जसको प्लेन चढ्यो उसकै बागी
१८ असोज,
विवादै विवादबीच नेपाली कांग्रेसबाट टिकट पाएका ओखलढुंगाका बालकृष्ण दाहालले उम्मेदवारी दर्ता गर्दा निकै ठूलो झड्का बेहोरेका छन् । पार्टी कार्यालय सानेपाबाट टिकट पाउने टुंगो लाग्नासाथ जिल्ला जान दाहालले हवाइजहाज चार्टर गरे । तर, उक्त जहाज चढी जिल्ला पुगेका सहयोगी पूर्व जिल्ला सभापति महेशकुमार कोर्मोचाले दाहालकै विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।
चुनावमा सहयोग गर्छ भनेर चार्टर गरेर प्लेनमा लिएर गएकाले नै उनीविरुद्ध बागी खडा भए । नेपाली कांग्रेसबाट ओखलढुंगा १ मा टिकट पाएका दाहालले आफ्नो मनोनयन पत्र दर्ता गराउन जिल्ला जान काठमाण्डौंबाट प्लेन नै चार्टर गरेका थिए । तर, कोर्मोचाले आफूविरुद्ध नै उम्मेदवारी दिएपछि दाहाललाई पहिलो गाँसमै ढुंगा लागेको छ । कोर्मोचाले काठमाण्डौंमा रहँदा पनि सकेसम्म आफूले टिकट पाउनुपर्ने भन्दै नेताको ढोका चाहारेका थिए । टिकट नपाएपछि जिल्लाका केही नेता तथा कार्यकर्ता जम्मा पारेर उनले दाहाल विरुद्ध गुटबन्दी गर्दै आएका थिए ।
त्यस्तै क्षेत्र नम्बर २ बाट कांग्रेसले रामहरि खतिवडालाई उम्मेदवार बनाएको छ । उनी विरुद्ध पनि अशोक कार्की र लक्ष्मी बाँस्कोटाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
Post a Comment