रेम सम्बन्ध पछिल्लो समयमा मौलाउँदै गएको जिकिर गरिन् ।
दुई वटा गजल संग्रह प्रकाशित गरिसकेकी आफूलाई साहित्यकार भन्न रुचाउने उनले भनिन्–‘पहिले–पहिले भेट गर्न गाह्रो हुन्थ्यो, हुलाकबाट चिठ्ठी लेखर पठाउनु पथ्र्यो । तर, अहिले युग परिवर्तन भयो ।’ उनले फिल्मकै देखासिखी गर्ने कारणले भाषामा स्वच्छता, शब्द चयनमा मर्म घट्दै गएको उल्लेख गरिन् । प्रविधिको विकास र फिल्मलाई पछ्याउने कारणले कागजी चिठ्ठी लेख्ने महत्व घट्दै गएको भन्दै उनले भनिन्–‘तर माया परिर्वतन हुँदैन ।’
अविवाहिता उनले क्याम्पस पढ्दाताका रगतले लेखेका ३०–४० वटा कागजी प्रेमपत्र आफूले प्राप्त गरेको बताउँदै तर आफूले भने कसैलाई कुनैपनि किसिमको प्रेमपत्र नदिएको बरु लेखेर संग्रहित गरेर राखेको दाबी गरिन् ।
थपलियाले पनि पहिला–पहिला वर्ष, महिना र सातामा एक पटक प्रेमपत्र कोरिन्थ्यो भन्दै अहिले समय, प्रविधि या मानसिकताले गर्दा प्रेमपत्रका शब्द र भावमा समेत परिवर्तन देखिन थालेको बताईन् ।
उनले आफ्नो जीवनको एक सानो किस्सा समेत सुनाईन्–‘म ९ कक्षामा पढ्दा ५ कक्षामा पढ्ने भाइ थियो, जसले मलाई मन पराउँथ्यो । उसको आमाले बनाइदिएका तरकारी, भुटेको मकै, अन्य खानेकुरा मेरो कोठामा ल्याएर छोडिदिन्थ्यो । मेरै क्लासमा आएर मसँगै बसेर पढ्थ्र्यो, म तपाईंलाई मन पराउँछु, सँगै बिहे गर्छु भन्थ्यो । त्यतिबेला मलाई सबैले स्कुलभरी जिस्काउँथे । तर, मैले उसलाई ‘काउन्सेलिङ गरेँ, अहिले भेटें पनि त्यही कुरा सम्झाएर ती भाइलाई जिस्काउँछु, अहिले त भाइ ठूला भईसके…नजिस्काउनु न दिदी भन्छन् ।’
नारायण काफ्ले
सञ्चारकर्मी नारायण काफ्लेले भने अझैसम्म गाउँ–गाउँमा कागजी प्रेमपत्रका ‘अवशेष’ बाँकी रहेको बताए । उनले सहरका युवा–युवतीलाई कागजी प्रेमपत्र परिकल्पनामै नपर्ने तर्क गरे । ‘तर प्रविधिभित्रको मायाको अन्तरंगमा म कागजी प्रेमपत्रको मज्जा र वास्तविकता भेट्दिन’–उनले भने ।
जलवायु परिवर्तनले मौसमीचक्रलाई बिथोले जस्तै कागजी माया–प्रेममाथि प्रविधिको धोकाधडी भएको उनको बुझाई छ । उनले आफूले गनेरै ५ वटा कागजी प्रेमपत्र प्राप्त गरेको बताए ।
२५ वर्षीय काफ्लेले हाँस्दै भने–‘यसमा दुई वटा रमाइला प्रसंग पनि छन् । एउटा म स्नातक पढ्दै गर्दा स्नात्तकोत्तर द्धितीय वर्षमा पढ्ने एक साथीले चिठ्ठी दिइन् । त्यो समयमा त मोवाइलमै पनि कुरा हुन सक्थ्यो तर उनले पत्र दिइन् । मैले जवाफ चाँही फर्काइन । उनी अहिले एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत छिन् । अर्को, स्नात्तकोत्तर पढ्दै गर्दा एउटा ७ कक्षामा पढ्ने छात्राको पत्र पाएको थिएँ । त्यो पनि मैले फर्काइन तर उनलाई चाँही पछि भेटेर सम्झाएँ । मैले प्रेमपत्र अहिलेसम्म एक जनालाई मात्र लेखेँ । जति लेखेँ उनकै लागि लेखेँ । एउटा पत्र चाँही लेखेर पनि दिन सकिन । त्यो चाँही अहिले पनि सुरक्षित छ । मैले लेखेका र मैले पाएका दुवै पत्र मसँग सुरक्षित छन् ।’
काफ्लेले पनि त्यो बेलामा मोबाइल, ईमेल, इन्टरनेट नभएको सन्र्दभमा एकअर्कालाई बुझ्ने माध्यम चिठ्ठी नै भएको बताए । सूचना प्रविधिको नवीनतम विकासक्रमले कागजी प्रेमपत्र लगभग अन्त्य भईसकेको बताउँदै उनले भने–‘महिनौंमा आउने दुई पन्ना कागजका भावलाई दैनिक आउने एसएमएस र ईमेलमा तुलना गर्न सक्दिन, म ।’
उनले इन्टरनेटमा बिताएका मायाका पल हल्का हुने जिकिर गरे । ‘ईमेल, च्याट, एसएमएस, जे–जति भन्नुस् तिनले जति द्रुत रुपमा सन्देश प्रवाह गरेका छन् । त्यति नै छिटो बिर्सिएका पनि छन् । प्रविधिले प्रेमचक्रलाई कमजोर बनाएको छ । दुई पन्नाको त्यो जवाफ र महिनौभरका विद्युतीय सम्वाद धत् तुलना नै नगरौं । मायाको ओजन नै घटेजस्तो, चिट गरेजस्तो लाग्छ एसएमएस त मलाई, च्याट त बनावटी लाग्छ । तर, पत्रको ओजन सम्झदा पनि छुट्टै आनन्द हुन्छ’–उनले भने ।
उनले कागजी प्रेमपत्रमा हुने गरेको विषय स्मरण गर्दै भने–‘सुरुसुरुमा दुवैले एकअर्काको तारिफ, बीचमा डिमान्ड, धेरै भइसकेपछि लफडा पनि । चिनी पनि धेरै खायो भने तितो हुन्छ रे क्या ! यस्तै हुन्थे, सन्चो बिसन्चोदेखि घर परिवारका कुरा पनि सोधिन्थे । आजकालको प्रविधिका संयन्त्रले परिवारलाई मलतल राख्ला जस्तो लाग्दैन’–उनले भने ।
Post a Comment