0

निजी क्षेत्रमा अराजकताले बढाएको ‘आत्मविश्वास’


 भर्खरै सार्वजनिक भएको निजी क्षेत्रको संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्ययनले ब्यवसायिक आत्मविश्वास सूचक बिसिआई ३७ बाट बढेर ४९ अंक पुगेको देखायो ।

केही दिन अघि सरकारले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले पनि ब्यवसायीहरुमा आत्मविश्वास बढेको देखाएको थियो ।
मुलुक राजनीतिक कचिङ्गलमा अल्झिएकाले लगानीको वातावरण भएन, सुरक्षा भएन, व्यक्तिगत सम्पत्ति माथिको अधिकार कुण्ठित भयो भन्दै तिनै ब्यापारी ठूलोे स्वरमा चिच्याइरहेको हामीले सुनिरहेका छौ । तर अहिले तिनै व्यवसायी ‘ब्यवसायिक आत्मविश्वास बढेको’  बताइरहेका छन् ।
ब्यवसायीकै मुखबाट सुनिएका यी दुई कुरा कसरी मिल्न सक्छन् ? लगानीको वातावरण नभएको बताउने व्यवसायीमा आत्मविश्वास कसरी बढ्यो ? यो आफैमा अन्तरविरोधी कुरा हो । तर व्यवसायीका पछिल्ला गतिविधि हेर्ने हो भने पक्कै पनि आत्मविश्वास बढेको पनि देखिन्छ । प्रश्न कसरी भन्ने मात्रै हो ?
उनीहरु अहिले कानूनभन्दा माथि पुगेका छन्, त्यसैले आत्मविश्वास मात्रै होइन थप हड्ताल गर्ने आत्मबल पनि बढेको छ । अहिले ब्यापारीले सरकारलाई उठ भने उठ बस भने बस हुने अवस्थामा पुर्‍याएका छन् ।
त्यसैले लगानीको वातावरण सुध्रेर, उत्पादन लागत घटेर होइन कि कमजोर देखिएको राज्यलाई जे भन्यो त्यही गराउन सकिन्छ भन्ने आत्मविश्वासले अहिले नेपालको निजी क्षेत्र बलियो भएको छ । यसको पछिल्लो उदाहरण त पानी बेच्ने ब्यापारीसंग सरकारले गरेको सहमति हो । मानिसको जीवनसंग जोडिएको पानीको ब्यापार गर्ने ब्यापारीले हडताल गरे ।
आफ्ना माग राख्न आन्दोलन गर्न पाइन्छ । तर तेल, ग्यास, पानी जस्ता मानिसको जीवनसंग जोडिएका बस्तुमा हडताल गर्न पार्इंदैन । यो सिधै दण्डनीय विषय हो । तर सरकारले आन्दोलनकारीलाई सिंहदरबारमा स्वागत गर्दै माग पूरा गरी पठायो ।
अब राज्य र कानुनलाई त नटेरेका ती ब्यापारीले सर्वसाधारण उपभोक्तालाई के गन्लान् ? सरकारले कारबाही नगरेपछि पक्कै उनीहरु हड्ताल गर्न थप उत्साहित भएका छन् ।
भोलि जारमा भरेर ब्यापारीले ढलको पानी बेचे भने पनि कारबाही नगर्न भन्दै हडताल भयो भने अचम्म मान्न पर्दैन् । किनकी दुषित दुध बेच्ने ब्यापारीलाई पनि चोख्याइसकेको छ, सरकारले ।
व्यापारीहरुमा यो आत्मविश्वास त्यसै बढेको होइन । सरकारले ब्यापारीका एकपछि अर्को गलत मागमा सही गरेको छ । ढक तराजु बिगार्ने र मिसावट गर्ने सुन ब्यापारीसंग पनि सरकारले घुँडा टेकेकै हो ।
यी घटनाले उत्साहित बनाएको छ व्यापारीलाई । त्यसैले फेरि अर्काथरी ग्यास व्यापारीहरु हडताल गर्न ठिक्क परेका छन् । यी सबै कुराले नेपालका व्यवसायी कति धेरै अराजक बनिरहेका छन् भन्ने देखाउँछ ।
यी मात्रै होइन व्यवसायीको अराजक आत्मविश्वास बढाउन सरकारले अरु धेरै भूमिका खेलेको छ । नक्कली भ्याट बनाएर राजस्व लिने ब्यापारीको गोपनियता राखिदिएर होस् या कारोबार ‘मिसम्याच’ गरेर अर्बौ राजस्व छल्ने ब्यापारीलाई छुट दिने प्रकृया शुरु गरेर होस्, सरकार नीजि क्षेत्रसंग सयौ कुरामा नतमस्तक बनेको छ ।
‘त्यसैले चोरलाई मात्रै होइन चोरबाटो देखाउनेलाई पनि गाली गरौ’ अर्थबिद् डा. भोला चालिसे भन्नुहुन्छ ‘यो नीजि क्षेत्र नै होइन, प्रतिष्पर्धा नै नगर्ने पनि नीजि क्षेत्र हुन्छ  ? यो त ठेकेदारहरुको समुह हो ।’
नेपालमा १९९० देखि खुल्ला बजार नीतिले प्रबेश पायो र निजी क्षेत्रले यति धेरै विकास गर्‍यो । अहिले पनि अर्थतन्त्रमा ८० प्रतिशत लगानी निजी क्षेत्रकै छ र बजारमा अधिकांश हिस्सा उसैले लिएको छ । खुल्लाबजारकै कारण वित्तीय क्षेत्र र सञ्चार क्षेत्रले यति ठूलो विकास गरेको छ ।
यी सबै सुन्दर पक्ष हुन् । तर निजी क्षेत्रले नै ल्याएको सिन्डिकेट, अस्वच्छ प्रतिस्पर्धा र यस खालको अराजकताले खुल्ला बजार नीतिको आलोचना भैरहेको छ । अहिले व्वयसायीमा आत्मबिश्वास बढ्यो । लगानीको बाताबरण बढ्यो भनेर चुनावी सरकारले भ्रम बाँडेको छ । किनकी यो अराजकताले बढाएको आत्मविश्वास मात्र हो ।

Post a Comment

 
Top