0
किन आए बम्जन सिन्धुपाल्चोक


स्थानीय रतनपुरी माविमा कक्षा तीनसम्म औपचारिक अध्ययन गरेर लामा भाषा पढ्न भारत पुगेका बारा, रतनपुरीका रामबहादुर बम्जनले १४ वर्षको कलिलै उमेरमा तपस्या सुरु गरेपछि चर्चामा छन् ।

२०६२ जेठ २ गते घरबाट एक्कासि हराएका रामबहादुर बम्जन घरनजिकैको हल्खोरिया जंगलमा तपस्यामा लीन भएको वेला भेटिएका थिए । मुलुकमा अशान्ति बढ्दै गएपछि रतनपुरीस्थित हल्खोरिया जंगलमा ‘बुद्धत्व प्राप्त गर्न’ बम्जनले तपस्या थालेको सात वर्ष पुगिसकेको छ । बाराबाट सिन्धुली, सर्लाही, चितवन र फेरि सर्लाही हुँदै उनी गत शुक्रबार सिन्धुपाल्चोकको बाँडेगाउँ–५ स्थित टोड्केभिर आइपुगेका छन् । उनी आएको खबर चारैतिर फैलियो । जिल्लाका बौद्धमार्गीका खोजीको पात्र बने । बम्जनको दर्शन गर्न बौद्धमार्गीमात्र नभई सारा गाउँवासी पुगे । तपस्याका लागि ‘शान्त भूमि’ खोज्दै सिन्धुपाल्चोक आएको खबर सार्वजनिक भए पनि आखिर किन आए बाँडेगाउँमा बम्जन ? यो विषयमा धेरैको जिज्ञासा कायमै छ ।
बारामा पाँच वर्षको तपस्याबाट आर्जन गरेको ज्ञानलाई उनले पुस्तकाकार रूपमा समेत निकालिसकेका छन् । उनका ‘मैत्री प्रामी ध्यान’ नामका दुई पुस्तक प्रकाशित छन् । बम्जनले तपस्या सुरु गरेदेखिकै सहयोगी तेजु तामाङका अनुसार बम्जनले २०६८ फागुनमा पुस्तक प्रकाशन गरेका हुन् ।

आफूले आर्जन गरेको ज्ञानलाई लिपिबद्ध गर्न बम्जन सिन्धुपाल्चोक आएको उनका सहयोगी बताउँछन् । सिन्धुपाल्चोक बसेर संसारभर कतै प्रचलनमा नआएको मैत्री भाषामा बम्जनले आर्जन गरेको ज्ञानलाई लिपिबद्ध गर्नेछन् । उनका सहयोगी तामाङका अनुसार आफूले आर्जन गरेको ज्ञानलाई लिपिबद्ध गर्न बम्जनले शान्त क्षेत्रको माग गरेका थिए । तेजुको घर बाँडेगाउँको टोड्केभिरमा भएकाले उनले बम्जन ‘गुरु’लाई यो ठाउँमा आउन आग्रह गरेका थिए । बम्जनले तामाङको आग्रहलाई स्वीकार गरेकाले बम्जन यहाँ आइपुगेका हुन् ।

सदरमुकामदेखि पाँच घन्टाको पैदल दूरीमा पर्ने बाँडेगाउँस्थित टोड्केभिरमा उनी आश्रम बनाएर बसेका छन् । बम्जनका सहयोगी तेजु तामाङ र स्थानीय अशोककुमार तामाङको नाममा रहेको करिब ९६ रोपनी जग्गामा हाल उनी आश्रय लिइरहेका छन् । बम्जनकै तपस्याका लागि भनेर तामाङद्वयले जग्गा उनको नाममा चढाएका हुन् ।
सात वर्षसम्म तपस्याबाट हासिल गरेको ज्ञानलाई लिपिबद्ध गरेर संसारभर फैलाउने योजनाअनुरूप तपस्वी बम्जन सर्लाहीबाट हेलिकोप्टर चार्टर गरी सिन्धुपाल्चोक आइपुगेका थिए । सिन्धुपाल्चोक शान्त भूमि भएकाले आफूले आर्जन गरेको ज्ञानलाई लिपिबद्ध गर्न कुनै अवरोध नहुने भएपछि २५ सहयोगीसहित बम्जन यहाँ आएको उनका सहयोगी तामाङले जानकारी दिए ।

