पेन्टर, टेलर र कालीगढ शायर
, श्रावण २० - अब्दुल लतिफ शौक उर्दू साहित्यका हस्ती हुन् । यी शायरको ख्याति नेपालगन्जमा मात्र हैन, मुस्लिम बहुल तराईका जिल्ला हुँदै काठमाडौंसम्म पुगेको छ । सीमावर्ती भारतीय सहरहरू बहराइच, नानपारा र बाबागन्जमा पनि उनले थुप्रैपटक 'मेहफिल' जमाएका छन् । उनी सहरका पुराना नाम चलेका सुनचाँदी गहना कालीगढ पनि हुन् । यहाँका सुनचाँदी व्यवसायीहरू सम्झिन्छन्, उनले बनाएका गहनाका डिजाइनहरू । उमेर ढल्किँदै जाँदा उनी सुनमा बुट्टा कुँद्नभन्दा धेरै कविगोष्ठी र मुशायरामा देखिन थालेका छन् ।
मोहम्मद अमिन खयाली अर्का त्यस्तै चर्चित शायर हुन् । मुशायरामा उनको पालो आउनासाथ एकनासको आवाज आउँछ- वाह्-वाह्, वाह्-वाह् । तर, उनको असली पेसा भने पेन्टिङ हो । लोकप्रियताको खुड्किलो उक्लिँदै गरेका मुस्तफा कुरैसी 'अहसन' अचेल पनि दिनभर कपडा सिलाउँछन् । साँझ मन बहलाउन मुशायरा धाउँदा-धाउँदै उनले पनि उचाइ बनाइसकेका छन् । नेपालगन्जमा हुने उर्दू साहित्यिक गतिविधि उनैले संयोजन गर्दै आएका छन् ।
डीएसपीरोडका मोहम्मद अमिन खयालीको शायरबाहेक अरू दुई परिचय छन्, मौलाना र पेन्टर । रंगहरूसँग ३३ वर्षदेखि खेले । तस्बिर दुरुस्त उतार्ने कला छ उनीसँग । जतिसुकै दुरुस्त हुन् आखिर तस्बिरहरू निष्प्राण हुन्छन् । उनी भन्छन्, 'इस्लाम धर्मको हुकुम छ- प्राण भर्न सक्दैनौ भने तस्बिर नबनाऊ । त्यो 'हराम' हो ।' तैपनि, मौलाना खयालीले ग्राफ पेन्टिङलाई पेसा बनाएर रिटायर्ड भए । त्यसैले यो गर्मी सहरका उनी पेन्टरभन्दा बढी शायर हुन् । तस्बिरमा मुस्कान, आँसु र हाउभाउ दुरुस्तै उतार्थे । अहिले मान्छेका भावना उतार्दैै छन् । 'भावना भन्नुको अर्थ, प्रेम -विछोड, दु:ख-सुख, उतारचढाव हैन ?' ६५ वषर्ीय खयाली भन्छन्, 'गजलमा भावना उतारिन्छ ।'
तीन दशकमा उनले दस हजारभन्दा धेरै तस्बिर बनाए । उनले अर्डरबाहेक एउटै पनि तस्बिर बनाएनन् । अहिले एउटा पनि छैन । सबैभन्दा धेरै स्वर्गीय राजा वीरेन्द्रका तस्बिर बनाए, झन्डै ८ सय जति । पञ्चायतकालमा पारिश्रमिक पनि राम्रै हुन्थ्यो । ५/१० हजार एउटाको । ती तस्बिरहरू सरकारी कार्यालयहरूमा टाँगिए, पञ्चायतसँगै तोडिए र हटाइए पनि होलान् ।
त्योभन्दा धेरै जनकपुर चुरोट कारखानाबाट उत्पादित चुरोटको विज्ञापन बोर्डहरू बनाए । १०-१५ वर्षअघिका याक, गैंडा र कोसेलीका होडिङ बोर्डहरू धेरैजसो यिनै खयालीले बनाएका हुन् ।
कारखानाले उनलाई करारमा नियुक्ति दिएरै बोर्ड बनाउन लगाएको थियो । त्यो बेला उनका लागि धनकुटा, पोखरा, सुर्खेत त पानी पँधेरोझैं थियो । पेन्टिङ उनका लागि कला थियो । पछि त्यो परिवार पाल्ने व्यवसाय बन्यो । मौलाना बनेर मदरसामा पनि पढाए उनले । तर, उनको मनले पेन्टिङमै तान्यो ।
भारत पुगेर मौलाना बनेपछि अरबी र फारसी पढाउन सुरु गरे । त्यतिखेर उनी २५ वर्षका थिए । अक्षर राम्रा थिए, उनी चित्र राम्रो कोर्न सक्थे । कसैले भन्यो- पेन्टिङबाट धेरै कमाउन सकिन्छ । उनी त्यतै तानिए । त्यो बेला मुरादावादको 'हेना आर्ट' सर्वाधिक चर्चित थियो । चर्चित पेन्टर मोहम्मद अली आफंै सिकाउँथे । खयाली 'हेना' कै प्रोडक्ट हुन् ।
