0

देशभरि कहाँ कसका बागी को उठे ?

 असोज १७ –

 देशका बिभिन्न निर्वाचन क्षेत्रमा दलका आधिकारिक उम्मेद्वार विरुद्ध बागी उम्मेदवारी परेको छ । सबैभन्दा धेरै कांग्रेसमा बागी उम्मेद्वारी देखिएको छ ।

कांग्रेस सभापति सुशील कोइराला लगायत दलका आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवारी परेको छ । सुशील कोइराला विरुद्ध चितवन ४ मा पूर्व जिल्ला सभापति विकास कोइरालाले उम्मेदवारी दिनुभएको छ । टिकट नपाएपछि विकास कोइराला वागी बन्नुभएको हो ।
काठमाडौ क्षेत्र नंबर ४ मा कांग्रेस युवा नेता गगन थापाका विरुद्ध नेतृ सुप्रभा घिमिरेले उम्मेदवारी दिनुभएको छ भने  क्षेत्र नंबर ३ मा एकीकृत माओवादीका गणेश रेग्मी विरुद्ध एकीकृत माओवादीकै गणेशबहादुर तामाङ उठ्नुभएको छ ।

तनहुँमा पौडेलको बागी उम्मेद्वार

तनहुँ क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको बिरुद्धमा बागी उम्मेद्वारी परेको छ । बाजागाजा र दलबल सहित पौडेलले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गरे लगत्तै तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गर्नुभएको हो ।

गगन थापा विरुद्ध सुप्रभा घिमिरे

नेपाली कांग्रेसकी नेतृ सुप्रभा घिमिरेले काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट जितेकी घिमिरेले आफ्नो साटो युवा नेता गगन थापालाई टिकट दिएको विरोधमा उम्मेद्वारी दर्ता गराउनु भएको हो ।
उहाँले बुधबार नेपाली कांग्रेस त्योगेको घोषणा गर्नुभएको थियो । यस्तै काठमाडौंकै क्षेत्र नं ३ बाट एकीकृत माओवादीका गणेश लामाले पनि स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । यो क्षेत्रमा माओवादीले गणेश रेग्मीलाई टिकट दिएको छ ।

क्षेत्रीय समितिले नै बागी उठायो

धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा  नेपाली कांग्रेसकां आधिकारिक उम्मेदवार तिलक रुवालीका बिरुद्ध बागी उम्मेद्वारी परेको छ ।
नेपाली कांग्रेसले धादिङ सल्यानटारका फणिकान्त छत्कुलीलाई आधिकारिक उम्मेदवारको सूचिमा राखेर अन्तिम समयमा तिलक रुवालीलाई टिकट दिएपछि क्षेत्रीय समितिले आधिकारिक उम्मेदवार बिरुद्ध छत्कुलीलाई वागी उम्मेदवार बनाएको हो ।
बागी उम्मेदवार बनेका छत्कुलीको पक्षमा पार्टीको झण्डा र व्यानर सहितको जुलुस निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । आधिकारिक उम्मेदवार रुवालीले भने प्रहरी सुरक्षाबीच विहान १० बज्नासाथ उम्मेद्वारी दर्ता गराउनुभएको थियो ।
आफूलाई केही व्यक्तिले उम्मेद्वारी फिर्ताका लागि दवाव दिएको भएपनि पार्टी केन्द्रले गरेको निर्णय अनुसार आफूले उम्मेद्वारी दर्ता गराएको रुवालीले बताउनुभयो । प्रहरी भ्यानमा निर्वाचन कार्यालय पुगेका रुवाली उम्मेदवारी दर्तापछि पनि प्रहरी भ्यानमा चढेर जिल्ला प्रहरी कार्यालय फर्कनुभएको थियो ।

