0

समाचार नबनेको एउटा तस्बिर

 साउन २० 

 एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई सामाजिक सञ्जाल राम्रोसँग प्रयोग गर्ने नेतामा संभवत एक नम्बरमा पर्नुहुन्छ ।

फेसबुक र ट्वीटरमा उहाँले पोष्ट गर्ने विचार वा सामाग्री नेपाली सञ्चार माध्यममा ‘हट केक’जस्तै बन्ने गरेका छन् । उहाँले सामाजिक सञ्जालमा प्रवाह गर्ने विचारबाट समाचार बनेर त्यसमा निकै क्रिया–प्रतिक्रिया सार्वजनिक पनि भएका छन् ।
तर साउन ९ गते डाक्टर भट्टराईले फेसबुकमार्फत सार्वजनिक गरेको एउटा तस्बिरको कुनै समाचार बनेन । जुन नेपाली राजनीतिमा एउटा दुर्लभ तस्बिर थियो । त्यो तस्बिर संयोगको परिणाम मात्रै थियो, शायद योजना बनाइएको भए सफल पनि हुने थिएन होला र त्यसको कारण हो, तस्बिरमा रहेका व्यक्तिहरुको एक अर्काप्रतिको नकारात्मक दृष्टिकोण ।
प्रसंग हो, डाक्टर भट्टराईले नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको अन्तिम संस्कारका बेला आर्यघाटमा खिचेर सार्वजनिक गरेको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कम्यूनिष्ट आन्दोलनका वरिष्ठ नेता एवं नेकपा मसालका महामन्त्री र स्वयं भट्टराईको तस्बिरको । मोहनविक्रम सिंहलाई प्रचण्ड र भट्टराईका राजनीतिक गुरु मानिन्छ । स्वयं भट्टराईले मोहनविक्रम आफ्नो र प्रचण्डको ‘साझा राजनीतिक गुरु’ रहेको फेसबुकमार्फत् स्वीकार पनि गर्नुभएको छ । तर प्रचण्ड र मोहन विक्रमबीचको सम्बन्ध ‘दुश्मन’को जस्तो पाईन्छ । सकेसम्म उनीहरु एक अर्कालाई भेट्न र बोल्न पनि चाहन्नन, तस्बिर त धेरै टाढाको कुरा । पाँच वर्षअघि कलंकीमा यी दुई नेता एउटै कार्यक्रममा सहभागी भएपनि बोलचाल भएन् । यसले नै पुष्टि गर्छ, उनीहरुबीचमा कति तिक्तता छ भन्ने । उनीहरुबीच  २८ वर्षमा दुर्लभ मात्रै भेटघाट  र बोलचाल भएको छ । मोहन विक्रमसिंहका अनुसार त यो २८ वर्षमा दोस्रो भेट हो र तस्बिर चाहिँ जिन्दगीकै पहिलो ।
‘पहिले दिलबहादुर श्रेष्ठजीको अन्तिम संस्कार (गएको माघ)मा भेट भयो यसपटक नरबहादुरजीकोमा’ प्रचण्डका राजनीतिक गुरु मोहनविक्रम भन्नुहुन्छ ‘०४२ सालमा पार्टी फूटेपछि हाम्रो भेट भएको थिएन् ।’ नेपालका धेरैजसो नेताहरुले भूमिगत कालमा पनि विभिन्न किसिमका तस्बिर खिचेका छन् । तर मोहनविक्रम र प्रचण्डले सँगै तस्बिर खिचाएनन । ‘हामी पार्टीमा सँगै छँदा फोटो खिच्ने नीति थिएन, खिचेनौं, पछि अलग भयौं ।’ प्रचण्ड र आफूले पहिले तस्बिर नखिचेको र भट्टराईले फेसबूक मार्फत सार्वजनिक गरेको तस्बिर नै पहिलो भएको पुष्टि गर्दै उहाँले भन्नुभयो ‘यो हाम्रो पहिलो फोटो हो ।’

