पद लिने भनेपछि निति र आदर्श घोप्टेभिरतिर
अहिले बेल्जियमको राजनिति त्यस्तै भएको छ । मनले खाएकाले बाटो बिराएका छन् । विश्वाश, निति र आदर्श त्यागेका छन् । बिगतमा धारे हात लगाउँदै सरापेकासितै एन आर एन बेल्जियमको निर्वाचनमा केहि सिमित पदकालागि आफ्नो निति र आदर्शलाई घोप्टेभिर लगेर डङरङ्ग बजारेका छन् ।
अहिले बेल्जियममा चुनाव लागेको छ । नेपाली कांग्रेसको बागि समूह, बिद्रोही समूह वा कोइराला समूह भनेर चिनिने ईन्द्र क्षेत्रीको पक्षले एमालेसित गठबन्धन गरेको छ । उता देउवा समूह भनेर चिनिने गंगाधर गौतम पक्षले संघिय समाजवादी पार्टी र एकिक्रित नेकपा माओवादीसित गठबन्धन गरेको छ । यि पक्षको अध्यक्षमा प्रेम गुरुङ छन् । आइसिसि सदस्य शिव कुमार बरुवाल छन् । महिला उपाध्यक्षमा सारदा अर्याल उभिएकि छन् । यिनले तिन पार्टी पक्षका छ्यासमिस गरेर उठाएका छन् ।
देउवा पक्षका गंगाधर गौतमलाई अध्यक्षको पदमा शिरोधार गरेका छन् संघिय समाजवादी पार्टी युरोपका संयोजक पेम्बा गेल्बु शेर्पा (पिजी शेर्पा) र एकिक्रित नेकपा माओवादी पक्षले । आइसिसि पदमा आफ्नो उमेदवारि यहि पक्षसित दिएर पिजी शेर्पाले धेरैलाई चकित पारेका छन् । उनको पार्टीले नेपाली कांग्रेसलाई सधैं बाहुनबादी, शोषकहरुको पार्टी भनेर गाली गर्दै आएको छ । जनजाति बिरोधी र अझ पहिचान पक्षका दुस्मनको रेखामा राख्दै आएको छ । र छ स्पष्ठपनि, नेपाली कांग्रेस एकल पहिचानको पक्षमा नरहेको पार्टी हो । कसरि यो पार्टीसित पिजी शेर्पाले गठबन्धन गरे ? जब आफ्नो राजनितिक निति, मूल्य र मान्यता अनि आदर्श कहिँ कतै मेल खाँदैन । आफ्नो पार्टीका मूलभूत मान्यतालाई जुन पार्टीले तिरस्कार गर्छ, त्यहि पार्टीसित कसरि संघिय समाजवादी पार्टीको गठजोड हुन सक्छ ? शेर्पाले आफ्नो समावेशी समूहलाई भोट दिनुहोला भन्दै गंघाधर गौतमसहितको समूहसँगै हँसिलो फोटो सहित भोट माग्दै सामाजिक सन्जालमा छरपस्ट पारेपछि उनैका कार्यकर्ता अमिलो मुख बनाएका छन् । किनभने बेल्जियम कांग्रेसको दुई चिरा मध्येपनि बरु ईन्द्र क्षेत्री समूह जनजाति पक्षतिर अलि बढि नरम देखिँदै आएको थियो । तर अहिले गठबन्धन पिजी शेर्पाले अर्को पक्षसित पो गरे । यसलेगर्दापनि धेरैलाई चकित पारेको छ ।
हिजो उनका सयौं कार्यकर्ताले ‘यो कांग्रेस पहिचान बिरोधी पार्टी हो । यो सामान्तहरुको पार्टी हो । यो भ्रस्ट, दिशाहिनहरुको पार्टी हो’ भन्दै लडे । भ्याएसम्म तिनका नेतालाई कालो झण्डा देखाउन खोजे । मिलेसम्म तिरस्कार गरे । नैतिक बिरोध गरे । शिष्ट बिमती राखे । नेपाली कांग्रेस हाम्रो बिरोधी पार्टी हो, त्यसमा नबस भन्दै आफ्नो पार्टीमा ताने, कांग्रेसका केहि कार्यकर्ता । आज त्यहि पार्टीको नेतालाई, त्यहि पार्टीका अधिकांश उम्मेदवार ठिक छन्, लौ भोट दिनुपर्यो भन्दै पोष्टर छपाउँदा हिजो कांग्रेससित बिमति राख्ने, लड्ने र भिड्ने कार्यकर्ता, सहकर्मीको मन कस्तो भएको होला ? भोली तिनले कुन मुखले फेरी त्यहि कांग्रेस खत्तम हो भन्ने होला ? पिजी शेर्पा स्वयंसित कुन नैतिक आधार रहला भोली बेल्जियममा कांग्रेस बेठिक, हाम्रो पार्टी ठिक भन्न ? कसरि कार्यकर्तालाई मनाउन सक्लान कि कांग्रेस हाम्रो बिरोधी हो, पहिचान बिरोधी हो भनेर ? त्यति मात्रै होइन, माओवादी एकल पहिचन पक्षको बिरुद्द गयो भनेर उनको पार्टीले ठोकुवा गरिसकेको छ । र अहिले उनले माओवादीसितपनि गठबन्धन गरेका छन् । अब कुन नैतिक आधार रहला भोली एकिक्रित माओवादीलाई पहिचान बिरोधी हो भन्न ?
