लौन मलाला, हाम्रा नेताहरुलाई पनि केही सिकाइदेऊ न !
बेनजीर भुट्टोको पछ्यौरी ओढेकी मलाला युसाफजाईले संयुक्त राष्ट्र संघको साधारण सभालाई उनको सोह्रौं जन्म दिवसको उपलक्षमा गरेको सम्बोधन सुनें। उनी भन्दै थिइन्: “…..प्यारा दिदी तथा दाइहरू, म कसैको बिरुद्ध छैन। म यहाँ तालिवान वा अन्य कुनै आतंककारी समुहहरुको बिरुद्ध व्यक्तिगत बदलाको भावना पोख्न आएकी पनि होइन। मलाई गोली हानेका तालिबलाई समेत म घृणा गर्दिन। मेरो हातैमा बन्दुक भएको बेला ऊ मेरो अगाडि उभिएको भेटे पनि म ऊलाई गोली हान्दिन। मैले मोहम्मद, जिसस क्राइस्ट र भगवान बुद्धबाट सिकेको यही करुणा हो। मैले मार्टिन लूथर किंग, नेल्सन मंडेला र मोहमद अली जिन्नाहबाट प्राप्त गरेको यही विरासत हो। मैले गान्धी, बाचा खान र मदर टेरेसाबाट सिकेको अहिंसाको दर्शन यही नै हो। र, मैले मेरा बाबामामूबाट सिकेको क्षमाशीलता हो यो। मेरो आत्माले पनि मलाई यही भन्छ: मलाला, तिमी मृदू बन र प्रत्येकलाई प्रेम गर….. !”
(प्रिय मलाला, तिम्रो भब्य भाषणबिचको एक छोटो अंशलाई मेरा रुखा एवम् भावनाहीन शब्दमा गरिएको अनुवादको लागि क्षमा गर्नेछ्यौ !)
(प्रिय मलाला, तिम्रो भब्य भाषणबिचको एक छोटो अंशलाई मेरा रुखा एवम् भावनाहीन शब्दमा गरिएको अनुवादको लागि क्षमा गर्नेछ्यौ !)
मलालाको त्यो सम्बोधन सुन्दा म भावविभोर भएँ । मेरा आँखा रसाए। साँच्ची भिजेका थिए मेरा आँखा उनको सम्बोधन सकिँदा। म सुतें तर निकैबेर निदाउन सकिन । मैले हाम्रा नेताहरुका क्रियाकलाप सम्झें । यिनीहरु कहिले मलाला बन्न सक्लान् ?
मलाला युसाफजाई आफ्नो सोह्रौं जन्म दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्र संघको साधारण सभालाई सम्बोधन गर्दै। तस्विर साभारः वासिङटन पोष्ट।
महाभारतमा श्रीकृष्णले कर्मयोगको सिलसिलामा अर्जुनलाई लोकधर्म सम्झाउँदै भनेका छन्: “यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः। स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते॥” अर्थात् उच्च पदमा बस्ने वा समाजलाई नेतृत्व दिने व्यक्तिले गरेका कर्मलाई लोकले पछ्याइरहेको हुन्छ भन्ने बुझ्नुपर्छ। समाजमा श्रेष्ठ मानिएका व्यक्तिले वा समाजलाई बाटो देखाउने नेताले प्रदर्शन गरेका व्यवहार र स्थापित गरेका क्रियाकलाप सर्वसाधारणको निम्ति उदाहरण बन्दछन्। सर्वसाधारण सोहिअनुसार अनुकरण गर्दछन्। नेता राम्रो भएको बेला समाज राम्रो भएको, सुख-शान्ति एवम् उन्नति भएको र नेता खराब भएका बेला समाजमा अशान्ति, अभाव र अवनति भएकोबारे इतिहास साक्षी छ। कुनै समयमा