0

लौकाले फाइदै फाइदा


featuredimg/7847Lauka-_-edit.jpg
परम्परागत कृषि पेशाबाट सोचेजस्तो आम्दानी लिन नसकेपछि जिल्लाको चण्डेनीमण्डन गाविसमा पर्ने कान्तिटारका किसान अहिले व्यावसायिक रुपमै लौका खेतीतर्फ लागेका छन् । धान, गहुँ, मकैजस्ता बालीबाट राम्रो आम्दानी लिन नसकिएको र तरकारी खेतीमा पनि गोलभेंडा, बन्दा लगायतबाट लगानी नै नउठेका कारण नयाँ खालको तरकारी खेतीको खोजीमा रहेका यहाँका किसान अहिले लौका खेतीतर्फ आकर्षित भएका हुन् । गएको वर्ष परीक्षणका रुपमा २५ बोट लौका रोपेका स्थानीय किसान रामशरण नेपालले त्यसबाट करिव ३० हजार आम्दानी लिएका थिए । त्यसपछि आफ्नो ठाउँमा पनि लौकाखेती गर्दा राम्रै हुने रहेछ भन्ने निष्कर्ष निकाल्दै उनका चार दाजुभाइले अहिले करिव २ रोपनी जग्गामा यसको खेती गरेका छन् । 

‘यस वर्ष पनि राम्रै उत्पादन भएको छ । आम्दानी पनि राम्रै होलाजस्तो छ ।’ कृषक नेपाल भन्छन्–“ लगानी र परिश्रम थोरै गरे पुग्ने लौका खेती गजवकै रहेछ ।”स्थानीय जातबाट भन्दा हाइब्रिड जातबाट राम्रो उत्पादन हुने भएकाले कृषकहरुले हाइब्रिड जातका लौका नै रोपेका छन् । उत्पादित लौकालाई बजारको खाँचो छैन । स्थानीय बजारमै प्रतिकेजी २० रुपैयाँसम्ममा विक्री हुने गरेको लौकालाई रोग पनि धेरै लाग्दैन । तर, सिंचाईको भने धेरै नै आवश्यक पर्छ । खडेरी मौसममा यसबाट राम्रो उत्पादन लिन नसकिने यसमा आबद्ध कृषकहरु बताउँछन् भन्छन्–“ सिंचाई सुविधा पुगेका धेरैजसो ठाउँहरुमा लौकाको राम्रो उत्पादन लिन सकिने रहेछ ।” यस गाउँका करिव २० जना र छिमेकी गाउँहरुमा करिव १ सय जति कृषकहरुले अहिले लौका खेती गर्ने गरेको उनले जानकारी दिए । यसबाट प्रेत्यक परिवारले वार्षिक ३० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी लिने गरेका छन् । व्यवसायको शुरुवात भएकाले यो त्यति उल्लेखनीय आम्दानी भने नभएको र भविष्यमा यसबाट राम्रै उत्पादन र आम्दानी लिन सकिने किसानको आशा छ । पछिल्ला दिनमा यहाँका बहुसंख्यक किसानले लौका खेतीका अतिरिक्त गोलभेंडा, बन्दा, बोडी, करेला, भन्टा लगायतका तरकारीको व्यवसायिक खेती गरेका छन् ।

Post a Comment

 
Top