0

भगवानले भने, 'देउताकै गल्ती'

ममी, तपाईँ सधैँ भन्नुहुन्थ्यो, ‘छोरी, बरु तँ केही आइपरे सहन सक्छेस्, दाइ केही सहन सक्दैन । एकछिनमा आत्तिहाल्छ ।’
ममी तपाईँ अहिले कल्पनै गर्न सक्नुहुन्न । दाइसँग कति सहनसक्ने तागत रहेछ । सपनासरी तपाईँ हामीलाई छाडेर जानुभयो । मलाई अझै विश्वास हुँदैन, तपाईँ अब हामीसँग हुनुहुन्न । दिनभर मान्छेका भीडमा हराउँदा म आफू टुहुरो भएको यथार्थ पत्याउनै सक्दिन । बेलुका साँझको बत्ती बाल्दा, भान्छामा तपाईँले फलाएका तरकारी देख्दा, खाना पस्किँदा मात्रै मेरो मन भारी हुन्छ । तपाईँ साँच्चै हामी सँग हुनुहुँदो रहेनछ । तैपनि तपाईँको तस्बिर हेरेर प्रत्येक रात निदाउँदा आफूलाई सम्झाउन खोज्छु, तपाईँ यतै कतै अदृश्य रुपमा हुनुहुन्छ, हाम्रै साथमा ।
तपाईँलाई अपरेसन गरेर न्युरो हस्पिटलमा राख्दा मैले चिनेका सबै भगवान पुकारेको थिएँ । तपाईँले जीवनभर पुजेका सबै भगवान पुकारेर तपाईँको सास फिर्ता मागेको थिएँ । डाक्टरले त दाइ र मलाई भनेकै थिए, ‘उहाँको आस अब पाँच प्रतिशत मात्रै गर्नुस्, तपाईँ भन्नुहुन्छ भने हामी अपरेसन गर्छौं ।’ ममी, त्यो पाँच प्रतिशत आस हामी कसरी गुमाउन सक्थ्यौं!
दुई दिन दुई रात हस्पिटल राख्दा मैले घर आउँदाजाँदा पशुपतिनाथलाई पुकारेँ, उदाउँदो अस्ताउँदो सूर्यलाई खुब पुकारेँ । तपाईँले दाइलाई राम्रो हुन्छ भनेर १६ वर्ष अनवरत सूर्यको व्रत बस्नुभयो । मैले सूर्यलाइ सम्झेँ, चन्द्रमालाई हेरेर तपाईँको सासको आस गरेँ । बत्ती बाल्न मन्दिरमा जाँदा तपाईँले तीन धाम, चार धामदेखि ल्याएका भगवानका तस्बिर हेरेँ । नेपालमा घुमेका मन्दिरका सबै भगवानको तस्बिर हेरेर तपाईँको जीवन मागेँ । मैले भाकल कहिल्यै गरेको थिइनँ । मलाई त्यस्तो विश्वास पनि लाग्दैन थियो । तपाईँको जीवनको खातिर मैले भर्खरै पुगेको पाथिभरादेवीलाई भाकल गरेँ । ममी सकुशल घर फर्किए पाथिभरा देवीको मन्दिर पुर्‍याउँछु । म त्यति धेरै कहिल्यै आत्तिएको थिइनँ । त्यति कमजोर कहिल्यै भएको थिइनँ । त्यो बेला तपाइँले पुजेका भगवान पुकारे ।  दिदीले गुहेश्वरीमन्दिरमा मलाई लगेर दर्शन गराउनुभयो । मैले त्यो पनि मानेँ ।
तर, हाम्रो पुकार भगवानले सुनेनन् । समय हाम्रो लागि कठोर भइदियो । तपाईले सधैँ आस्था राखेको भगवान हाम्रो लागि कठोर भए ।  तपाईँको सास रहेन । सास भन्ने कुराले यति महत्व राख्दोरहेछ । तपाईँको शरीर ब्रह्मनालमा सुतेको बेला मैले थाहा पाएँ । शरीर त छँदै थियो, उही तपाइँको सास गुमेको थियो ।
