0

जिउँदी फूलमायालाई मृत्युपत्र

     फूलमाया तामाङको कुवेतमा मृत्यु भएको र शव बुझ्न भनेर असारको दोस्रो साता दुवाचौर–३ का सञ्चमान तामाङलाई पत्र आयो । जिल्ला प्रशासनबाट पत्र आएपछि गाउँमा फूलमायाको मृत्युबारे हल्लाखल्ला भयो ।

परराष्ट्र मन्त्रालयको पत्रका आधारमा प्रशासनले शव बुझ्ने प्रक्रियाका लागि राजधानी जान सूचना दिएको थियो । पत्र आएपछि कुवेतमा मृत्यु भएको भनिएकी फूलमाया को हुन् भन्ने खोजी भयो । गाउँमा यही फूलमाया हो भन्ने पुष्टि गर्न नसकेपछि स्थानीय बालसुधार माविका प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठसहितको टोली परराष्ट्र मन्त्रालय पुग्यो । उनीहरू मन्त्रालय पुगेपछि मात्र थाहा भयो कुवेतमा मृत्यु भएको भनिएकी फूलमाया त गाउँमा जिउँदै रहिछिन् । उनी सञ्चमानकी श्रीमती हुन् ।

९ फागुन ०६३ मा जिल्ला प्रशासन कार्यालयबाट ३३५८५१८ नम्बरको राहदानी लिएकी फूलमाया गाउँमै छिन् । तर, उनको कुवेतमा मृत्यु भएको भनी गाउँमा पत्र आउँदा उनी मात्रै होइन, गाउँले सबै छक्क परे । जिउँदो मान्छेको नाममा मृत्युपत्र आएपछि स्थानीय विद्यालयका प्रअ श्रेष्ठ सत्य कुरा पहिल्याउन आफैँ मन्त्रालय धाएका थिए । ‘उनको राहदानीमा भिसा लगाएर अरू नै कोही कुवेत पुगेको रहेछ,’ श्रेष्ठले भने, ‘हामीले धेरै खोजी गरेपछि मात्र कुवेतमा मृत्यु भएकी फूलमाया दुवाचौरकी नभएको थाहा पायौँ ।’

राहदानी बनाएपछि फूलमायाले विदेश जाने प्रक्रिया सुरु गरेकी थिइन् । प्रक्रियाका क्रममा उनको राहदानी मेनपावर कम्पनीका दलालले लिएका थिए । उनी विदेश जाने चक्करमा दिल्लीसम्म पुगिन् । तर, उनी जान पाइनन् । श्रीमान् विदेश गएकाले उनले जाने प्रक्रिया पनि गरिनन् । तर, उनको राहदानी फिर्ता आएन ।

उनको राहदानीमा फोटो परिवर्तन गरेर दलालले अरू कसैलाई कुवेत पठाए । फूलमायाको नाममा कुवेत पुगेकी महिलाको मे २१ तारिख अर्थात् ७ जेठमा मृत्यु भएको थियो । कुवेतस्थित नेपाली दूतावासका अनुसार अहिले ती महिलाको शव कुवेतको सरकारी शवगृहमा बेवारिसे अवस्थामा छ ।

कुवेतस्थित नेपाली दूतावासलाई उद्धृत गर्दै कुवेतमा रहेका हरिकृष्ण न्यौपानेले जनाएअनुसार काम गरिरहेको घरबाट भाग्ने क्रममा सडक दुर्घटनामा परी घाइते भएकी ती महिलाको अस्पतालमा मृत्यु भएको थियो । उनी घरेलु कामदारको रूपमा कुवेत पुगेकी थिइन् ।

दूतावासले फूलमायाको परिवारलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको थियो । राहदानीमा सिन्धुपाल्चोक जिल्लाको ठेगाना भएकै कारण प्रशासनलाई परिवारमा खबर गरिदिन मन्त्रालयले पत्र लेखेको थियो । सिन्धुपाल्चोक प्रशासनले दुवाचौरमा खोजी गर्दा कुवेत गएकी फूलमाया पत्ता लगाउन नसकेपछि आइतबार मृतक फेला नपरेको परराष्ट्र मन्त्रालयलाई जवाफ पठाइसकेको छ ।

कुवेतको कानुनअनुसार त्यहाँ मृत्यु भएका अन्य मुलुकका नागरिकको शव सम्बन्धित व्यक्ति वा निकायले तीन महिनासम्म नबुझेमा सरकारले नै दाहसंस्कार गरिदिन्छ । परराष्ट्र स्रोतका अनुसार फूलमायाको नाममा कुवेतमा मृत्यु भएकी महिला धादिङकी भन्दै उनका आफन्त मन्त्रालयको सम्पर्कमा आएका छन् ।

राहदानीमा गलत विवरण भएकाले ती महिला धादिङको भन्ने प्रमाण नदेखिँदा समस्या आएको मन्त्रालयले जनाएको छ । कुवेतमा मृत्यु भएकी फूलमाया र प्रशासनबाट राहदानी लिएकी फूलमायाको अन्य विवरण एउटै छ । तर, उनले बोकेको र प्रशासनमा भएको राहदानीको अभिलेखमा फोटो भने फरक छ ।

Post a Comment

 
Top