0

युवती र बालकबिचको विवाह तोडियो

अधिकारकर्मीहरुको विरोधपछि बालक र युवतीबिच भएको विवाह छुट्टिएको छ । सुनसरीको इटहरीमा २५ वर्षकी एउटी युवती र १५ वर्षको बालकले भागेर विवाह गरेपछि उत्पन्न विवाद शनिबार सहमतीपछि टुंगिएको हो ।
गत सोमबार सुनसरीको झुम्कास्थित मन्दिरमा युवतीपक्षका आफन्तहरुको रोहवरमा इटहरी ९ का १५ वर्षिय सुनिल सरदार र इटहरी ७ की २५ वर्षिया सुमित्रा सरदारबिच विवाह गरिएको थियो । उक्त विवाहलाई केटापक्षले नस्वीकार्ने अडान लिएपछि दुवैलाई आफ्नै आफ्नै परिवारले जिम्मा लिने सहमती भएको हो ।
विवाहपछि दुवै एकअर्कासँग बस्न राजी देखिएपनि बालक पक्षले आफ्नो नाबालक छोरालाई युवतीको परिवारले अपहरण गरेर विवाह गराएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएपछि विवाद उत्पन्न भएको थियो । यता अधिकारकर्मीहरुले पनि नाबालकको विवाह कानुनविपरीत हुने भन्दै विरोध जनाएका थिए ।
लेबर काम गर्ने दुवै जनाको कामकै सिलसिलामा भेट भएको थियो । प्रेम सम्बन्धै कारण दुवै जनाले सहमतीमा विवाह गरेका थिए ।
प्रहरीले बालक तथा युवतीलाई पक्रेर एक रात थुनामा समेत राखेका थिए । दुवैको राजीखुसीमा विवाह भएकोले बुहारी स्वीकार्नुपर्ने दबाब दिएका युवतीपक्षले पछि महिलाअधिकारकर्मी समेत गुहारेका थिए । पछि प्रहरीको मध्यस्थतामा भएको संयुक्त छलफलमा कानुन विपरीत देखिएकोले दुवैलाई आफ्नो आफ्नो परिवारको जिम्मा लगाइ छाडिएको अधिकारकर्मी मेघराज पोख्रेलले बताए ।
नेपालको कानुनले दुलहा हुनको लागि २० वर्ष तोकेको छ । नेपालको कानुनमा स्पष्ट व्यवस्था भएपनि पछिल्लो समयमा प्रेममा परेर बालक उमेरमै विवाह गर्ने क्रम बढेको छ । विवाह गरेका जोडीलाई छुटाउने वा नछुटाउने भन्ने विषयमा समेत अन्यौलता छ ।

Post a Comment

 
Top