0

रुवाउनु रुवायो साझा बसले

केही महिनापहिले साझा बसले १२ वर्षपछि फेरि आफ्नो सेवा थालनी गर्ने भन्दा रमाउने काठमाडौंबासी को नै पो थिएन होला र ! तर, त्यही चार्म अहिलेसम्म साझा बसले भने राख्न सकेको छैन । उत्पातै ठ्रूलो कुरा हुन लागेजसरी साझा बस चल्ने बेला हामीले सामाजिक सञ्जाल र पत्रपत्रिकामा लेख्यौं, पढ्यौं । तर, अहिले आएर बल्ल पो थाहा हुन थालेको छ, साझा बसबाट हामीले जे अपेक्षा गरेका थियौं, त्यो महत्वकांक्षा पो रहेछ । काठमाडौंको अस्तव्यस्त ट्राफिक समस्यालाई साझा बसले केही भएपनि सहज बनाउने हो कि भन्ने पनि लागेको थियो । किन नलाग्नु, साझा बसका हाकिमहरुले आफ्ना अन्तर्वार्तामै पनि साझा बसलाई अब सबैको प्यारो बनाउने र आफ्नै गाडी भएकाले पनि गाडी थन्क्याएर साझा बस प्रयोग गर्ने बताएका थिए । त्यस्तो चर्को अन्तर्वार्ता पढेपछि साझा बसले साझा यातायातमा नयाँ क्रान्ति नै ल्याउने भएछ भन्ने पनि लाग्यो । शुरुका दिनमा त ल्याएकै होकि जस्तो पनि थियो ।


तर, केही महिना भएपछि नेपालमा जुन कुराको पनि वास्तविक स्वरुप देखिन सक्दो रहेछ भन्ने साझा बसका आजभोलिका कुराले देखाउन थालेको छ । समयको मात्र होइन, साझाका स्टाफको व्यवहार देखि बसै नआउने समस्यासमेत आजभोलि प्रत्यक्ष देख्न थालिएको छ ।

 समस्याहरुमा केन्द्रित हुन चाहन्छु । म कलंकी नजिकै स्यूचाटार गेटमा बस्छु, मेरो अफिस एयरपोर्ट नजिकै छ । प्रायः पत्रिकाको काम साँझमा हुने भएकाले म ४ बजेतिर अफिस जान्छु, साँझ ८ बजेको हाराहारीमा अफिसबाट निस्कन्छु । एयरपोर्टबाट साझाबस कलंकी जाने भएपछि मलाई आफ्नो साधान प्रयोग पनि गर्न पर्दैन, अफिसको गाडी पनि कुर्नुपर्दैन भन्ने लागेको थियो । साझा बस चढेर जाँदा सजिलै राम्रोसँग कलंकी पुगिने भएकाले मैले त्यही विकल्प रोजेँ । साझा बसको यात्रा पनि हुने, छिटो पनि पुगिने, कति रमाइलो । शुरुका दुइचार दिन त्यस्तै लागेको थियो । तर, त्यस्तो रहेनछ ।

एक दिन म अफिसबाट राति ८ः०५ मा निस्केँ । एयरपोर्ट गेट पुग्दा त्यस्तै ८ बजेर ११ मिनेट गएको थियो होला । साझा बस ९ बजेसम्म यात्रुको सेवामा लाग्ने भन्ने पत्रपत्रिकामा पढेको थिएँ । त्यसैले, एकछिन कुरौं न त भनेर साझा बस कुर्नतिर पो लागेँ म त । ८ बजेर ३५ मिनेट जाँदा सम्म पनि साझा बस नआएपछि मैले साझा बसको टोल फ्रि नं १६६००१७७७७७ मा फोन गरेँ । त्यो नम्बर पनि १९७ मा फोन गरेर सोधेर पत्ता लगाएको । फोन उठे पो ? तेस्रो पटकमा भने फोन उठ्यो । म बुझेर फोन गर्छु सर तपाईंलाई भनेपछि म ढुक्क भएँ । अन्तिम साझा बस छुट्ने ८ः३० मा रहेछ भन्ने पनि त्यतिबेला नै थाहा पाएँ । मनमा प्रश्न उठ्यो, किन अन्तर्वार्तामा नौ बजे, एघारबजे जस्ता कुरा भनेका होलान् ?
sajha (14)
९ बजेसम्म कुर्दा पनि फोन आएन । फोन नआएपछि मैलें फेरि फोन गरेँ । उताबाट त्यो दिन साझा बस नआउने कुरा आयो । छुट्न त ८ः३० मा छुट्ने हो रे तर त्यो दिन नआउने भयो रे । भर्खरैमात्र साझा बसको अफिसमा थाहा भएछ । जति माया थियो, त्यो दिन १५ प्रतिशत माया घट्यो । समयको कुनै ख्याल नै रहेनछ । भन्न चाहिँ साझा बस ‘पन्च्युएल’ भन्ने नारा लगाइन्छ ।

