भण्डाफोर अभियानको तयारी गर्दै माओवादी
भण्डाफोर अभियान दुई सय ४० निर्वाचन क्षेत्रमा केन्द्रित गरिने र यस क्रममा पार्टी, पार्टीका भ्रातृ सङ्गठनहरू, जातीय तथा क्षेत्रीय मोर्चाहरूको सहभागिता व्यापक बनाइने योजना सम्बद्ध पक्षको छ । भण्डाफोर अभियान रोकिएपछि देशभरिका बीस हजार मतदान केन्द्रलाई लक्षित गरी राष्ट्रिय युवा स्वयम्सेवक दल परिचालन गर्ने माओवादी योजना रहेको छ । स्वयम्सेवक दल नामाकरण गरिएको भए पनि वास्तवमा उक्त दल माओवादी लडाकुहरूको समूह हो र उनीहरूलाई ‘जसरी भए पनि चुनाव बिथोल्ने’ कार्यमा परिचालन गरिने भएको छ । त्यसरी भण्डाफोर अभियान सञ्चालन गर्ने क्रममा राज्यले बल प्रयोग गरे सोहीअनुरूप युद्धमोर्चा बन्ने र स्वयम्सेवक दलको अगुवाइमा भिडन्त रचिने जानकारी माओवादी सूत्रबाट प्राप्त भएको छ । आगामी असोजभित्र ‘स्वत’ युद्धमोर्चा बन्ने र देश एकप्रकारले युद्धमा जाने ‘आशा’ माओवादीले गरेको छ । अबको युद्ध जनवादी क्रान्तिका लागि मात्र नभई राष्ट्रिय स्वाधीनताको निम्ति हुने माओवादीको भनाइ छ । यसैबीच माओवादीनिकटको एक सूत्रले जनाएअनुसार उनीहरू चुनावको मिति थप केही महिना पछि सरोस् भन्ने चाहन्छन् र कदाचित चुनाव सरेमा युद्धकार्यको तयारीका लागि समय पर्याप्त हुने उनीहरूको बुझाइ छ ।
माओवादी नेतृत्वले जनविद्रोह, वार्ता र जनयुद्धको नीति अवलम्बन गरेको छ । सुरुमा शान्तिपूर्ण जनविद्रोहको कार्यक्रम अघि बढाउने र आवश्यक परे राज्य पक्षसँग वार्ता पनि गर्ने त्यसपछि जनविद्रोह र वार्ताको आडमा जनयुद्धको पृष्ठभूमि बलियो बनाउँदै लैजाने योजना माओवादीको छ । निर्वाचन बिथोल्न निर्वाचन आयोगबाट खटिएका कर्मचारी तथा चुनावी प्रचारकहरूलाई निरुत्साहित गर्ने र उम्मेदवारलाई तत्कालिक अवस्थाअनुसारको भौतिक कारबाही गर्नेसम्मको सोच माओवादीले बनाएको छ । निर्वाचनमा विभिन्न दलहरूको तर्फबाट उम्मेदवार बनाइएका व्यक्तिहरूको बुथ प्रतिनिधिहरूलाई डर, त्रास, धम्की दिने, त्यस्ता प्रतिनिधिको नाम सूचीबद्ध गरी कारबाहीको प्रक्रिया सुरु गर्ने र बीस हजारवटै मतदान केन्द्रमा असहज एवम् तनावमय अवस्था सिर्जना गरी चुनाव बिथोल्ने सुर माओवादीको छ । यसरी जसरी भए पनि चुनाव सम्पन्न हुन नदिन माओवादीले तयारी गरिरहँदा यता सरकार र चारदलीय संयन्त्र भने चुनाव सम्पन्न गरिछाड्न कटिबद्ध छ । राज्यशक्तिको उच्चतम प्रयोग गरेर भए पनि चुनाव सम्पन्न गराउन सरकार र चारदलीय संयन्त्र मानसिक रूपमा तयार भएको छ । तथापि कतिपय अन्य कारणहरूले गर्दा निर्धारित समयमै चुनाव सम्पन्न हुनेमा आशङ्का कायम छ । निर्वाचन क्षेत्र निर्धारण गर्न बनेको आयोगले कानुनी अड्चन दर्शाउँदै यही अवस्थामा क्षेत्र निर्धारण गर्न नसकिने स्पष्ट गरेको छ । अब चुनाव क्षेत्र यथावत् राखेर चुनावमा जाने या पुन: आयोग निर्माण गरेर क्षेत्र निर्धारण गर्ने भन्ने प्रश्न खडा भएको छ ।
त्यसैगरी एनेकपा माओवादी मङ्सिर चार गते निर्वाचन सम्पन्न गर्ने कुरामा अन्तिम समयसम्म अडिग रहनेमा पनि विश्वास गरिएको छैन । आफूले निर्वाचनमा विजय हासिल गर्न सक्ने अवस्था देखिए मात्र चुनावमा सहभागी हुने मुडमा रहेको एमाओवादी नेतृत्व असोजपछि कुनै पनि वहानाबाजी गरेर चुनावी प्रक्रियाबाट पछि हट्न सक्ने ठानिएको छ । माओवादीले चुनावमा भाग नलिएको अवस्थामा आफ्ना उम्मेदवार एवम् प्रचारकहरूलाई मुख्य निसाना बनाइनसक्ने सम्भावित आशङ्काले एमाओवादी नेतृत्व त्राहिमाम् हुन पुगेको छ । त्यसैले चुनाव नजिकिँदै गएपछि कुनै न कुनै अत्तो थापेर एमाओवादी चुनावी प्रक्रियाबाट बाहिरिनसक्ने सम्भावना जीवित छ । तर, एमाओवादी दृढतापूर्वक चुनावको पक्षमा उभियो भने ‘जसरी भए पनि’ चुनाव सम्पन्न हुनेमा आशङ्का गरिरहनुपर्ने हुँदैन । त्यसपछि मुलुकको अवस्था कसरी अघि बढ्छ भन्ने कुराको निर्धारण राज्य र माओवादीको ‘स्ट्ेरन्थ’मा निर्भर रहनेछ ।
Post a Comment