निर्वाचन भयो कि डाङडुङ गर्ने । पत्रकारका सम्मेलन, संस्थाका बैठक र जमघटमापनि कुनै न कुनै भाङभुङे चर्तिकला देखाउने । हैकम चलाउन खोज्ने र कांग्रेसमैपनि साह्रै धेरै आलोचित ब्यक्तिलाई शिरमा बोकेर हिँड्दा पिजी शेर्पाको आदर्श, अहिलेसम्मको गरिमा, ईमान्दरिता, राजनितिक मूल्य, निति र आदर्शमा भोली कुन खालको टिकटिप्पणी आउला ? संघिय समाजवादी पार्टीलेनै यसलाई कसरि लिन्छ ? यो पार्टीगत निर्णय हो कि कार्यकर्ताले पार्टीसित कुनै सहमती नलिइकनै गरेको निर्णय हो ? बिस्तारै स्पष्ठ होला नै ।
उता ईन्द्र क्षेत्री पक्षले प्रेम गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । यि गुरुङका बारेमा उति सारै नकारात्मक खबर, शैली र भड्काउ सुनिएको छैन । तर यो पक्षलेपनि गत कार्यकालमै असक्षम साबित भैसकेका शिव बरुवाललाई आइसिसिमा बोकेर हिँडेका छन् । यिनलाई थाह छ, शिव बरुवाल रहेकै कार्यकालमा एन आर एन बेल्जियम विश्वमै सायद सर्वाधिक बदनाम भयो । पत्रकारलाई धम्कि दिईए । पत्र काटिए । गुण्डाहरु लगाइए । एन आरएनबाट कारवाहीको धकि दिईयो । महिला गुण्डाहरु तयार पारिए । बाटो छेक्ने डन त एन आर एन बेल्जियमकि अध्यक्ष आफैं थिईन् । जहाँपनि भड्काउने, असहमति जबर्जस्ति गर्ने, पैसो हिनामिना गर्ने । एन आर एन बेल्जियममा राजनितिलाई प्रमुखता दिने काम यहि कार्य समितिले गर्यो । अहिले बेल्जियमबासीको उत्थान भन्ने लेखेर मत माग्न पोष्टर बनाएका रहेछन् । सर्वाधिक बदनाम कार्य समितिकै मानिसलाई ढाडमा बोकेर भोली कसरि उत्थान हुन्छ बेल्जियमबासीको ?
अझ लाजमर्दो कुरो त महिला उपाध्यक्षमा शारदा अर्याललाई स्विकारेका छन् । शरणार्थी क्याम्प जाँदा नेपालीहरुले गोजिको दुई पाँच सय युरो राख्ने ठाउँ नभएर थन्क्याउन दिएकोपनि थर्काएर लुट्ने । नेपालबाट मानव तस्करि गरेको आरोप लगाउँदै प्रहरीमा आरोपित गरिएकि र दुख पाएका नेपालीको पैसो पनि लुट्ने यस्तालाई साथमा लिएर चुनाव जितेपनि तिनले राम्रो गर्न सक्ने होइनन् । बरु त्यस्तो कार्य समितिनै बदनाम हुने छ । यस्ता मानिसहरु अझै संस्थागत रुपमा एक भएर अरु नेपालीका खुशि फटाउने छन् । अझ मानव तस्करिका लागि आँखा तन्काउने छन् । कहाँ छन् दुख पाएका नेपाली, बेहाल भएर सडकमा भौंतारिएका सोझा दाजुभाई भन्दै सडक चहार्ने छन् ।
यिनको भोट माग्ने नारा रहेछ “बेल्जियमवासी नेपालीहरूको दुखमा साथ दिनु र सुखमा रमाउनु यस समूहको प्रमूख उद्देस्य हो । प्रदेशमा सँगै रहेका नेपाली र तीनको समूदाय नै यहाँ हाम्रो देश हो । समूदायमा समस्या सिर्जना गर्ने होइन कि भैपरि आएका समस्याहरूको निदान गर्नु हाम्रो पहिलो कर्तब्य हुन्छ ।” तर यो सुन्दा आकाशतिर फर्केर हाँस्न मात्रै सकिन्छ । विश्वाश त आफ्नै पैसो हालेर सदस्य बनाएकाहरुलेपनि पक्कै गर्दैनन् । बिगतमा अनेक नेपाली ठगिँदा, धम्क्याउँदा, लुटिँदा चुँक्क बोल्न नसक्नेले अब कसरि नेपालीको दुख सुखमा साथ दिने ? गरिखाने मेसो नपाएर ऋण काढेको दुई चार पैसो लुट्नेलाई संस्थाको जिम्मेवार पदमा पुर्याएर कसरि नेपालीको दुख सुखमा साथ दिने ?