नवलपरासीमा कांग्रेसका दुई बागी उमेद्वार

नवलपरासीको दुईवटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले बागी उमेद्वार उठाएको छ । नवलपरासीको क्षेत्र नं ४ मा कांग्रेस क्षेत्रीय सभापति गुणनिधि तिवारी र क्षेत्र नं ५ मा स्वास्थ्य बिभागका सदस्य राधेश्याम पाठकले बागी उमेद्वारको रुपमा मनोनय दर्ता गरेका हुन् ।
कांग्रेसले क्षेत्र नं ४ मा जिल्ला सभापति देवेन्द्रराज कँडेल र क्षेत्र नं ५ मा बिक्रम खनाललाई टिकट दिएपछि उनीहरु बागी बनेका हुन् । कांग्रेसले  टिकट बितरणमा कार्यकर्ताको कामको मूल्याङ्ककन नगरेकाले बिद्रोही उमेद्वार बनेको क्षेत्र नं ४ का उमेद्वार गुणनिधि तिवारीले बताउनुभयो ।

टिकट नपाएपछि कांग्रेसका पूर्व जिल्ला सभापति माओवादीमा

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति यज्ञबहादुर खत्रीले टिकट नपाएको भन्दै पार्टी छाडेर एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको छ ।
त्याग, इमान्दार, लगनशिलतालाई लत्याएर पैसाको भरमा भर्खर पार्टीमा आएकालाई टिकट दिएको भन्दै पार्टी छाडेको बताउनुभएको छ । जाजरकोट क्षेत्र नंबर २ बाट सिफारिसमा परेका खत्रीलाई पार्टीले टिकट नदिएर राजीवबिक्रम शाहलाई उमेद्वार बनाएको छ ।
यस्तै संस्थापन पक्षबाट कसैलाई पनि टिकट नदिएको भन्दै जाजरकोट खलंगाका रामजंग शाहले बागी उम्मेदवारी दर्ता गराउनुभएको छ । जाजरकोटको दुबै क्षेत्रबाट देउबा पक्षलाई मात्र टिकट दिएको भन्दै कार्यसमिति सदस्य शाहले क्षेत्र नंबर १ बाट स्वतन्त्र रुपमा उमेद्वारी दर्ता गराउनुभएको हो ।
कांग्रेसले क्षेत्र नंबर १ मा दीपकजंग शाहलाई उमेद्वार बनाएको छ । टिकटको लागि क्षेत्रीय समितिबाट सिफारिस हुनुभएका रामजंगले उम्मेद्वारी दर्तापछि भन्नुभयो, ‘मेरोे उम्मेदवारी कांग्रेसका उम्मेदवार विरुद्ध हो ।’

ओखलढुंगा कांग्रेसमा तीनजना बागी उम्मेद्वार

ओखलढुंगाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध तीनजनाको बागी उम्मेद्वारी परेको छ ।
निर्वाचन क्षेत्र नं २ मा आधिकारिक उम्मेदवार रामहरि खतिवडाविरुद्ध महासमिति सदस्य अशोक कार्की र पूर्व जिल्ला समितिका सचिव लक्ष्मी वास्कोटाले बागी उम्मेद्वारी दिनुभएको हो ।
जिल्ला नबस्ने र काठमाडौंमा व्यवसाय गर्नेहरुले टिकट पाएपछि इमान्दार कार्यकर्ताहरुको अवमूल्यन भएको भन्दै पार्टीमा विद्रोह गरेको कार्कीले बताउनुभयो ।
यस्तै क्षेत्र नं. १ मा आधिकारिक उम्मेदवार बालकृष्ण दाहालविरुद्ध पूर्व जिल्ला सभापति महेशकुमार कोर्मोचाले बागी उम्मेदवारी दिनुभएको छ । सिफारिसमा परेर पनि टिकट नदिएको भन्दै जनजाती नेताहरुको समर्थनमा उहाँले उम्मेद्वारी दिनुभएको हो ।
जिल्लाको सिफारिस केन्द्रले बेवास्ता गरेको भन्दै काँग्रेसभित्र व्यापक विवाद भएको छ । बागी उम्मेदवारहरुलाई नेता जयबहादुर श्रेष्ठ, टेकराज भट्टराई, कुमार लुईंटेल लगायतका नेताहरुको समर्थन छ ।
यस्तै एमालेका क्षेत्र नं. १ का उम्मेदवार यज्ञराज सुनुवारको विरोधमा ईश्वर जोशीले वागी उम्मेद्वार दिएनुभएको छ । पार्टीले निर्वाचन क्षेत्र नं. २ मा टिकट वितरण गर्दा जिल्लाको माग भन्दा बाहिर गएर गरेको भन्दै जोशीले बागी उम्मेद्वारी दिएको बताउनुभयो ।

