0

टाटुले भेट गरायो आमा–छोरालाई



बलिउडका चलचित्रमा टाटु चिह्नबाट वर्षौंसम्म विछोड भएका परिवार कालान्तरमा मिलन हुने देखाइन्छ । टाटुको सहयोगमा हराएको परिवारजन भेट्नु केवल फिल्ममा मात्र सम्भव हुन्छ । व्यावहारिक जीवनमा टाटुको भरमै हराएका व्यक्ति भेटाउनु भनेको केवल आठौँ आश्चर्यबाहेक अन्य हुन सक्दैन ।

तर, भारतको मुम्बई सहरमा बिहीबार यस्तै अनौठो घटना भयो । टाटुकै भरमा २४ वर्षअघि हराएको छोरा आमाबुबाले भेटाएका छन् । गणेश रघुनाथ धनगाढे नाम गरेका ती युवक ६ वर्षको हुँदा हराएका थिए । आफ्ना आमाबुबासँगै रेल चढ्ने क्रममा उनी हराए । धेरै भीडभाड भएको रेलवे स्टेसनमा आमाबुबाले छोराको खोजी व्यापक गरेका थिए ।

घन्टौँ खोजे पनि छोरा नभेट्टाएपछि आमाबुबा घर फर्केका थिए । जीवनभर आफ्ना छोरा गुमाएको सम्झेर रघुनाथका आमाबुबा बसे । छोराको अनुहार उनीहरूलाई याद छैन । तर, छोराको पाखुरामा खोपाएको टाटु भने रघुनाथका आमाबुबालाई सम्झना थियो ।

रघुनाथको दायाँ हातमा आमाको नाम ‘मान्दा’ लेखिएको छ । सोही टाटुको सहायतामा उनलाई आमाबुबा पत्ता लगाउन सजिलो भयो । टाटुकै भरमा रघुनाथलाई भेट्टाउँदा आमाबुबालाई सपनाजस्तै लाग्यो । सो घटनापछि आमाबुबा र छोराले टाटुलाई धेरै–धेरै धन्यवाद पनि दिएका छन् ।

रघुनाथ सन् २०११ मा प्रहरीमा भर्ती भएका थिए । सो भर्तीपछि उनले आमाबुबाको खोजी कार्य सुरु गरे । दुई वर्षको निरन्तर प्रयासपछि रघुनाथ एक गाउँमा पुगे । त्यहाँ उनले आफ्नी आमा मान्दा नामकी महिलाको खोजी सुरु गरे । पहिला आफू बसेको टुहुरा सेन्टरका सहयोगीका कारण आमाबुबाको खोजी गर्न सहज भएको रघुनाथले जानकारी दिएका छन् ।

केन्द्रमा छोरा हराएको भन्दै बारम्बार आइरहने ती महिलाको हुलिया र स्थान उनलाई दिइएको थियो । उनले ती महिलालाई भेटे र आफनो परिचय दिए । तर, ती आमाले उनलाई चिन्न सकेनन् । ती महिलाले आफनो छोरा हो भन्ने कुराको प्रमाण देखाउन भनिन् । त्यसपछि रघुनाथले टाटु देखाए ।

महिलाले आफ्नो छोरा चिनेपछि उनीहरू केही मिनेटसम्म शान्त रहे । रघुनाथकी आमा केही समयसम्म बोल्नै सकिनन् । एकछिन पछि दुवैले अंकमाल गरे । यत्तिका वर्षसम्म आफूलाई खोज्न आफ्नी आमाले ठूलै संघर्ष गर्नुपरेकोमा दु:ख लागेको उनले बताए ।

रघुनाथले भने, ‘भगवान्को कृपाले आज मैले आमा भेट्टाएको छु ।’ यता, आमा भन्छिन् ‘यो अरू केही नभएर भगवान्को लीला हो, आज मेरो छोरो पनि भगवान्ले नै मेरो घरदैलोसम्म ल्याइदिएका छन् ।’ रेलवे स्टेसनमा रघुनाथ हराएपछि उनलाई मुम्बईकै एकजना मछुवा (माछा मारेर आफ्नो जीविकोपार्जन गर्ने व्यक्ति) ले पालेका थिए । तर, मछुवा पनि कार दुर्घटनामा परेपछि रघुनाथ टुहुरा केन्द्रको शरणमा पुगे । टुहुरा केन्द्रमा बस्दा रघुनाथले आफ्नो परिवार र पहिलाका सबै घटना बिर्सिएका थिए ।

Post a Comment

 
Top