पूर्वाग्रह नै समस्या

मोहनविक्रम सिंह र प्रचण्ड एक अर्काका कटु आलोचक मानिन्छन् । एक अर्काको राजनीतिक लाईनका आलोचक प्रचण्ड र सिंहबीच पार्टी फूटेपछि राजनीतिक बहस पनि भएको छैन । ०४२ सालमा पार्टी फूटेपछि लगातार एक अर्काको आलोचना गरेपनि उनीहरुले राजनीतिक लाईनका विषयमा कहिले पनि एक ठाउँमा बसेर छलफल समेत गरेका छैनन् । कर्माचार्यले मरेर जुराईदिएको भेटमा पनि उनीहरुबीच देश र राजनीतिका विषयमा कुराकानी भएन् । ‘राजनीतिको कुनै कुराकानी भएन ।’ आर्यघाट भेट र तस्बिरका विषयमा मोहनविक्रम सिंह भन्नुहुन्छ–व्यक्तिगत सञ्चो बिसञ्चोको कुरा मात्रै भयो ।’
मोहनविक्रम प्रचण्डलाई ‘पपुलिष्ट, धुर्त, छट्टु र आफ्नो स्वार्थका लागि जे पनि गर्ने’ नेताका रुपमा बुझेर त्यसै अनुसार आलोचना गर्नुहुन्छ भने प्रचण्ड मोहन विक्रमलाई ‘जडसुत्रवादी र काम नगर्ने कुरा मात्रै गर्ने बात बहादुर’ भन्नुहुन्छ । ईतिहासमा उनीहरुले एक अर्काको आलोचनामा खर्चेका शब्द हेर्ने हो भने त्यो प्रष्ट हुन्छ ।  प्रचण्डले त बहुचर्चित शक्तिखोर भीडियोमा मोहन विक्रमलाई ‘स्वास्नी फेर्दै हिंड्ने’ भनेर टिप्पणी समेत गर्नुभएको छ ।
त्यतिमात्रै होईन, प्रचण्ड नेतृत्वको पार्टीले मोहनविक्रमलाई ‘सामन्तको छोरो, राजा त्रिभुवनको वर्गबन्धु, गर्भमै मर्न नसकेको’ पनि भनेको पाईन्छ । दुई जनाबीचको  सम्बन्ध ०४२ सालमा तत्कालीन नेकपा मशालको फूटपछि बिग्रेको हो । ‘पहिले राम्रो नै थियो । प्रचण्डजी मोहनजीको विश्वास पात्र जस्तै हुनुहुन्थ्यो’नेकपा एकीकृतका नेता एवं नेकपा मशालका तत्कालीन नेता रामसिंह श्रीस भन्नुहुन्छ ‘तर २०४२ सालमा प्रचण्डजी मोहनजीलाई कारवाही गर्न कस्सिएर लागेपछि सम्बन्ध बिग्रेको हो ।’ २०४२ सालमा प्रचण्डहरुकै पहलमा मोहनविक्रममाथि कारवाही भएपछि पार्टी फूटेको थियो । ‘आग्रह पूर्वाग्रहले समस्या ल्याएको हो’ श्रीसले भन्नुभयो ‘प्रचण्डजी पनि आफू स्थापित हुन अरुलाई नांगेझार पार्न लाग्नुहुन्छ, मोहनजीको पनि अरुलाई नसहने बानी ।’ मोहन विक्रम मार्फत नै प्रचण्ड युवक संघ हुँदै पार्टीमा आएको श्रीस बताउनुहुन्छ ।
पाँचौ महाधिवेशनमा पार्टी फूटेपछि मोहन विक्रमले प्रचण्डहरुलाई मध्यपन्थी अवसरवादी भनेर निकै आलोचना गर्नुभयो, जनयुद्धको पनि चर्को विरोध गर्नुभयो । ‘प्रचण्डलाई मोहन विक्रम छट्टु ठान्छन् प्रचण्ड पनि त्यसको प्रतिवादमा उत्रे’  राजनीतिक विश्लेषक मुमाराम खनाल भन्नुहुन्छ ‘मध्यपन्थी भन्दै गरिएको चर्को आलोचना र जनयुद्धको विरोधले दुरी झन बढाउँदै लग्यो ।’ दुई नेताबीच भेटघाट र छलफल नहुनुमा ‘ईगो’ले धेरै काम गरेको विश्लेषण छ, दुवै जनासँग एउटै पार्टीमा काम गरेका भरत दाहालको । ‘एमबी (मोहन विक्रम)को प्रतिभा र अरुमाथि आएको देख्न नसहने बानी’  दाहाल भन्नुहुन्छ ‘प्रचण्डचाहिँ हदै महत्वाकांक्षी । यसैले टसल भयो ।’
- तस्बिर साभार : डा. बाबुराम भट्टराईको फेसबुकबाट

Post a Comment

 
Top