मंसिर चार, कहाँसम्म सार !
मिलन तिमिल्सिना
अकबरे खुर्सानी मिसाएको अचारभन्दा कडा छ, आचारसंहिता । आचारसंहिता मात्रै हेर्ने हो भने मंसिरको चुनाव सफलतापूर्वक सम्पन्न भैसक्यो ।
रोकतोक, धाकधम्की, आरोपप्रत्यारोप, बुथ कब्जा, छेडछाड, धकेलाधकेल, लाठामुंग्री, बलबन्दूक, कहिँ कतै केहीको जोर चलेन । आचारसंहिताले नै रोकेपछि हुने कुरो पनि भएन । आचारसंहिताको व्यवस्थाले परिकल्पना गर्ने कुरा हो यो ।
अब एकछिन आचारसंहितालाई बिर्सेर असार–मंसिरको कुरा गरौं । असार र मंसिर, दुवै शब्दको पछिल्तिरका दुई अक्षर झण्डै उस्तै । सार र सिर । सार भनेपछि सार्ने नै भयो । सिर भन्दा पनि झण्डै सार नै भनेजस्तो लाग्छ । महिनाको नाममै सार र सिर झुण्डिएपछि तोकिएका तिथिमिथि सारिरहने बानी भएकाहरुलाई झनै सजिलो हुने भयो । अर्को अर्थमा शिर भनेको टाउको । मंसिरमा चुनाव भनेर अहिले टाउको मात्रै हल्लिएको अवस्था हो । सरकार र चार दलका टाउका । शरीरका अरु अंग सडकतिरै बरालिरहेका छन् ।
असार टाढा हुँदासम्म सबै असारमै चुनाव गर्नुपर्छ भनेर उफ्रेका थिए । प्रचण्ड कम्रेड त मनसुन नै रोक्न तम्सिएका थिए । तर जब जब असार आउन लाग्यो, अनि सबै चुपचाप लागे । अहिले फेरि मंसिर अलि टाढा छ । जनै पुर्नेदेखि तिहारसम्मका चाडपर्व सकेर आइपुग्ने महिना भएकाले त्यतिबेलासम्म त भैहाल्छ नि भन्नेमा एकथरी ढुक्क छन् ।
असारमा धान रोपाईं हुने बेला संविधानसभा चुनावको चाँजोपाँजो मिलेन । मौसमविदलाई समेत चुनौति दिँदै कम्रेड प्रचण्डले असारमा ढिलो मनसुन शुरु हुने भविष्यवाणी गरेका थिए । तर उनको भविष्यवाणीलाई मनसुनले नै चुनौति दियो । असार लाग्दा नलाग्दै मनसुन शुरु भयो । मनसुन शुरु हुँदानहुँदै मुसलधारे पानी पर्यो । पानी परेपछि भोट दिने जति धानतिर लागे । भोट माग्नेहरु संविधानको हरहिसाब गरेर यो र त्यो भनेर अल्झिरहेका छन् ।
असारमा पानी दर्केपछि मंसिरमा सबै खेततिरै फर्कनुपर्छ । फाँटभरी पाकेको धान छाडेर भर नभाको संविधानलाई सम्झने फुर्सद कसलाई मिल्ला ? त्यसैले मंसिर ४ नाम्लोबोरा बोकेर खेतमा मेला भर्ने सिजन हो । भोट दिन लाइन लाग्ने बेला होइन भनेर कम्रेड बैद्यलाई अझ राम्रोसित थाहा छ ।
रोक्ने, छेक्ने, भाँड्ने बाहेक अरु कुरा नजानेका बैद्य बा अझै ठेगानमा आएका छैनन् । न चारदलको कुरा सुनेका छन् । न सरकार र निर्वाचन आयोगका । चुनाव जित्न कि प्रचण्डसित घाँटी जोड्नुपर्यो, कि बन्दुक बोकेर अर्काको घाँटी ताक्नुपर्यो । प्रचण्डसित मिलौं भने खाइपाई आएका अध्यक्षमा दक्षता पुग्दैन । बन्दुक उचालौं भनेर ढुंगोभन्दा गर्हौं भैसक्यो । बरु बिरोध गर्यो, बस्यो । चुनावमा जाने भनेपछि त्यति चर्चा पाईंदैन । पाखुरा सुर्कंदै सडकमा उफ्रियो भने सबैले देख्छन् ।
बैद्य बाको चित्त नबुझ्दासम्म मंसिर ४ चुनावलाई फाप्दैन भन्ने जगजाहेर भैसक्यो । एकपटक फेरि पात्रो पल्टाएर हेरौं । बिहेको लगन असारपछि एकैपटक मंसिरमा छ । साउन र भदौ यसैपनि खेतबारीमा कामको चटारो छाडेर बिहेमा रमाउने फुर्सद कसैलाई मिल्दैन ।
असोजमा टीका लगाउने दिन एक दुईजनाले सिन्दूर हालेपनि अरु जमराअक्षता लगाएरै बस्छन् । कात्तिकमा त कुकुरको पालो । कुकुरको पालो मिचेर मान्छेले बिहे गर्न सुहाउने कुरो पनि भएन । अब मंसिर लागेपछि एकैपटक ३ गतेदेखि बिहेको लगन शुरु हुन्छ । ३ गते नि लगन छ, ४ गते नि ।
अब हेरौं है असारपछि एकैपटक ५ महिनापछि बिहे गर्ने बेला आएको । बिहेको रमझम छाडेर चुनावको रमितामा कसरी लाग्ने । बिहे गरे घरजम बस्छ, ९ महिनापछि सन्तान पनि हुन्छ । भोट दिन गए केही न केही । ९ महिनामा त के, ९ वर्षसम्म पनि संविधान जन्मने/नजन्मने ठेगान हुन्न । संविधान जन्माउनुपर्ने बेला तीन महिने सुई लगाएर छेकबार गर्छन् । हुँदै जाँदा गर्भ नै खेर फाल्छन् ।
त्यसैले, मंसिर ४– खलाको धान भकारीमा सार । मंसिर ४–हिउँ पर्न थालेपछि हिमाली भेगका मान्छे बेंसीतिर सर । मंसिर ४–वैद्य बाको सधैंभरी छेकबार । मंसिर ४–चुरीफुरी गर्ने दल मात्र चार । मंसिर ४–रेग्मीबाको हार । मंसिर ४–फेरि चुनाव सार !
Post a Comment