अचेल उनी के लेख्छन् ? प्रेम, विछोड वा अरू केही ? उनी मुस्कुराए, 'प्रेम लेख्ने उमेर ढल्क्यो, अहिले समाज हेर्दै छु ।' गजलको भावको छुट्टै उमेर हद तोकेका छन् उनले । १५ देखि २५ वषर् सम्म प्रेम, २५ देखि ३५ सम्म विछोड वा पीडा र ४० लागेपछि शायरले समाजिक विषय रोज्छ रे ! 'उमेर ढल्किँदै गएपछि समाज र राजनीतिप्रति घोचपेच गर्न मन लाग्छ,' खयाली भन्छन् ।
माहोल हेरेर तत्काल रच्न 'फिलबदी' उनी सक्छन् । तर, नेपालगन्जमा मुशायरा हुन छाडेको वषौर्ं भयो । धेरै त सशस्त्र द्वन्द्वले माहोल बिगार्यो । शान्ति प्रक्रियापछि केही सुरु भएको थियो, अचेल त्यति हुन्न । धन्न लेख्दै छन् शायरहरू । नोक्सान पुर्याउँदैन, त्यसैले पनि हुन सक्छ । खयाली खल्ती छाम्छन्, डायरी पल्टाउँछन् जहाँतहीँ उर्दू लिपिमा लेखिएका शायरी छन् । सिरानीमुनि वा टेबलमाथि एक-से-एक शायरी छन् । कति पुग्ो होलान् ? 'भावनाको के गिन्ती' उनी फेरि मुस्कुराए, 'अनगिन्ती ।'
'करो तो फैसला पहिले अधेरें से निकलने का
ये तब देखों कि देते है सितारे रोसनी कैसी ।
जब अपनी आपही से बेखबर हम है खयाली तो
बताए क्या गुर्जती है किसीकी जिन्दगी कैसी ।'
६ छोरा र ५ छोरीका बाबु अब्दुल लतिफको पुस्तैनी पेसा सुनचाँदीका गहना बनाउनु हो । उनले आफ्नो सीप वषौं त्यसमा खर्चे । गहना कालीगढीमै धेरै प्रशंसा बटुलेका उनलाई नगरका प्रतिष्ठित सुनचाँदी पसलहरू अझै सम्झिन्छन् । उनले आकर्षक गहना कुँदे, सुन उजिल्याए । उनका तीन छोरा अझै त्यो पेसामा छन् । तर, उनलाई भने मुशायरा र कविगोष्ठीले फुर्सद छैन । कालीगढीसँगै सुरु गरेको गजलहरू संकलित दुई डायरी भने अब्दुलले हराए । त्यसको डेढ वर्ष त्यसै रनभुल्लमा भए । दुई दशकदेखिको मेहनत त्यसै खेर गयो । समय सन्दर्भ दर्साउने उनका झन्डै तीन सय गजल कृतिहरूले हराएका डायरीसँगै अकालमा मृत्युवरण गरे । तर, उनी अहिले पुरानै रफ्तारमा फर्किसकेका छन्, हराएका गजल सम्झिन्दै सारेका केही र नयाँ गजलको संग्रह 'महकते जख्म' (मगमगाइरहेका घाउहरू) प्रकाशन गरेर ।
'अँधेरों ने लुटा है हमको वहाँ पर
चमकते रहे चाँद-सुरज जहाँ पर ।'
नेपालगन्ज-१५ इदगाहरोडस्थित घरबाट हराएका ती डायरी कसरी हराए ? ७४ वर्षीय दिमागले ठम्याउन सकेको छैन । ती दुई डायरीसँगै, उनको जीवनका अनेक रंग र तरंग जोडिएका भावनाहरू भने हराएका छन् । अब्दुलले वाह-वाही पाएका गजलहरू प्राय: तिनै डायरीमा थिए । ०४७ सालदेखिका रचनाहरू त्यसमा थिए ।
