खुट्टा हिलोले खाएको छ ?
३० असार, वर्षाको बेला हिलोमा काम गर्नुपर्ने र हिँड्नुपर्ने भएकाले धेरैको खुट्टा हिलोले खान्छ । राम्रोसँग धोइपखाली गरेन भने औंलाको कापकाप समेत घाउ हुन्छ । यसका लक्षणरू विशेष गरी खुट्टाको औंलाको कापमा र छालाहरूमा चीरा पर्ने, फोका निस्की पानी भरिएर फुट्ने र पोलिरहने हुन्छ । यस्तो बेलामा केही उपाय अपनाएमा समस्या कम गर्न सकिन्छ । जनस्वास्थ्य सम्बन्धी डा. अरुण उप्रेतीको सल्लाह यस्तो छ :
खुट्टाको स्याहार
यस्तो भएको बेलामा खुट्टामा जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । खुट्टा सकेसम्म खुल्ला राख्नुपर्छ । यो बेलामा छालामा परेका ससाना चीराहरू दुख्छन् र तिनमा सङ्क्रमण हुन सक्छ । यस्तो बेलामा मनतातो पानीमा नून हालेर खुट्टा ५-१० मिनेट भिजाउनुपर्छ । नून पानीले फङ्गसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसीनालाई पनि केहि कम गर्छ । साथै यसरी भिजाउँदा छाला केहि नरम हुन्छ र फङ्गस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलै पुग्छ । नून पानीमा भिजाउने क्रम ३-४ हप्तासम्म गरिरहनुपर्छ ।
खाने सोडाको प्रयोग
खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर औंलाका कापमा लगाई केहि बेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ ।
मरेको छाला हटाउने
डल्लो र फोका उठ्न केहि कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनुपर्छ । अन्यथा यसबाट फेरि सङ्क्रमण हुन सक्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा ब्रशले वा खस्रो सुतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेष गरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नुपर्छ ।
Post a Comment