अर्को एकदिन फेरि अर्को घटना भयो । त्यस्तै ८ः३५ तिर एयरपोर्टको गेट अगाडि साझा बस आयो । म साझा चढेँ । तर, अचम्म भयो । साझाका सहायक त कलंकी नजाने पो भन्छन् बा । किन ? उनीसँग कुनै उत्तर नै छैन । त्यसपछि मैलें फेरि त्यो टोल फ्रि नम्बरमा फोन गरेँ । त्यहाँबाट साझाका ड्राइभरलाई फोन आयो । उनले गाडीमा जम्मा ५ जना भएको भने । तर, गाडीमा १५–२० जना जति थिए । आखिर जे भएपनि एयरपोर्टबाट छुटेको अन्तिम गाडीले हामीलाई थापाथलीमा झारिदियो । त्यो गाडीका ड्राइभर र सहायकले प्रयोग गरेको रुखो बोलीले मलाई अचम्म बनायो । मलाई लागेको थिएन, साझाका स्टाफ त्यति नमिठो बोल्लान् । त्यही दिन अर्को १५ प्रतिशत माया घटेको हो साझाको ।

अर्को घटनाले मेरो अर्को १५ प्रतिशत माया घटाएको छ । त्यो झन् सबैको चासोको विषय हो । ७ बजेतिर साझा चढेर म कलंकी जादैं थिए एयरपोर्टबाट । बानेश्वरबाट एकजना दिदी चढिन् र मेरो सिटको छेउमा बसिन् । पैसा उठाउन आए सहयोगी । ती दिदीले कति हो भनेर सोधिन् । सहायकले १७ रुपियाँ भने । ठिकै हो, अरु गाडीमा भएको भए १८ लिन्थेँ भन्ने लाग्यो । ती दिदीले १७ रुपियाँ दिइन् । ति सहायकले १५ रुपियाँको पो टिकट दिए त । लिनचाहिँ १७ रुपियाँ लिने अनि बिल १५ रुपियाँको दिने ? मैलें सोधेपछि उनको जवाफ थियो, ‘एकएकजनालाई बिल बनाएर सकिन्छ त ?’ लौ, साझाको नियम नै रहेछ त्यस्तो । धेरै पैसा लिने अनि थोरैको बिल दिने ? कस्तो सिस्टम बसाल्न खोज्दै छ साझा ? अर्को एकदिन पनि त्यस्तै भएको थियो, मसँग कलंकीबाट आउँदा २० रुपियाँ लिएर १५ रुपियाँको टिकट दिएका थिए । मैलें के भनूम, राम्रो बोल्नुपर्ने सहायकहरु आफैं धेरै कुरा जान्ने जस्तो गर्दै रुखो स्वरमा बोल्छन् ।

अर्को एकदिन झन् रमाइलो भएको छ । त्यो दिन ठ्याक्कै डेढ घन्टा कुर्दासम्म साझा बस आएको छैन । एकदिन कान्तिपुर दैनिकको कार्यालय गएको थिएँ, व्यक्तिगत काम थियो । कामसकेपछि दिउँसो २ बजेतिर बाहिर निस्केँ । कलंकी जानुपर्ने र खुला हुने भएकाले मेरो रोजाइमा साझा नै थियो । बाहिर बाटोमा कुरेँ । ३५ मिनेटसम्म पनि साझा बस नआएपछि त्यही टोल फ्रि नम्बरमा फोन गरेँ । उनीहरुले आउने बताएपछि एकछिन अरु कुरेँ । आए पो । घडी हेरेको ठ्याक्कै डेढ घन्टा कुरिएछ । त्यसपछि फेरि त्यही टोल फ्रि नम्बरमा फोन गरेँ, उनीहरुले २ बजेयता ३ वटा गाडी गइसकेको पो भन्छन् बा । भाउन्न भयो । चर्को घाममा डेढ घन्टा बाटोमा कुर्ने म, उनीहरु झन् ठूला कुरा गर्ने ? त्यसपछि मेरो साझाबस प्रतिको विश्वास टुट्यो । अर्को १५ प्रतिशत माया कम भयो ।
अझै कतैकतै थोरै भएपनि साझाप्रति माया यो मनमा छँदैछ । तर, समय, विश्वास, व्यवहार, जस्ता कुरामा माया नलाग्ने भइसकेपछि बाँकी रहेको थोरै माया पनि कहिले सकिन्छ, के थाहा ?

Post a Comment

 
Top