टोलकै मदरसा सत्तारिया, अहिलेको फैजुनबीबाट ५ कक्षासम्मको अध्ययन पूरा गरेका उनी राम्रो उर्दू लेख्न सक्थे । बिहे हुँदा उनको उमेर २० वर्ष थियो । त्यो बेला उनी उर्दू साहित्य अनुरागी भइसकेका थिए । लेख्ने अभ्यास गरे । उनका बालसखाहरू फारुक अहमद आरिफ, मोहम्मद युनुश अदिब, रसुल मोहम्मद आरजुको वाह-वाही थियो । उनीहरूकै संगतले अब्दुललाई गजल कोर्ने बनायो । सुरुमा उनले गुलाम वारिस गौरलाई ती रचना देखाउँथे । पछि नानपाराका बासिफुल कादरीबाट धेरै सिकेको उनी बताउँछन् । अग्रजले काटछाँट गरेर गजललाई आकार दिएपछि खुसीले दंग परेका क्षणहरू सम्भि“mदा अब्दुल मुस्कुराउँछन् । अब्दुल मुशायराका लागि भारतका बहराइच, नानपारा, मुरदावाद, बालापुर, गोन्डादेखि लिएर देशभित्रै पनि पटक-पटक विराटनगर र जनकपुर पुगेर जमेका छन् ।
मुस्तफा कुरैसी अहसनको दैनिकी 'पपुलर टेलर्स'बाट सुरु हुन्छ । २५ वर्ष उनले त्रिभुवन चोकमा टेलरिङ चलाए । तर, ०५४ सालको हिन्दू-मुस्लिम दंगामा उनको वर्षौं पुरानो टेलरिङ पसल तोडफोड भयो, लुटियो । अराजक भीडले काउन्टर जलायो । भागेर छेउकै हिन्दूको घरमा छिरे । त्यो क्षण सम्झिंदै मुस्तफा भन्छन्, 'त्यो दंगा देखेर मन दुख्यो । रोएँ म । दंगामा कोही कसैको आफ्नो हुँदो रहेनछ ।' त्यो दिनदेखि उनलाई त्रिभुवन चोकमा टेलर्स चलाउन मन लागेन । कुरैसीनगर टोलको घरमै सारे । अहिले उनी घरकै सटरमा पपुलर टेलर्स चलाउँछन् । फुर्सद हुनासाथ उनी कापी-कलम खोज्छन् । अलि धेरै नै फुर्सद भए घरमा छिरेर १४ वर्षीय अपाङ्ग छोरा अमीरलाई स्याहार्छन् । अरू तीन छोरा हुर्किसकेका छन् । एउटा मोबाइलको मर्मत पसल चलाउँछन् अर्काको मेडिकल छ ।
मदरसा सत्तरियाबाट आठ कक्षा पास गरे । लगत्तै भारतको अलिगढ उर्दू विश्वविद्यालयबाट अदिब -एसएलसी सरह) उत्तीर्ण मुस्तफाले फर्केपछि सडकछेउ फुटकर पसल गर्ने बुवालाई सघाए । अरू व्यापार गर्न पैसा थिएन । त्रिभुवनचोकमा अरूको टेलर्समा बसेर सिलाइकटाइ सिके । एक महिनामै आफ्नै टेलर्स खोले । 'काम गरेर दिक्क हुँदा मन बहलाउन उर्दू गजल लेख्न थालेको हुँ,' मुस्तफा भन्छन्, 'तर, अचेल मनै गजलमय छ ।' अब्दुल लतिफ शौकलाई उनी आफ्नो गुरु मान्छन्, उनैले मुस्तफालाई गजल लेख्न प्रेरित गरे, सिकाए । उनको गोजीमा कलम र कागजको टुक्रा हुन्छ । दिमागमा कुनै शेर फुर्नासाथ सिलाउन छाडेर टिप्नतिर लाग्छन् ।
'नफरत और ताअसुबका माहौल बना क्यू है
क्या इन्ही फसादोंसे नेपाल नयाँ होगा ?
जब एक बनेंगे हम, तब नेक बनेंगे हम
नेपालका दुनियामे फिर रुतबा बडा होगा ।'
मुस्तफाको यो गजलमा नयाँ नेपालको आकांक्षा छ । त्यसको पृष्ठभूमि भने नेपालगन्जको साम्प्रदायिक सद्भाव हो । यहाँ मधेसी-पहाडी, थारू-मुस्लिम, अवधीभाषी-नेपालीभाषी मिलेर बसेका छन् । मन्दिर-मस्जिद, गुरुद्वारा-चर्च, आपसी विश्वास र सम्मानले अडेको छ । जुन दिन सद्भाव टुट्ला, त्यो दिन नेपालगन्ज रहने छैन । त्यो बुझेका छन्, कम्तीमा यहाँका दौतरी शायरहरूले । त्यसैले सद्भाव बिथोल्नेहरूविरुद्ध बेला-बेला आक्रोश ओकल्छन् । सायर हुनुको अर्थ सहरको सद्भाव दूत हुनु पनि हो, सायद । खयालीले हाँस्दै भने, 'अराजकताले समाज जतिसुकै अस्तव्यस्त होस्, शब्दहरूबाट सद्भाव र एकताबद्ध बन्छ । शब्दमा भावना जो हुन्छ ।'
Post a Comment