0

प्याज छोइनसक्नु महंगो

३० साउन, 
 बर्डफ्लुको संक्रमणले बजारमा कुखुराको मासु पाउन मुश्किल परेको बेला मासुमा स्वाद दिने प्याजको पनि अभाव भएको छ । नेपालमा उत्पादनको सिजन नहुनु र भारतबाट आयात हृवात्तै घट्नुले अभाव भएको व्यापारीहरुले बताएका छन् । भारतबाट आयात घटेपछि भाउ दोब्बरले बढेको छ । महिना दिनअघिसम्म ५०/६० रुपैंया किलोमा पाइने प्याज अहिले एकसय २० रुपैंया तिर्दा समेत पाउन मुश्किल छ । pageदेशमै सबैभन्दा धेरै तरकारीको कारोबार हुने राजधानीस्थित कालिमाटी तरकारी बजारका अनुसार अरुबेला भारतबाट दैनिक डेढसय मेटि्रकटन प्याज भित्रिने गरेकोमा अहिले ३५/४० टन मात्रै आयात हुने गरेको छ ।
अरु धेरै तरकारीमा नेपाल आत्मनिर्भर भएपनि प्याजमा भने भारतकै भर पर्नुपर्ने बाध्यता छ । नेपालको उत्पादनले ५ प्रतिशत मात्रै माग धान्ने व्यापारीहरु बताउँछन् । ९५ प्रतिशत प्याज भारतबाटै आयात हुन्छ । पोहोरको खडेरी र यसपालीको वषर्ाले भारतमा समेत प्याज उत्पादन घटेको छ । भारतमै अभाव भैरहेकोबेला नेपाली व्यापारीले आवश्यकता अनुसा प्याज आयात गर्न सकेका छैनन् । व्यापारीहरुले चीनबाट समेत आयात गर्ने तयारी गरेका छन् । तर त्यहाँको प्याज स्वादिलो नहुने भएकाले उपभोक्ताले त्यति मन पराउँदैनन् । त्यसैले भारतकै प्याजमा भर पर्नुपर्ने बाध्यता रहेको व्यापारीहरु बताउँछन् ।
‘स्वदेशमै उत्पादन बढाउन सकिन्छ’
किसानले थोरै ध्यान दिने हो भने स्वदेशमै प्याजको उत्पादन बढाउन सकिने कृषि विज्ञहरुले बताएका छन् । ‘किसानले नयाँ प्रविधि अपनाएर खेती गर्ने हो भने यहीँ उत्पादन बढाएर देशलाई प्याजमा आत्मनिर्भर गर्न सकिन्छ’ कृषि विभाग अन्तर्गतको केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्रका प्रमुख भरतकुमार पौडेलले अनलाइनखबरसित भन्नुभयो-’अब बीउ होइन दाना अर्थात सेट रोप्नुपर्छ ।’
खानमा त्यति प्रयोग नहुने साना छनौटे दाना सिधै खेतबारी रोपेमा यसबाट अढाई महिनामा उत्पादन लिन सकिने उहाँले बताउनुभयो । ‘यो प्रविधिको प्याज खेती मध्यपहाडी क्षेत्रमा बढी उपयुक्त हुन्छ’ पौडेलले भन्नुभयो-’पानी नजम्ने तराई र बेंसीका क्षेत्रमा पनि यसैगरी खेती गर्न सकिन्छ ।’ किसानले यसबारे थाहा नपाएकाले ज्ञान र प्रविधिको विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘बीउमार्फत भन्दा पनि दाना अर्थात सेट लगाएर उत्पादन बढाउन सकिन्छ’ पौडेलले भन्नुभयो-’नेपाललाई प्याजमा आत्ननिर्भर गराउने हो भने किसानले यसमा ध्यान दिनुपर्छ, सम्बन्धित निकायले पनि सहयोग गर्नुपर्छ ।’
त्यसो त सरकारले प्याजको उत्पादन बढाउन भन्दै प्याज मिसन कार्यक्रम पनि सञ्चालन गरेको थियो । तर प्रभावकारी नभएपछि मिसन कार्यक्रम बन्द भएको छ । तराईमा कार्यक्रम चलाएकाले असफल भएको पौडेलले बताउनुभयो । ‘अब मध्यपहाडी क्षेत्रमा लक्षित गरी अभियान चलाउनुपर्छ, उत्पादन बढ्छ’ उहाँले भन्नुभयो ।

Post a Comment

 
Top