बम्जनका सहयोगी तामाङका अनुसार बम्जनले तपस्या गरेको मैत्रीमार्ग ज्ञान हो । ‘उहाँ (गुरु) झन्डै आठ वर्ष यहाँ बस्नुहुनेछ,’ बम्जनका सहयोगी तेजुले भने, ‘सात वर्षसम्मको तपस्याबाट आर्जन गरेको ज्ञानलाई लिपिबद्ध गरेपछि मात्र उहाँ यहाँबाट फर्कनुहुनेछ ।’ उनका अनुसार ज्ञानलाई लिपिबद्ध गर्न झन्डै आठ वर्ष लाग्छ । सात वर्षसम्मको तपस्याबाट हासिल गरेको ज्ञानलाई लिपिबद्ध गरेपछि नेपाल, भारतको मद्रासलगायत अन्य सहरमा प्रचारका लागि लगिनेछ । बम्जनको भनाइलाई उद्धृत गर्दै उनका सहयोगी तामाङले ज्ञानलाई लिपिबद्ध गर्ने भाषा संसारभर कतै प्रयोग र प्रचलनमा नआएको दाबी गरे । ‘गुरु आफैँले भाषा उत्पत्ति गरेर त्यही भाषामा आफूले आर्जन गरेको ज्ञानलाई लिपिबद्ध गर्नुहुनेछ,’ उनले नयाँ पत्रिकासँग भने, ‘गुरुले लिपिका लागि भने चलनचल्तीकै कागज प्रयोग गर्नुहुनेछ ।’ तपस्वी बम्जनले हासिल गरेको ज्ञानलाई प्रचार गर्नकै लागि लिपिबद्ध गर्न लागेको जनाइएको छ ।

बम्जन आएको दिन मात्र गाउँलेले उनको दर्शन गरेका थिए । शुक्रबार साँझदेखि आश्रममा तपस्या गरिरहेका बम्जनलाई त्यसपछि गाउँलेले दर्शन गर्न पाएका छैनन् । उनको सुरक्षा र तपस्या तथा ज्ञानलाई लिपिबद्ध गर्ने काममा अवरोध नहोस् भनेर स्थानीय विदुर तामाङको संयोजकत्वमा व्यवस्थापन समितिसमेत बनाइएको छ । बम्जन आफूले आर्जन गरेको ज्ञानलाई लिपिबद्ध गर्न बस्नुअघि सबैसँग एकचोटि दर्शन गर्ने व्यवस्थापन समितिले जनाएको छ । तपस्वी बम्जन आश्रममा बसेपछि पनि दर्शन गर्न स्थानीय आइरहेका छन् । समितिले उनीहरूलाई सम्झाएर फर्काउने गरेको छ ।

बारादेखि सिन्धुपाल्चोकसम्मको यात्राबाराको हल्खोरिया जंगलबाट उनले २०६८ जेठ २ गते तपस्या समापन गरेका थिए । बारामा तपस्या गरेदेखि चर्चामा चुलिएका उनले विश्वभर आफ्ना भक्तजन बनाइसकेका थिए । तपस्यामा बसेदेखि अन्न नखाएका तपस्वी बम्जनले २०६८ चैत १९ गते ३५ राष्ट्रमा छरिएर रहेका आफ्ना भक्तजनबीचमा अन्न ग्रहण गरे । त्यसवेला उनले आफ्नै चेलाबाट अन्न ग्रहण गरेका थिए ।

तपस्याकै क्रममा २०६८ असोजमा आफ्ना बाबु गुमाएका उनले बौद्ध संस्कारअनुसार कर्मसमेत गरेका थिए । बौद्ध धर्मअनुसार ४९ दिनको कर्म हुन्छ । उनले आफूले आर्जन गरेको ज्ञान र तपस्या गरेको मैत्रीमार्गअनुसार बाबुको संस्कार गरेका थिए । उनले ७५ दिनमा बाबुको वार्षिकी गरेको स्रोत बताउँछ । बाराको रतनपुरी स्थायी घर भएका बम्जनको परिवारमा हाल एक आमा, दुई दाजु, दुई भाइ, तीन दिदी र एक बहिनी छन् । उनी घरका साइँला छोरा हुन् ।