हाम्रै देशले त्यस्ता समाजका अगुवा र नेताहरु प्राप्त गरेको थियो जसले गर्दा यही देश ज्ञानभूमि, शान्तिभूमि भनेर चिनिन्थ्यो। अनि त वर्तमानमा त्यही सत्यलाई हामी पुन: स्थापित गर्न प्रेरित हुँदै राष्ट्रगानमा हाम्रो आदर्श इतिहास गाउछौं। हाम्रो समाज अहिलेको अवस्थामा स्खलित भएको एकाएक यस देशका जनताहरु खराब भएर कदापि होइन; बरु यस देशमा खराब नेताहरुले हाम्रो समाजलाई डोरयाएर हो। हाम्रा अगुवाहरु नै बाटो हगुवा भएर हो।
लामो समयसम्म नेपाल सरकारको प्रशासनभित्र रहेर पञ्चायती व्यवस्था र त्यसपछिका ‘प्रजातान्त्रिक’ भनिने शासनमा काम गरेका अनुभवहरु समेटी तैयार पारिएको पुस्तक “समाज, संस्कार र शासन” मा खेमराज नेपालले स्पष्ट भनेका छन्, “कुनै पनि मंत्रिमण्डलका सदस्यहरु समाज र मुलुकको हित र विकासका लागि दूरगामी नीति निर्माणमा लागेको मैले देखिन।” यो हाम्रो दुखद यथार्थ र विडम्बना हो। हाम्रो समाज यसरी नै दिन प्रतिदिन उँधो जाँदो छ।
स्खलित समाजलाई कसरी उँभो लगाउने? नेताहरु खराब भएर समाजको अवनति भएको हो भने नेता नै असल हुनु पर्यो। शिक्षाविद् केदारभक्त माथेमाले खेमराज नेपालको उक्त पुस्तकको निचोड़को रुपमा समाज सुधारका निम्ति सुझाउँछन् – नेता र कार्यकर्ताले मुल्य मान्यताको राजनीति गर्न थाल्नु परयो। डा. देवेन्द्रराज पाण्डेलाई उद्धरण गर्दै खेमराज नेपाल लेख्छन्, “नेपाली नेताहरु संस्कार, आचार, विचार र सामर्थ्य बनाउनभन्दा पनि ‘पारिपट्टिको आली मुनिको आशीर्वाद’ को लागि मरिमेट्दछन्”। उसो त हालैको ‘खुर्सिद-द्वारिकाज्-नेता-लाम-काण्ड’ ले यस कुरालाई घामजत्तिकै छर्लंग पारेको छ। नेपालको शासन प्रशासनलाई नजिकबाट नियालेका पूर्व सचिब नेपाल उही पुस्तकमा भन्दछन्, “संविधानले प्राथमिक स्वास्थ्यको नि:शुल्क सेवा आम नेपालीको मौलिक हक़ भनेर प्रत्याभूत गरेको मुलुकमा ‘जीवन-जल’ सम्म नपाएर मानिसहरु मरिरहेका छन्। नेताहरु वा पहुँचवालाहरू सानातिना विमारी वा कृत्रिम विमारीको अभिनय गर्दै राष्ट्रको ढुकुटीको लगानीमा विदेश ‘उपचार-सयल’ गर्छन्।” हुन पनि यसैलाई भर्खरै पुष्टि गर्ने गरी उपचारको आवश्यकै नभएका राष्ट्रपतिलाई सरकारले उनको मागैबिना औषधी गर्न जापान जानको लागि भनेर मनग्गे खर्च दिएको ताजै छ। त्यसो त राष्ट्रपतिलाई दिइएको उपचार खर्चको यति धेरै किन उछित्तो काडिएको पनि भन्न सकिएला! राज्यले ‘रिझाउने’ मनसायले वा ‘गुन गर्न’ वा ‘गुन तिर्न’ यसो नगरोस् भन्न खोजिएकॊ हो। आर्थिक अभाव भएमा आवश्यकताको मात्रामा मात्र सहयोग गर्नु जायज हुनुपर्ने हो।