ममी मलाई त्यसपछि भगवान पुकार्नै मन लाग्दैन । दिदीले भनेपछि म सधैँ तपाईको नाममा एक घडा पानी राख्छु । तपाईँले सिकाउनु भएजस्तै साँझको बत्ती सधैँ बाल्छु । म भगवानलाई सम्झन्न ममी । तपाईँ नै देउता हुनुभयो भन्ठान्छु । तपाईँलाई नै सम्झन्छु, छतको ठूलो ढोकाबाट तपाईँ अदृश्य भगवान भएर छिर्नुहोला भनेर धेरै बेर उघारो राख्छु ।  मैले पुकार्ने भगवान अब तपाईँ नै त हो ममी ।
तपाईँ गएको ४५ दिन पुगेको नयाँ वर्षको दिन छोरी जन्मिई । भाउजू अफिस जान थालेपछि बच्चालाई घर बसेर हजुरआमाको माया दिने कति कल्पना गर्नुभएको थियो तपाईँले । छोरी जन्मिएपछि मैले तपाईँलाई अस्पतालमै खुब मिस गरेँ । त्यही दिन बिहानै दाइले फेसबुकमा लेख्नुभएको थियो, ‘ममी, मलाई सबैभन्दा चाहिने समयमा तपाईँ मसँग हुनुहुन्न । मैले गरेर हुन्थ्यो भने मेरो रुवाइ र चिच्याइको भर्‍याङ बनाएर तपाईँलाई लिन स्वर्गमा आउने थिएँ ।’
हुने कुरा टारेर कहाँ टर्थ्यो र । मैले छोरी जन्मिएपछि सायद आफ्नो सजिलोका लागि उसको अनुहारमा तपाईँको रुप देख्न थालेको थिएँ । दाइलाई त्यही भनेँ पनि । छोरीको हातका रेखा हाम्रो ममीको भन्दा फरक छैन ।
मैले त्यसको अनुहारमा सधैँ तपाईँलाई खोज्छु ममी । एक महिनाकी नवजात उ काखमा लिँदा मलाई चिनेजस्तो आँखै नझिम्काई एकटक हेरिरहन्थी । धन्यवाद भगवान । कुनै बेला ममीको काखमा म हुर्किएको थिएँ । अहिले भाउजूको कोखबाट आएकी सानी नानी मेरो ममीको रुप लिएर मेरो काखमा आएकी छ । चित्त बुझाउने बाटो भगवानले सायद यसरी दिए ।
छोरी ४४ दिन पुगेको दिन थाहा भयो, उसको मुटुमा समस्या छ । मुटुको प्वाल सामान्य नै हो । अपरेसन गरेपछि ठीक हुन्छ । डाक्टरले उसको मुटुमा त्यो भन्दा ज्यादा समस्या देखाए । हामीले डाक्टर भगवान कोइरालालाई देखायौं । थुप्रैलाई भगवान नै साबित भएका कोइरालाले छोरीलाई त्यस्तो हुनुको जवाफ दिए, ‘यो देउताको गल्ती हो ।’ देउता सधैँ गल्ती किन हाम्रै लागि गरिदिन्छन्!
डाक्टरका जतिसुकै डरलाग्दो कुरा सुने पनि सामान्य बच्चाभन्दा ज्यादा फुर्तिली उसलाई देख्दा आशाको दियो हाम्रो मनमा बलिरहन्थ्यो । अहिले उ निस्प्राणसरी बेडमा लडिरहेकी छ । त्यो नवजात शिशुको शरिरभरि थुप्रै उपकरण जडिएका छन् । उसलाई बनाउँदा देउताले गल्ती गरे रे । हे दैव, तिमीले गरेको गल्ती तिमीले सच्याउनु पर्दैन?
