जे आरोप लगाए पनि सहनु पर्दो रहेछ
चन्दा चौधरी
हामी मिति २०७० वैशाख २५ गते ८ जना बर्दियाबाट काठमाण्डौं आयौँ । कपिलवस्तुका दुई जना र शिल्पीका साथीहरू मिलेर १५ दिनको कार्यशालामा नाटक तयार गर्नुपर्ने थियो । पहिले त नाटक कसरी बनाउने भनेर डर लागिरहेको थियो किनकि हामी सबै नयाँ कलाकारहरू थियौँ ।
नाटक कार्यशालाका बीचमा इएसपीका अमर विश्वकर्माले ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण’सम्बन्धी छलफल गराउनुभयो । साथी संस्थाका इन्दिरा फुयाँलजीले ‘महिला हिंसा र लैङ्गिक हिंसा’सम्बन्धी विषयमा छलफल गराउनुभयो ।
मैले पहिल्यै गरेको ‘नारी’ नाटकको भन्दा बेग्लै खालको कार्यशाला थियो यो । जीवनमा कहिले नदेखेको नगरेको काम गर्नुपथ्र्यो । शिवानीसँग कुरा गर्थेँ, हामी यस्तो जटिल काम गर्न किन आएको हो भनेर । तर, काम नगरी कसरी अगाडि बढ्न सकिन्छ भनी चित्त बुझाउँथ्यौँ । नाटकमा कहिल्यै नगरेको काम भनेर सोच्यो भने सोचेको सोच्यै हँुदो रहेछ, बिगे्र बिग्रिन्छ भनेर नसोची काम गर्दा आफै सफल हुँदोरहेछ ।
हामीलाई खेल खेलेजस्तै लाग्थ्यो तर नाटक तयार भइसकेको रहेछ । युवराज दाइको निर्देशन र सबै साथीहरूको सहयोगमा नाटक तयार भयो । अब नाटकको नाम के राख्ने भनेर सबै जनाको सल्लाहले ‘दुःखी छाई’ राख्यौँ तर काम गर्दै जाने क्रममा ढिंकीको कथा बोल्ने भएकोले दुःखी छाईलाई हटाएर नाटकको नाम ‘दहितान ढेंकी’ राख्यौँ ।
नाटकमा बर्दियाको लठ्ठी नाच पनि राख्यौँ, कहिल्यै नदेखेका कपिलवस्तु र शिल्पीका साथीहरूलाई पनि सहभागी गरायौँ । कीर्तिपुरको त्रिविविमा ‘दहितान ढेंकी’ प्रस्तुत ग¥यौँ, बिग्रिन्छ कि भनेर डर लागिरहेको थियो । तर, देखाउने क्रममा नाटक राम्रो हँुदै गयो । दर्शकहरूको भनाइअनुसार नाटक राम्रो छ भन्ने सल्लाह आएपछि लाग्यो हाम्रो नाटक दमदार छ । दोस्रो पटक पत्रकारहरूसँग मार्टिन चौतारीमा ग¥याँै । उहाँहरूको सल्लाह सुझावले नाटकलाई अझ बढी बलियो बनायो ।
२०७० जेठ ७ गते काठमाडौंबाट नाटक लिएर यात्रामा निस्कियौँ । नाटक तराईका सात जिल्लामा २८ पटक मञ्चन गर्नुपर्ने थियो । नाटकमा दहितान घरको ढिकी बोल्छ । बेलासा गाउँका सबै महिलाहरू दहितान घरको ढिकीमा काम गर्न आउँछन् । ती महिलाहरूका दुःख, पीडा ढिकीलाई मात्र थाहा हुन्छ । थाहा भएर के गरोस्, ढिकीले केही गर्न सक्दैन । अस्तुनीको माछा मार्ने जाल राम्रो हुन्छ, कलावतीको र रिखिलालको जाल फाटेको हुन्छ, त्यसैले माछा मार्न सक्दैनन् ।
फूलारामको छोरी चमेली चुलुवाको नाति बड्काको छोरा चिन्टुसँग भागेर सानै उमेरमा विवाह गर्छे । ऊ कलिलै उमेरमा गर्भवती हुन्छे । अस्पताल लैजानुको सट्टा धाँमी झाँक्रीसँग हेराई अस्तुनीलाई बोक्सीको आरोप लागाउँछन् । गाउँले सबै जना मिलेर उसलाई कुट्ने पिट्ने र दिसापिसाब खुवाई गाउँबाट निकालिदिन्छन् । यसैमा नाटक रोकिन्छ ।
दर्शकहरूलाई प्रश्न सोधिन्छ, उनीहरूले आफ्नै हिसाबले सम्झाउने कोसिस गर्छन् । कसैले सरल तरिकाले सम्झाउँछन् भने कसैले आफ्नै पीडा सम्झी आवेशमा आएर कलाकारलाई कुट्छन् पनि । नाटक गर्ने क्रममा धनगढीको एउटा गाउँमा यही नाटक बोक्सीको ठाउँमा रोकियो । बोक्सी हुन्छ कि नाईँ भनेर दर्शकलाई सोध्दा कसैले हुन्छ, कसैले हुँदैन भनिरहेका थिए ।
मैले तीन जना महिलाहरू कानेखुसी गरिरहेको देखेँ अनि के भयो भनेर सोधेँ । एक जनाले त्यहीँ भएकी एक जना महिलालाई देखाएर उनी त बोक्सी हुन् भनेर देखाइदिए । तिनका आफ्ना कोही आफन्त रहेनछन् । ती संकेत गरिएकी दिदी टोलाएर बसिरहेकी थिइन् । पछि कुरा गर्छु भनेर सोचिरहेको थिएँ । एकछिनपछि त ती दिदी त्यहाँबाट गइसकेकी थिइन् । मैले मनमनै सोचेँ, आफ्नो मान्छे नभएपछि गाउँलेहरूले जे आरोप लगाए पनि सहनु पर्दोरहेछ ।
Post a Comment