नेता सुशिल कोइरालालाई पनि सरकारले उपचार खर्च दिन लालयित थियो। अखाबारका अनुसार गृहमन्त्रीले सवै स्वास्थ्य उपचारको खर्च सरकारले व्यहोर्न चाहेको बताए पनि सुशिलले सरकारी खर्च लिन अस्विकार गरी मुल्यमान्यताको खडेरीमा असल उदाहरण पेश गरे। गरीब देशका नेताहरु उदाहरणीय हुनै पर्दछ। सुशिलको यो सानो तर महत्वपूर्ण कार्यले उनी नैतिकवानहरुको लागि अनुकरणीय बनेका छन्। यसले प्रजातन्त्रमा नेताहरूको कदलाई अग्लो बनाउँछ।
अहिले हामीले हाम्रो देशमा ‘प्रजातन्त्र भएको’ कुरा गर्दछौं। तर कतिपय अवस्थाको कुरा गर्दा व्यवहारमा राजाको निरंकुशतन्त्रमा भन्दा पनि अपारदर्शी, लहडी र निर्दयी व्यवहार राज्यस्तरबाट भएको पाइन्छ। नेताहरुमा प्रजातान्त्रिक संस्कार पटक्कै पाईँदैन। विश्वेश्वरप्रसाद कोइरालाले सरकारबाट राज्य विप्लवको आरोप खेपेका र पञ्चहरुबाट उनलाई राष्ट्रद्रोही ठहराई फाँसी दिइनुपर्ने माग भैरहेका बेला एकदलीय अप्रजातान्त्रिक शासन चलाएका राजा वीरेन्द्रले कोइरालालाई घाँटीको क्यान्सरको उपचार गर्न अमेरिका जान अनुमति मात्र दिएनन्, केही उपचार खर्चसमेत उपलब्ध गराए। निरंकुश राजाले संसारदेखि डराएकाले विश्वेश्वरप्रसाद कोइरालालाई नमारेका पक्कै होइनन्। विश्वेश्वरप्रसाद कोइराला यो देशको प्रधानमन्त्री भैसकेका व्यक्ति थिए। उनी मुलुकको राष्ट्रियताबारे स्पष्ट थिए र देशको राष्ट्रियताको रक्षार्थ मुलुकमै बसेर प्रजातन्त्रका लागि संघर्षरत थिए। शासन पद्धतिबारे राजा र विश्वेश्वरप्रसाद कोइराला वीच मतभेद थियो। देशको अस्तित्व रक्षाबारे विश्वेश्वरप्रसाद कोइरालासँग राजाको शत्रुता, रीसराग थिएन न विश्वेश्वरप्रसाद कोइरालासँग राजाप्रति थियो।
तर दु:खको कुरो अहिलेको प्रजातान्त्रिक व्यवस्थामा सरकारमा पुग्नेहरु र दलहरुमार्फ़त जनताको नेतृत्व गर्नेहरुले “टिट फर टयाट”को व्यवहार प्रदर्शन गरेका छन्। अप्रजातान्त्रिक व्यवस्थामा आफूले भोग्नु परेको दुःखको साटो फेर्न उद्दत छन्। आफूले राम्रो काम गरेर, संविधान बनाएर, प्रजातन्त्र सुदृढ़ हुने काम गरेर देखाउनुको साटो बिगतलाई सरापेर, अरुलाई दोष थोपरेर, आफ़ूमात्र खराब हैन अरु पनि खराब छन् भनेर चरित्रहीन, गैरजिम्मेवार र घोर अप्रजातान्त्रिक बनेका छन्। प्रथम प्रधानमन्त्री दामोदर पाण्डेदेखि आजका मितिसम्म हामी नेपालीले तीन दर्जनभन्दा बढ़ी व्यक्तिलाई प्रधानमन्त्रीको रुपमा व्यहोरिसकेका छौं। विभिन्न राजनितिक व्यवस्था, परिस्थिति र कालका चरित्रअनुसार ती सबै व्यक्ति नेपालका उच्च पदमा पुगेका हुन्। यसअनुसार ती व्यक्ति र पद ‘परिस्थितिजन्य’ हुन्। अहिले नै हेरौं न; दलीय व्यवस्थामा पनि हामीले निर्दलीय व्यक्तिलाई प्रधानमन्त्री मान्नु परेको छ। हाम्रो विडम्बना! पदच्यूत भए पनि जीवनभर भुतपूर्व प्रधानमन्त्री बन्ने लोभमा शक्ति पृथकीकरणलाई लत्याएका प्रधानन्यायाधीसलाई नै प्रधानमन्त्री मान्नु परेको छ। हामीले थरिथरिका प्रधानमन्त्री खेपेका छौँ।
