कहिल्यै थकानको महसुस भएन
सञ्जिता रिजाल
म घरबाट २०७० वैशाख २४ गते नाटक गर्ने शिलशिलामा काठमाडौं हिडेँ । बसमा रमाइलो भैरहेको थियो तर पनि मलाई कता–कता हाम्रो यात्रा कस्तो हुने हो कौतुहलता भैरहेको थियो । नाटकको लागि त्यति टाढासम्म पुग्नु मेरो पहिलो यात्रा थियो । पहिला पहिला कचहरी, सडक—नाटक धेरै गरिन्थ्यो तर आफ्नै गाउँमा मात्र सीमित थियो । मैले आफूलाई भाग्यमानी ठान्दै थिएँ किनकि म बाहिरको बातावरणमा घुलमिल भई नाटक गर्दैछु भनेर ।
घिमिरे युवराज दाइबाट धेरै कुरा सिक्ने अवसर पाएको ठान्दछु म । प्रत्येक दिन शारीरिक व्यायाम गरी कथामा काम गरिन्थ्यो । कहिल्यै थकानको महसुस भएन । रमाइलो गर्दा गर्दै पनि हाम्रो नाटक तयार भैरहेको थियो । शिल्पी कला समूहका कलाकार साथीलगायत कर्मचारी दाइहरू पनि एकदमै रमाइला लाग्यो ।
हामीले आफ्नै गाउँठाउँमा घटेका सत्य—घटनालाई आधार बनाइएर नाटक तयार पार्यौँ । नाटक यात्रा एकदमै रमाइलो भइरहेको थियो । मेरो यस्तो यात्रा एकदमै नौलो थियो । म पहाडी समुदायकी भए पनि थारू भाषामा नाटक गर्ने अवसर पाउँदा एकदमै हर्षित थिएँ ।
अप्ठ्यारा बाटोहरू पनि सहज मान्दै हाम्रो नाटक टोली अगाडि बढिरहेकै थियो । जेठ महिनाको नेपालगन्जको गर्मीमा पनि साथीहरूसँग रहँदा गर्मी महसुुस भैरहेको थिएन । हामी जुन जिल्लामा प्रवेश गर्दा पनि झरी बादलको स्वागतसँगै प्रवेश हुन्थ्यौँ तर बर्दिया जिल्लामा चाहिँ आँधीबेरीको कारण कोठियाघाटबाट पारि जाने उपाय नलागेर पुनः भुरी गाउँ, लम्की, कैलाली हुँदै कर्णाली घाट पार गरेर पनि भौँराटप्पा भनेर चिनिने राजापुर बर्दियामा ट्रयाक्टर यात्रा गर्न पुग्यौँ । हाम्रो ट्रयाक्टर यात्रापछि टोली अगाडि बढ्दै थियो ।
सबै जिल्लामा राम्रै भयो तर कञ्चनपुर जिल्लामा प्रवेश गर्दा चाहिँ विपरीत दिशाबाट आइरहेको गाडी चालकको लापरबाहीले हामी ठूलो दुर्घटनामा झन्नैले परेनौँ । तर, हामी सवार गाडी चालकको कुशलताले हामी बाँच्न सफल भयौँ । रमाइलो भैरहेको यात्रा अलि खल्बलियो तर पछि त्यो घटना बिर्सिएर अगाडि बढ्यौँ ।
चाँडै नै छुट्टिने दिन पनि अगाडि आयो । हामी सबै एकै परिवारका सदस्य सरह थियौं । तर, हामी सबैको आ–आफ्नो कामको व्यस्तताले गर्दा छुट्टिनुपर्ने बाध्यता थियो । मलाई आशा छ, कुनै दिन शिल्पी समूहले पुनः बोलाउने छ । त्यो दिन छिट्टै आओस् । म एकदमै खुसी छु, शिल्पी कला समूहबाट नाटक गर्न पाएकोमा ।
(रिजाल शान्तिका लागि युवा सञ्जाल बर्दियासँग आबद्ध छिन ।)
Post a Comment