0

आमा–बाबुले फालेका बालकलाई पाल्छु भन्नेले पनि छाडे

 साउन १९ –आमाको न्यानो काख र बाबुको मीठो मायामा हुर्कनुपर्ने एक बालक धेरैजनाको हात र काख हुँदै अहिले बालगृहमा पुगेका छन् ।

जन्म दिने आमाले  जंगलमा र बाबुले अस्पतालमा अलपत्र छाडेपछि पाल्छु भन्दै लगेका दम्पतीले समेत उनलाई फिर्ता गरेका हुन् ।
१३ महिनाअघि नवलपरासीको गैंडाकोट – ३ मा जन्मेका बालकलाई गएको जेठमा आमा मिना पौडेलले प्रेमी भेट्न जाँदा पर्वतको मुडिकुवाको जंगलमा छोडेकी थिइन् ।
प्रहरीले २२ घण्टापछि उद्दार गरेर अस्पताल पुर्‍याएपछि बाबु कृष्णबहादुर पौडेल र बागलुङ्गको बलेवामा रहेका आफन्तले समेत बालकको वास्ता गरेनन् । आमाले जंगलमा फालेका बालकलाई बाबुले मणिपाल शिक्षण अस्पताल पोखरामा छाडे । त्यसपछि बालकलाई जिल्ला प्रहरी कार्यालय पर्वतमा जिम्मा लगाइयो ।
प्रहरीको रेखदेख र हेरचाहमा रहेका बालकलाई पाल्छु भन्नेहरु धेरै देखिए । इच्छुक मध्ये आर्थिक हिसाबले सम्पन्न र पारिवारिक हिसाबले काठमाडौं कलङ्कीका निःसन्तान दम्पती (उनीहरुकै आग्रहमा नाम सार्वजनिक नगरिएको) लाई साउन ३ गते बालक हस्तान्तरण गरिएको थियो । बालक भिष्मलाई लिएपछि दम्पती अत्यन्त खुसी भएको थियो । ‘हामीले सन्तान पाएका छौ’ उनीहरुले भनेका थिए ‘मेरो कोखको सन्तानकै माया दिएर राख्छौं ।’  
तर मुखले बोलेको यो माया व्यवहारमा देखिएन । बालक भिष्म ब्रेन ह्यामरेजका कारण अपांग भएको पुष्टि भएपछि बाबु–आमाको रुपमा संरक्षणमा लिएका दम्पतीले उनलार्ई गरेका हुन् । फिर्ता गरेका बालकलाई काठमाडौंको धापासीस्थित हाम्रो बाल संरक्षण  धरोहर, नेपाल बालगृहले संरक्षणमा लिएको छ ।
सबलांग र सुस्त मनस्थितिका गरी दुवै खालका बालबालिकाहरुको संरक्षण गर्दै आइरहेको हाम्रो बालसंसार धरोहर नेपालकी अध्यक्ष रवीका कार्कीलाई पर्वतका कामु प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारीले शनिवार भिष्मलाई हस्तान्तरण गर्नुभएको हो । बच्चा ब्रेनह्यामरेजका कारण सुस्त मनस्थितिको भएपनि आफूले पालनपोषण र संरक्षण गर्ने अध्यक्ष कार्कीले प्रतिबद्धता जनाउनुभयो । अपांग भएपनि उसको बाँच्न पाउने अधिकार भएकाले बालगृहले यस्ता बच्चाहरुलाई संरक्षण दिदै आएको बताउँदै कार्कीले अनाथ, असाहय र अपांग बालबलिकाको संरक्षक बन्न पाएकोमा गौरव लागेको पनि बताउनुभयो । आफ्नो बालगृह अहिलेसम्म समुदायको सहयोगका भरमा चलेको उहाँले जानकारी दिनुभयो  । बालगृहमा अहिले १६ जना बालबालिका छन ।
‘बच्चा अपांग भएकाले म संरक्षक बस्न सक्दिन भनेर फिर्ता आयो’ बालअधिकार अधिकृत सागरप्रसाद उपाध्यायले भन्नुभयो ‘पछि परीक्षण गर्दासमेत अपांग पुष्टि भएपछि बालगृहलाई दिएका हौं ।’

प्रहरी दम्पतीको माया

जन्म दिने र पाल्छु भन्नेले माया गर्न नसकेपछि १३ महिने भिष्मलाई पर्वतका एक प्रहरी दम्पतीले आफ्नै छोराछोरीलाई जस्तैगरी पालनपोषण गरे । बालगृहले जिम्मा लिनुअघि मणिपाल शिक्षण अस्पतालले जिल्ला प्रहरी कार्यालय पर्वतलाई नै बालक जिम्मा दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पवर्तमा कार्यरत प्रहरी जवान बिनोद थापा र उहाँकी श्रीमती कृषा थापाले बालकलाई अहिले र यसअघि गरी ३३ दिनसम्म पालनपोषण गर्नुभयो ।
थापा दम्पतीले आफ्नो डेढ बर्षकी छोरी सँगै भिष्मलाई दूध खुवाएर राख्नुभएको थियो ।
‘मैले एउटा दूध छोरी र अर्को दूध भिष्मलाई खुवाएर राखे’ कृषाले भन्नुभयो ‘रातमा सुताउँदा पनि छोरी बिनीषा संगै सुताएको थिएँ ।’  
प्रहरी जवान थापा परिवारले बालकलाई दिनमा दुईपटक पर्वत जिल्ला अस्पतालमा पुर्‍याउने र घरमा स्याहार गर्दै आउनुभएको थियो । थापा दम्पतीलाई जिल्ला बालकल्याण समितिले अभिनन्दन गर्ने जिल्ला बालअधिकार अधिकृत सागरप्रसाद उपाध्याययले जानकारी दिनुभयो ।

Post a Comment

 
Top