0

डुंगा दुर्घटनामा मर्नेको संख्या तीन सय पुग्ने आशंका

ल्याम्पेडुसा तट
पहिले आगलागी भएपछि डुंगा डुब्दा ज्यान गुमाउने अधिकांश इरिट्रिया र सोमालियाका छन्
अफ्रिकाबाट सुनौलो भविष्यको कल्पना गरी यूरोप जान लागेका आप्रबासीहरुले खचाखच भरिएको एउटा ठूलो डुंगा इटलीको टापु ल्याम्पेडुसा नजिकै आगलागी भएर डुब्दा मर्नेहरुको संख्या करीब तीन सय पुग्न सक्ने ठानिएको छ।
उक्त पानीजहाज दुर्घटनामा मारिनेहरु मध्ये अधिकांश इरिट्रिया तथा सोमालियाका छन्।
जहाजमा आगलागी भएपछि कैयौं यात्रुहरु समुद्रमा हाम फालेको बताइएको छ।
करीब डेढ सय मानिसहरुको उद्वार गरिएको छ।

आगलागी

इटलीका आन्तरीक मामिलासम्बन्धी मन्त्री एन्जेलिनो अल्फानोका अनुसार उक्त पानीजहाज लिबियाको मिस्राटाबाट आइरहेको थियो।
एक्कासी त्यसको मोटर बन्द भयो र जहाजमा पानी पस्न थाल्यो।
जहाजमा आइलागेको संकट टार्न छेउछाउका पानीजहाजको ध्यान तान्ने उद्देश्यले केही यात्रुले आगो बालेको तर सो आगो जताततै फैलिएको ठानिएको छ।
इटलीका प्रधानमन्त्री इनरीको लेट्टाले पछिल्ला वर्षहरुमा इटलीको तट नजिक भएकामध्ये सो सबैभन्दा ठूलो दुर्घटना रहेको ट्वीटरमार्फत उल्लेख गरेका छन्।
इटली सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ।

मानव तश्करी

"यस घटनाका पछाडिको वियोग तपाईं हेर्नुस्। यी मानिसहरुमध्ये कतिपयले युद्ध वा सास्ती वा मानव अधिकार उल्लंघनबाट बच्न आफ्नो देश छाडेका हुन सक्छन्। त्यसैले यो दर्दनाक घटनाका पछाडि बहुआयामिक पाटाहरु छन्"
एड्रियन एडवार्डस, प्रवक्ता, संयुक्त राष्ट्रसंघ शरणार्थीसम्बन्धी उच्चायोग
संयुक्त राष्ट्रसंघको अनुमानमा सन् १९९० को दशकको अन्त्यदेखि लिएर हालसम्म गरी भूमध्यसागर पार गर्ने क्रममा २० हजार जनाले ज्यान गुमाइसके।
गरीबी र युद्धले ग्रस्त आफ्ना देश छाडेर यूरोपमा जान लालायित मानिसहरुलाई मानव तश्करहरुले असुरक्षित तवरबाट लैजाने प्रवृत्ति देखिन्छ।
संयुक्त राष्ट्रसंघ शरणार्थीसम्बन्धी उच्चायोगका प्रवक्ता एड्रियन एडवार्डस भन्छन्, “यस घटनाका पछाडिको वियोग तपाईं हेर्नुस्। यी मानिसहरुमध्ये कतिपयले युद्ध वा सास्ती वा मानव अधिकार उल्लंघनबाट बच्न आफ्नो देश छाडेका हुन सक्छन्। त्यसैले यो दर्दनाक घटनाका पछाडि बहुआयामिक पाटाहरु छन्।”
उच्चायोगका अनुसार सन् २०११ मा मात्रै भूमध्यसागर पार गर्ने प्रयासमा १५०० मारिएका वा वेपत्ता भएका थिए।
सन् २०१२ मा त्यसरी मर्ने वा वेपत्ता हुनेको संख्या ५०० थियो।

Post a Comment

 
Top