स्थानीय रतनपुरी स्कुलबाट कक्षा तीनसम्म औपचारिक अध्ययन गरेका बम्जन त्यसपछि लामा पढ्न भारत गएका थिए । एक वर्ष भारतमा लामा शिक्षा अध्ययन गरेर नेपाल फिरेपछि उनी ध्यान गर्न हल्खोरिया गएको स्रोतले जानकारी दियो । स्रोतअनुसार भारतमा पाएको लामा शिक्षाकै प्रभावबाट उनी तपस्यामा लागेका हुन् ।

बाराको जंगलमा आफ्नो तपस्या सम्पन्न गरेका उनी २०६९ जेठ ३१ गते थप तपस्याकै लागि सिन्धुली गएका थिए । सिन्धुलीको बजारमै आश्रम बनाएर उनले तीन महिना तपस्या गरेको तेजुले बताए । तपस्यापश्चात् उनले २०६९ भदौ २७ देखि ३० गतेसम्म महादर्शन कार्यक्रमबाट भक्तजनलाई दर्शन दिएका थिए । ‘शान्त भूमि’ खोज्दै तपस्याका लागि उनी सिन्धुलीबाट सर्लाहीको पत्थरकोट गएका थिए । उनका सहयोगी तेजुका अनुसार बम्जन पत्थरकोटमा एक वर्ष पाँच दिन तपस्या गरेर बसेका थिए ।

विभिन्न स्थानमा महादर्शन गरेर आफ्ना भक्तजनलाई दर्शन दिने क्रममा बम्जन पत्थरकोटबाट पाँचदिने कार्यक्रम लिएर चितवनको शारदानगर पुगेका थिए । बम्जनले शारदानगरमा २०७० जेठ २७ देखि २९ सम्म महादर्शन कार्यक्रमबाट भक्तजनलाई दर्शन दिएका थिए । शारदानगरबाट सर्लाही फर्केका बम्जन टोड्केभिर आएका हुन् ।

के हुँदै छ सिन्धुपाल्चोकमा ?आफ्नै गृहजिल्लाबाट तपस्या सुरु गरेका बम्जन धर्म प्रचार–प्रसारका लागि अन्य जिल्लामा जाने गरेको उनका सहयोगी बताउँछन् । १४ वर्षकै कलिलो उमेरबाट तपस्या सुरु गरेका बम्जन अहिले २१ वर्ष पुगिसकेका छन् ।

बाराको रतनपुरी जंगलबाट तपस्या सुरु गरेका बम्जन शान्त ठाउँ खोज्दै सिन्धुपाल्चोक पहिलोचोटि आएका हुन् । बाँडेगाउँका स्थानीय भूगोलनाथ आचार्यका अनुसार बम्जन हेलिकोप्टरबाट ओर्लिएको दिन उनलाई हेर्न झन्डै चार सयको हाराहारीमा गाउँले आएका थिए । स्रोतअनुसार उनी ओर्लिएपछि दर्शनका लागि उभिएका गाउँलेको शिरमा हात राख्दै बम्जन अघि बढेका थिए । उनी आउनु चार दिनअघि उनका सहयोगी आश्रमस्थलको निरीक्षण गरेर फर्किएका थिए । बम्जन सिम्रिक एअरको होलिकोप्टरबाट सिन्धुपाल्चोक आइपुगेका हुन् ।

 उनको सुरक्षाका लागि आठ कुकुरसमेत ल्याइएको अर्का सहयोगी रामचन्द्र खड्काले जानकारी दिए । कुकरका साथै दुई जोडी खरायो र दुई घोडासमेत छन् । उनी आएकोबारे स्थानीय प्रहरी प्रशासनमा भने खबर छैन । आश्रमस्थलमा व्यवस्थापनका लागि गाउँलेले धेरै सहयोग गरेको खड्काले बताए । ‘स्थानीयको साथले धेरै सहयोग पुगेको छ,’ उनले भने, ‘गाउँलेको सहयोगकै कारण गुरुले चाहनुभएको काम सिद्ध गर्न सकिने विश्वास राखेका छौँ ।’ स्रोतअनुसार तपस्यास्थलभित्र बम्जनको निर्देशनअनुरूप दुई खाइवाले थान्कामा उनको चित्र बनाउने गरेको स्रोत बताउँछ । खाइवामध्ये एकजना जिल्लाको बाह्रबिसेका बासिन्दासमेत हुन् । बम्जन बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ध्यानमा रहने गरेका छन् ।














Post a Comment

 
Top