Maoists-baidhyaपाप धुरीबाट कराउँछ भन्ने नेपाली उखान यतिखेर एकीकृत नेकपा माओवादीको हकमा लागू हुँदैछ। कम्युनिस्ट सिद्धान्त र क्रान्तिका गीत गाउँदै सयौँ युवालाई समानतामूलक र सदाचारयुक्त समाजको सपना बाँडियो। त्यही सपनामा लुट्पुटिएर ग्रामीण किशोरकिशोरीहरूले पढ्दै गरेको स्कुल छाडे। घाँस काट्दै गरेको डोको छाडे। घरपरिवार र आफन्त त्यागे। कलिलो जवानी जनयुद्धका नाममा आहुति दिए। कतिले ज्यानकै बलिदानी दिए। तर, यी तमाम युवाको तपस्या, लगानी र बलिदानीमाथि टेकेर आएका माओवादी नेताहरूले सहर पस्नेबित्तिकै अकूत सम्पत्तिको आहाल बनाए। राज्यस्रोतमाथि लूट मच्चाए। कहिले देउसीभैलो त कहिले गँड्यौला, चन्दा र उपहारका नाममा खुलेआम कमिसन र घूस उठाए। यसलाई वैधानिकता दिन र सुरक्षित रहन विदेशी शक्ति, स्वदेशी पूर्वपञ्च, अपराधी र भ्रष्ट तत्त्वहरूसँग घाँटी गाँसे। साँठगाँठ गरे। यो लूटको साक्षी अरू को हुन सक्छ? एमाओवादीबाट विरक्तिएर हिँडेका मोहन वैद्य पक्षधर कार्यकर्ता। उनीहरू एमाओवादीका सबैभन्दा भ्रष्ट र लुटाहाहरूको सूची नै तयार गरेका छन्। तिनीहरू चुनावमा उठेपछि भण्डाफोर गर्ने वैद्य नेतृत्वको नेकपा–माओवादीको तयारी रहेको छ।
स्रोतअनुसार, सबैभन्दा भ्रष्टको सूचीमा प्रचण्ड अग्रपंक्तिमा रहेका छन्। प्रचण्डपछि भ्रष्टको रेकर्ड बनाएकी छन्, हिसिला यमीले। त्यसपछि कृष्णबहादुर महरा, पूर्वलडाकूका कमाण्डरहरू नन्दकिशोर पुन, चन्द्रप्रसाद खनाल, वर्षमान पुन, धनबहादुर मास्की लगायत छन्। भ्रष्टको सूचीमा सरकारमा मन्त्री छँदा बाक्लै तर मारेको रिपोर्टका आधारमा टोपबहादुर रायमाझी, पोष्टबहादुर बोगटी, दीनानाथ शर्मा, शक्तिबहादुर बस्नेतहरू पनि वैद्यको कालोसूचीमा परेका छन्। शालिकराम जमकट्टेल, चन्द्रबहादुर थापा ‘सागर’ लगायत पनि भ्रष्टको सूचीमा परेका छन्। उनीहरूले जनयुद्धप्रति घात गरेको, सहिद तथा बेपत्ताको अपमान गरेको, वास्तविक द्वन्द्वपीडितप्रति उपेक्षा गरेकोलगायत आरोपमा लगाउँदै भ्रष्टको सूचीमा रहेकाहरूको भण्डाफोर तथा जनकारवाही सम्मका अभियान चलाउने माओवादी तयारी रहेको छ। माओवादी सूत्रका अनुसार केन्द्र र जिल्ला तहका नेताहरूको लिस्ट भ्रष्टाचारको विवरणसहित चाँडै सार्वजनिक गरिने छ।