रमाईलो पक्ष के भने बेल्जियममा बरु आफ्नो निति र नियममा नेपाली कांग्रेस अन्य भन्दा अगाडि देखियो । यहि निर्वाचनमापनि नेपाली कांग्रेसले आफ्नो निति भन्दा बाहिर गएर पोष्टर र प्रचार प्रसारमा केहि उल्लेख गर्न नदिएको देखियो । किनकि एन आर एन बेल्जियमको निर्वाचनको दुबै प्यानलको पोस्टरमा ‘समावेशी समूह’ भन्ने उल्लेख छ । यो नारा नेपाली कांग्रेस पार्टीले उल्लेख गर्ने गरेको हो । र बेल्जियममापनि नारा बनाउँदा काँग्रेसका दुबै पक्ष आफ्नो नारामा अडिग देखिएछन् । तर पहिचान, समानता र उच्च आदर्शको चर्को बहस र दाबी गर्ने एकिक्रित नेकपा माओवादी, संघिय समाजवादी पार्टी लज्जावती झार झैं लत्रक्क परेर गठबन्धन गर्न पुगेछन् । एन आर एनको नाथे केहि पदकै लागि पार्टीको निति, आदर्श, आफ्नो बिगतको मूल्य र मान्यता, कार्यकर्ताको मनोभावना, पार्टीको साख सबै तिलान्जली दिन तयार हुने रहेछन् भन्ने देखायो त्यसले । निर्वाचनको प्रचारमैपनि आफ्नो कुनै नारा राख्न नसक्नेलाई जितेपनि नेपाली कांग्रेसले कुन नितिगत निर्णय गर्न देला ? के फाइला लेलान् राजनिति गर्नेले ? नेपालमा कुकुर र बिराला झैं लडाभाँती गरेका कांग्रेस र माओवादीको कुन निति, आदर्श र बैचारिक धरातल मिल्ने गएछ र तिनले सहकार्य गरे बेल्जियममा ?
बरु मिलेरै उठ्नु थियो भने त नेपाली कांग्रेस एक ढिक्कानै पो हुनुपर्थ्यो । नेकपा एमाले, संघिय समाजवादी पार्टी र एकिक्रित माओवादीकै पो संयोजन हुनुपर्ने थियो होला । किनकि पक्कैपनि नेपाली कांग्रेससित भन्दा निति र आदर्श यि तिनको मिल्दो हो । र बाँकि तिन सित भन्दा कांग्रेस कांग्रेसकै निकट हुँदो हो । तर किन मिल्ने सकेनन् निति मिल्ने सित ? पदको लोभी भएकोले । निति, नियम, आदर्श र समाज बदल्ने, सेवा गर्ने कुरो प्रधान थिएन यहाँ । पद पड्काउने र भाषण ठोक्ने, नेता बन्ने प्रमुख उद्देश्य थियो ।
पद र कुर्सी आदर्शका अगाडि नगण्य हुनुपर्ने हो । मूल्य र मान्यताको राजनिति गर्नेले त्यसलाई कदापी त्याग्दैन । आफ्नो आदर्शलाई बचाउन पद आदर्शवान नेताका लागि सडकमा मिल्किएको ढुंगो सरह हो । तर ति आदर्शलाई घोप्टेभिरमा लगेर ठोक्नेहरुका लागि एक पटकको निर्वाचन, एउटा पद सर्वथोक हो । बेल्जियममा धेरैले आशा गरेका, धेरैले आदर्शवान मानेका, मूल्य मान्यताको उच्च मूल्यांकन गरेकाहरुलेनै त्यसलाई लत्याए । निर्वाचन त हरेक दुई वर्षमा आउँछ र जान्छ । तर आफ्नो निति भुल्ने, आदर्श त्याग्ने, नैतिकता त्याग्नेहरुलाई भने ईतिहासले सजिलै भुल्दैन । कार्यकर्ताहरुले सहजै पचाउँदैनन् । जसले यसलाई अनन्तसम्म बचाउन सक्छ उहि टिक्ने हो लामो कालसम्म नेताबनेर, प्रशंसक बनेर । जसले भुल्छ र पदका लागि सबै त्यागेर रुखबाट हाम्फाल्नपनि तयार हुन्छ । उसको साखपनि त्यहि निर्वाचनसँगै सलल बगेर विष्णुमतीको ढलझैँ प्रदुषित बन्छ । आफ्नो पार्टीलाईपनि उसले भुइँमा खँगार्छ । त्यसरि पार्टी बदनाम हुँदा सयौं लाखौं कार्यकर्ताको मेहनत, परिश्रम, आस्था र विश्वासपनि धरमराउँछ । त्यसलाई पूर्ती गर्न धेरै समय लाग्छ । मेहनत खर्चिनुपर्छ । राजनितिनै गर्ने हो भने सबैले हेक्का राख्ने हो कि ?
Post a Comment