यो बीबीसी नेपाली सेवा हो’
हरेक दिन यसै भन्दै शुरु हुन्छ बीबीसी नेपाली सेवा । कहाँबाट कस्तो ठाउँबाट आउँदो हो यो ? अवस्यै धेरैलाइ चासो लाग्छ नै यसमा । ७५ वटै जिल्लामा सुनिने । ठूला ठूला खबर दिने । नेपालका प्रधानमन्त्री, दलका नेतालाईपनि सर्वाङ्ग पारेर जनतालाइ सुचना दिन सक्ने हैशियत राख्ने । बेलायतमा रे । कस्तो होला ? विश्वमा सबैभन्दा बिश्वशनिय मानिने मेडिया यहि हो । भलै समाचार छिटो दिनेमा सिएनएनलाई लिईन्छ । हामीलाईपनि चासो थियो, यो बीबीसी सेवा चल्ने ठाउँ कस्तो होला ? यसको तस्विर खिच्न नपाइने रहेछ । सायद तस्विर सुरक्षाको कारणले होला । मैले चाहिँ भगिरथीजीकै अगाडि उभेर क्यामराको फ्ल्यास बन्द गरें । क्यामरा सिधा बनाएर नदेखेझैं गरि झुक्काएर खिचें । गार्डले नदेखोस भनेर । यो काम बीबीसीकै भगिरथजीका अगाडि फत्ते गरें ।
‘यो बीबीसी नेपाली सेवा हो । भगिरथ योगीबाट समाचार सुन्नुस् ।’ बीबीसीमा सुनिने यहि स्वरका ब्यक्ति हामीसितै थिए दिनभरि । मध्यान्हमा हामीले नेपाली संस्क्रिति, साहित्य र समाजका ज्ञाता माईकल हटलाई सँगै भेटेर यात्रा शुरु गर्यौं । साथमा थिए, डा गोपाल पौडेल र फुच्चे आमोद सापकोटा । भगिरथीजीले सोधे ‘बीबीसीको कार्यालय हेर्न जाने कि ?’ पत्रकारिता गर्नेलाई बीबीसीको कार्यालय, त्यसको प्रशारण कक्षा हेर्न मन नलाग्नेपनि होला र ?’
अरुलाई झैं निबेदन हालेर, स्विक्रिति लिएर, अनेक झमेला गर्नु हामीलाई परेन । बीबीसीकै पत्रकार साथमा भएपछि गज्जब भैगो । लगे भगिरथजीले हान्निँदै बीबीसी मुख्यालयतिर । लण्डनको साह्रै महँगो ठाउँमै रहेछ त्यो । बाहिर कार्यालय अगाडिनै बीबीसी लेखेको ठाउँ अगाडि फोटो खिच्न तम्सिनेमा भगिरथजीनै देखिनु भो । जो हरेक दिन त्यहि भवनमा छिर्छ । त्यहि बीबीसी लेखेकै मुन्तिरबाट । त्यहि देखिने गरि फोटो खिच्ने ? फुच्चे आमोदले प्याच्च भनिहाल्यो ‘अंकल यहिँ काम गेर्ने रे । अनि यहि आफैंले फोटो खिच्ने । यो त मैले मेरै स्कूल अगाडि फोटो खिच्या खिच्यै जस्तो भो त, आफ्नै स्कूल घुम्न गाको जस्तो ।’ हाहाहाहा भगिरथजी र म झण्डै मरिएन हाँसेर । कुरो त सहि हो । बीबीसी लेखेको लकेट घाँटीमा बेरी बेरी फोटो खिच्न तन्केको तन्कियै भगिरथजी ।
बीबीसीको रेडियो अन्तैबाट चल्ने । टिभी अन्तैबाट चलाउने । छरिएको रहेछ पहिले । अहिले बीबीसीले पुरानो भवन बेचेर नयाँ भवनमा सरेछ । सबै एकै ठाउँमा । विशाल भवन किनेछ । छ हजार कर्मचारीले त्यहि भवनमा मात्रै काम गर्ने रहेछन् । शुरुको भुइँ तल्लानै निक्कै आकर्षक । सयौंले काम गरिरहेका । त्यहाँ कमिलाका ताँती जस्तो देखिएका तिनको काम अनलाईनमा काम गर्नेको रहेछ । बीबीसीका त्यत्रा धेरै सामाग्रि तत्कालै पढ्न पाइने बनाउनेहरु त यिनै पो रहेछन् ।
पाँचौं तल्लामा पो रहेछ नेपाली कक्ष । सुमन खरेल र नबीन सिं खड्का थिए, काम गरिरहेका । आजको समाचार त सक्कियो भन्दै थिए । कोठा नै छैन । सबै ह्वाङह्वाङ्ती । त्यहिँ सिमला, उर्दु, गुजराती, मराठी यस्ता सयौं भाषाको बीबीसीका डेस्क सबै सँगसँगै । कम्प्युटरमा एक अर्काको सबै देखिने, बोलेको सबै सुनिने । कस्तो खौल्लम खुल्ला तरिकाले काम गर्ने रहेछन् । तर त्यहाँ यति धेरै पत्रकारहरु कि एकले अर्कालाई चिन्ने कम हुने रहेछन् । भवनमा छिर्दा ब्याच देखायो, परिचय पत्र बोक्यो, हिँड्यो ।