अस्ति बिहान हेर्न बेडमा जाँदा उ आँखा क्षणक्षणमा उघारिरहन्थी । मुखले दुध खान खोजेजस्तो चलमलाइरहन्थी । हातहरु यताउता चलिरहन्थे । मन हलुंगा भएको थियो । छोरी चाँडै ठिक हुने भई । तर, हिजो बिहान डाक्टरहरुले कल्पनै नगरेको घटना भएछ । केही क्षणका लागि उसको मुटुको धड्कन नै बन्द भयो रे । डाक्टर भगवान् कोइराला बिहान ६ नै बजे भर्‍याङको तीन सिँढी फड्किएर उसको सास फिर्ता ल्याउन अपरेशन थिएटर पुगेछन् । आधा घन्टाको उनको प्रयास पछि उसको मुटु चल्न थाल्यो रे । त्यसपछि त्यो अवोधको शरिरमा कृतिम श्वासप्रश्वासको उपकरण जोडियो । मैले हेर्दा उ अचेत ढलिरहेकी थिई । १०० दिनअगाडि ममी न्यूरो हस्पिटलमा जसरी जीउभरी उपकरण सहित पल्टिरहनु भएको थियो, आज नियतिले ममीको रुप लिएर आएकी छोरी त्यसैगरी पल्टिरहेकी छ । म हिजोदेखि आस्था हराइसकेको भगवान् पुकार्नेबाहेक केही गर्न सकिरहेको छैन । हिजो साँझको बत्ती बाल्दा मैले थप दुई जोर बत्ती बाले । तै भगवानले यसपटक मेरो पुकार सुनिहाल्छन् कि ।
छैठी हेराउँदा ज्योतिषले भनेका थिए रे, ‘यति राम्रो नक्षत्र मिलेको चिना हामीले हत्तपत्त लेख्नै पाउँदैनौं । यो नानीको ग्रह साह्रै बलियो छ ।’
हे दैव, यति राम्रो ग्रह भएकी छोरीलाई किन यस्तो यातना दिएको ?
दाइ हामीलाई सम्झाइरहनु हुन्छ । समयमै थाहा पाइयो । चिन्ता गर्न हुँदैन । जे हुने छ, हुन्छ । दाइ धेरै बुझकी हुनुहुन्छ । उहाँ अब नियतिले जे पारी ल्याए पनि सहन तयार भएर बस्नुभएको छ । मान्छे परिपक्व हुने भनेको सायद कठोर हुनुरहेछ । तपाइँले भन्नुहुन्थ्यो 'अरुलाइ नराम्रो नगर्नेलाइ भगवानले कहिल्यै नराम्रो गर्दैनन् ।' ममि दाइलेऽ हामीले के त्यसतो नराम्रो गरेका रहेछौं, आज यस्तो दिन भोगिरहनुपरेको छ । भगवान् यदि छन् नै भने यसपटक पनि हाम्रा लागि कठोर भएका छन् । 
मातृशोक पाएको दुई महिनामै हामीले छोरीको यो गति हेर्न परेको छ । अहिले हस्पिटलमा बसेर बिरामीका कथा सुन्दा संसारमा स्वास्थ्य जतिको ठूलो धन केही होइन रहेछ भन्ने लाग्न थालेको छ । मलाई हेल्थ इज वेल्थ भनेको सधैँ क्लिसेजस्तो लाग्थ्यो । तर, अहिले जब हामी एउटी नवजातको सुस्वास्थ्यको कामना भगवानसँग गरिरहेका छौं तब थाहा हुँदै छ स्वस्थ हुनु जतिको ठूलो आनन्द अरु केही रहेनछ ।
बेडमा छोरीलाई देख्दा छातीमा घनले ठोकेजस्तो पीडा हुन्छ । तैपनि दाइ हामीलाई सान्त्वनाका शब्द दिनुहुन्छ । दाइले कसरी मन बाँध्नुभएको होला । तपाईँले भनेजस्तो वज्रको छाती मेरो होइन, दाइको रहेछ । ममी तपाईँ हामी सँगै भए भन्नुहुँदो हो, ‘संसारको जस्तो विपत पनि मेरो छोराले सहन सक्छ ।’

Post a Comment

 
Top