0

दशै टीकासँगै चुनावका कुरा

kanchan-aryalकञ्चन अर्याल ।
 दशैं मूलत: हिन्दू चाड हो । तर दशैं निकै लामो समयबाट हिन्दू नेपाली भन्दा पनि सबै नेपालीको चाड बनेको छ । त्यसैले दशैंमा राष्ट्रप्रमुखदेखि सरकार प्रमुखसम्मले टीका लगाउने र लगाइदिने परम्परा छ । यस वर्ष पनि राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षले टीका लगाए र लगाइदिए पनि । त्यस अवसरमा उनीहरूले आशन्न संविधानसभा निर्वाचनको कुरा भने जोड्न छुटाएनन् ।
राष्ट्रपति डाक्टर रामवरण यादवले टीकाको लागि उत्तम साईत बिहान ९ बजेर ५७ मिनेटमै टीका लगाए । राष्ट्रपति यादवले आफ्नो निजी पुरोहित शंकरप्रसाद सिग्देलको हातबाट टीका लगाए, राष्ट्रपतिको सरकारी कार्यालय शितलनिवासमा । राष्ट्रपति यादवले आफूले टीका ग्रहण गरेलगत्तै छोरीसहित शितलनिवासमा टीका थाप्न आएका परिवारका अन्य सदस्यलाई टीका लगाईदिए । राष्ट्रपति निवासमा आफन्तहरूको राम्रै जमघट देखिन्थ्यो ।
टीका लगाउने काम सकिएपछि राष्ट्रपति यादवले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गरे । आशन्न संविधानसभा निर्वाचनलाई महायज्ञसँग तुलना गर्दै भने, ‘जनताको आशा र अपेक्षाअनुसारको लोकतान्त्रिक संविधान निर्माणका लागि शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्नुपर्छ ।’ त्यसका लागि सबै नेपालीलाई लाग्न उनले आग्रहसमेत गरे ।
यता धर्मकर्ममा अलिक बढी नै रुचि राख्ने अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले भने टीकाको उत्तम साइत छोप्न सकेनन् । तैपनि आफ्नी ८२ वर्षीया आमा चित्रकुमारीको हातबाट टीका थाप्न रेग्मी सामाखुसीस्थित माइला भाइ हितराजको घरमा पुगे । मिडियासँग बोल्न त्यति नरुचाउने रेग्मीले टीका ग्रहणपछि भने, ‘मुलुक शान्ति र समृद्धिको अभियानमा छ ।’
यता राष्ट्रपति यादवले योपटक पनि सर्वसाधारणलाई टीका लगाईदिए, आफ्नै सरकारी निवासमा । सर्वसाधारणका लागि दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्याइएको थियो । राजधानीमा दिनभर पानी परेकाले अघिल्लो वर्षहरूमा भन्दा कम सर्वसाधारणको शितलनिवास पुगेका थिए । शितलनिवासमा राष्ट्रपतिसँग टीका थाप्न पुग्नेमा राष्ट्रपतिका साथी, सहेलीदेखि विभिन्न संवैधानिक निकायमा रहेकाहरू थिए ।
राष्ट्रपतिकोमा टीका लगाउन जानेहरूमा आशन्न संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसबाट प्रत्यक्ष तथा समानुपातिकतर्फबाट उम्मेद्वार बनेकाहरू पनि थिए । यादवले सर्वसाधारणलाई टीका लगाउँदै संविधानसभाको निर्वाचनमा भाग लिन आग्रह गरेको सहभागीहरूले बताए । त्यसो त कतिले राष्ट्रप्रमुखको हातबाट टीका थाप्ने पुरानो परम्परालाई निरन्तरता दिन शितलनिवास पुगेको बताएका छन् ।
अघिल्ला दशैंमा घन्टौं लाइन लागेर राष्ट्रपतिको हातबाट टीका लगाउने अवस्था थियो, सर्वसाधारणमा । तर आइतबारदेखिको लगातारको वर्षाका कारण कतिले योपटक चाहेर पनि राष्ट्रपतिको हातबाट टीका लगाउन गएनन् ।

Post a Comment

 
Top