बीबीसीको कक्ष नाम अनुसार बडेमानको होला भन्ने सोचाइ हुन्छ । त्यहाँ देख्दा अचम्म लाग्छ । समाचार भरपर्दो दिने हो, टाईफाई त होइन नै । डेस्कमा बस्यो । समाचार बनायो । अनि रेकर्डिङ गर्नेचाहिँ साना साना कक्ष रहेछन् । ति कक्षमा कसले कति बजे कुन भाषाको रेकर्डिङ गर्ने वा अन एयर गरिदिने हो । त्यति बजे पस्यो, काम सक्यो । आजकाल मेशिन र प्रविधीको कुरो न हो । त्यस्तो ठूलो र भब्य केहि नचाहिने रहेछ ।
सुमन खरेल र खड्कासित एक्कै छिन बस्यौं हामी । आजकाल बीबीसीले कर्मचारीहरु स्थानिय रुपमा परिचालन गर्ने निति बनाएको रहेछ । त्यसैले नेपाली सेवाकापनि अधिकांश कर्मचारी नेपालमै राख्ने । त्यहिँ कार्यालय खोल्ने, उतैबाट धेरै काम गर्ने । यसो गर्दा बीबीसी र स्थानिय पत्रकार दुबैलाई फाइदा । बेलायतमा बस्न, खान पुग्नेगरि तलब देउ । सेवा र सुबिधा बाँड । त्यसको तुलनामा त नेपालमै पत्रकार राख्दा आधिपनि खर्च हुन्न । उता पत्रकारलाईपनि बेलायतको महँगीमा दिएको तलब कहसै बच्दैन । खर्च गर्यो । खाउ पिउ, केहि सिक जाउ । बरु गतिलो तलब स्थानिय स्तरमै दिँदा आफ्नो देश, समाज, स्थानिय सस्तो खर्च अनुसार चल्दा सहज र बच्छ पनि ।
अर्को केपनि रहेछ भने पहिले बीबीसीले धेरै पत्रकार बेलायतमै राख्नुको अकरण सुरक्षाका हिसाबले । पहिले धेरै देशमा प्रजातन्त्र नहुँदा पत्रकारको असुरक्षा हुनाले बेलायतमै राखे । अब धेरै मुलुकमा प्रजातन्त्र आयो । खुल्ला भयो । फोन, नेट र अन्य प्राबिधिक सुबिधा सहज बन्दै गयो अनि जुन जुन भाषाका हुन् त्यहि देशमै खटाउन थाल्यो । त्यसैले धेरै भाषाका पत्रकार गए आआफ्नै देशमा । हिन्दी भाषामा २४, २५ जना पत्रकार भएकामा अहिले जम्मा दुई जना मात्रै रहेर बाँकि सबैले दिल्लीलाईनै कार्यक्षेत्र बनाएको सुनाउँदै थिए सुमन खरेल ।
नेपालीकोपनि काठमाडौंबाटै चल्न थालेको निकै भयो । बेलायतबाट त उहि नेपालबाट आएको खबर लोड गर्ने । अन्तर्राष्ट्रिय खबरमा काम गर्ने । अन्य देशमा आधुनिक प्रविधीले गर्दा बीबीसी रेडियोका श्रोता घट्दै रहेछन् । तर नेपालमा भने झन बढ्यो । किनहोला ? बत्ती नभएकोले । मुख्य कारण यो रहेछ । बत्ती नभएपछि रेडियो त साना ब्याट्री हालेर सुनेपनि हुने । सय रुपियाँको रेडियोपनि पाइने । ‘हाम्रो प्रतिस्पर्धी भनेको टिभी हो । नेपालमा न बत्ती छ न टिभी किन्ने क्षमता धेरै नेपालीमा छ । त्यसैले हाम्रा त श्रोता बढेको बध्यै छन्’ सुमन खरेलले सुनाए ।
बीबीसी भनेपछि रुचाउने मात्रै छैन । धेरै शासकहरुका दिमाख तात्छन् । धेरै सत्ताधारीको सत्ता हल्लाउँछ । अत्याचारीलाई नांगो पार्छ । राज्यलाई अत्याचार, अन्याय गरेकामा त्यसको खबर दिएर हल्लाउँछ । न्याक्छ । त्यसैले यसको सुरक्षाको चिन्तापनि उत्तिकै हुने भो । तर बीबीसी भन्ने बेलायतीको संस्क्रिति बनेछ । यसको गरिमा, मर्यादा, विश्वासालाई जोगाउन उनीहरु जेसुकै गर्न तयार बन्ने सांस्क्रितिक मानसिकतानै भैसकेछ बेलायतीमा । बीबीसीमाथि कुनै आँच आउनु, दखल पुग्नु बेलायतीको पहिचानमाथिको आँच ठान्ने रहेछन् । तर सुरक्षाका मामिलामा बीबीसीको निर्देशन रहेछ ‘कुनै आक्रमण भयो भने पहिले ज्यान बचाउ । समाचार जे सुकै हो । आज सके आउला नसके भोली । जे होला होला, भागेर, दौडेर भएपनि ज्यान चाहिँ बचाउनु ।’
हरेक कक्षको छेउ छेउमा प्राविधिकहरु बसेका हुने रहेछन् । रेकर्डिङ कक्षा वा कुनैपनि सेक्सनमा प्राविधिक समस्या परे तिनले तत्कालै मर्मत गरिहाल्ने । कुनै कारणबस बीबीसीको मुख्यालयमै ठूलो दूर्घटना भएर बत्ती, फोन र अन्य प्राविधिक उपकरणले काम नगरे के गर्ने त ? लण्डनमा आपतकालिन रुपमा समाचार प्रशारण गर्न सकिने अन्य एक दुई वटा बिकल्प पनि बनाएको रहेछ बीबीसीले ।
Post a Comment