२०- २२ बर्षको अवधिलाई एक पुस्ता मान्ने हो भने हाल पछिल्लो पुस्ताका नेपालीले निर्दलीय पञ्चायती व्यवस्थाका अन्त्य तिरका नेपालकै इतिहासमा पहिलो पटक ब्राह्मण क्षेत्री घरानाबाहिरबाट प्रधानमन्त्री पदमा पुगेका एकमात्र सर्वसाधारण व्यक्ति मरिचमान सिंह श्रेष्ठलाई प्रधानमन्त्री पदमा देखेनन्। उनी पछिल्ला पुस्ताकालागि गुमनाम र अन्य धेरै नेपालीको लागि विष्मरणमै धमिलिइसकेका छन्। किनभने हामी क्रुर छौँ। हामी क्षमाशील छैनौँ। हामी आरिसे छौँ। हामीसँग प्रतिसोधको भावना बढेको छ। हामी समबेदनाहिन हुँदै छौँ। तथापि, यो हाम्रो सनातन संस्कार, धर्म र मान्यता होइन। मरिचमान नेपालका प्रधानमन्त्री बनेका अठ्ठाईसौं व्यक्ति हुन्। उनी अप्रजातान्त्रिक व्यवस्थाका प्रधानमन्त्री हुन्। उनी भूतपूर्व प्रधानमन्त्री हुन्। उनी स्वाभिमानी नेपाली नागरिक हुन्। उनी हाल सर्वसाधारण नागरिक हुन् – यो ‘स्वाधिन’ मुलुकका। अखबारहरुबाट थाहा भएअनुसार उनी अहिले भारतको मेदान्त अस्पतालमा फोक्सोको क्यान्सरको उपचार गराइरहेका छन्। दु:खको कुरो, हाल उनीलाई उपचारमा आर्थिक अभाव परेको छ। अखबारका अनुसार श्रेष्ठका छोराले सरकारसँग एक महिना अघिदेखि नै उपचारको लागि सहयोग मागे पनि पाएका छैनन्। ज्यान बचाउन सप्रमाण सहयोग मागिसकेपछि राज्यले यथोचित सहयोग गरेको भए ‘पंचे’ लाई बचायो भनेर कुनै नेपालीले नभन्नु पर्ने हो ! राज्यले समेत ‘रेसिप्रोकल बेनिफिट’ खोज्ने, बलेको आगोमात्र ताप्ने हो भने त खोरिया जोतेर भोकभोकै मालपोत तिरी सरकार पाल्नेले केलाई राज्य भन्ने हो? यी शासकले हाम्रो मुलुकलाई अझ कति तल झार्ने हुन्? हुन त पिंधभन्दा तल ठाउँ हुँदैन। हामी झण्डै पिंधमै पुगेकाछौं।
यति भन्दाभन्दै मलाई जान्न मन लागेको कुरो: मरिचमानले आर्थिक अभाव भयो भनी औषधीको लागि सहयोग माग्दा यो सरकारले किन नदिएको होला? यो सरकार पारिपट्टि आली मुनिको आशीर्वाद पाएकाहरुकै नियन्त्रणले गर्दा होला? साँच्चै, आली मुनिकाको श्रापको डरले होला त? या बदलाको भावना र पूर्वाग्रहले होला? लौन मलाला, हाम्रा नेताहरुलाई पनि केही सिकाइदेऊ! हाम्रा भगवान् बुद्धबाट तिमीले सिकेका कुरा यिनीलाई पनि स्मरण गराइदेऊ न !
Post a Comment