धनकुटाका दुवै क्षेत्रमा कांग्रेसका बागी उम्मेद्वार

धनकुटामा काँग्रेसको संसदीय समितिले टिकट नदिएपछि असन्तुष्ट पक्षहरुले बागी उम्मेदवारी दिएका छन् ।  सुरुमा टिकट दिने निर्णय गरेर नाम काटिएका कमोट फोगोले धनकुटाको क्षेत्र १ बाट र महासमिति सदस्य अन्जना ताम्लीले क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएको हो ।
यी उम्मेदवारहरुलाई कांग्रेस धनकुटाका पूर्व सभापतिहरु हरिकुमार राई, हरि अधिकारी र गोपालप्रसाद पौडेलको समर्थन रहेको छ । कांग्रेसले धनकुटा १ बाट अजित नारायण सिं थापा र २ बाट आनन्द सन्तोषी राईलाई आधिकारिक उम्मेद्वार उठाएको छ ।

बझाङमा पनि कांग्रेसका बागी उम्मेद्वार  

अघिल्लो संविधानसभा चुनावमा ६ पार्टीको उम्मेदवारी दर्ता भएको बझाङ जिल्लामा यसपाली १४ दलका २८ जनाको प्रत्यक्षमा उम्मेदवारी परेको छ । क्षेत्र नं २ बाट नेपाली काङग्रेसका सत्यराज भण्डारीले बागी उम्मेद्वारी दिनुभएको छ ।  
पार्टीका आधिकारिक उम्मेद्वार नरेशबहादुर सिंहको बिरुद्ध भण्डारीले उम्मेद्वारी दिनुभएको हो । भण्डारी नेपाली काङग्रेसबाट क्षेत्र नं २ को लागि आकांक्षीको रुपमा सिफारिस हुनुभएको थियो ।  

खोटाङका दुबै निर्वाचन क्षेत्रमा कांग्रेसको बागी उम्मेदवार

खोटाङ, असोज १७ – खोटाङका दुबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका बागी उम्मेदवार उठेका छन् । क्षेत्र नम्बर १ मा क्षेत्रीय सचिव श्यामकुमार राई र क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापति बिष्णुराज राईले बागी उम्मेदवार दिनुभएको हो ।
उम्मेदवारको टिकट बितरणमा असन्तुष्ट जनाउँदै बागी उम्मेदवार दिइएको बादी उम्मेदवार बिष्णुराज राईले बताउनुभयो । कांग्रेस केन्द्रीय समितिले क्षेत्र नम्बर १ मा महासमिति सदस्य नरेशकुमार श्रेष्ठ र क्षेत्र नम्बर २ मा जिल्ला सभापति बिष्णुकुमार राईलाई टिकट दिएको छ ।

ललितपुरमा माओवादी र कांग्रेसका बागी उम्मेद्वार

ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेस र २ मा एकीकृत नेकपा माओवादीका आधिकारिक उम्मेद्वारको बिरोधमा बागी उम्मेद्वारी परेको छ ।
१ नम्बरमा तरुण दलका अध्यक्ष उदयशमशेर राणाको बिरुद्ध गणेशकुमार केसीले बागी उम्मेद्वारी दिनुभएको हो । लगातार पाँच पटकसम्म राणा परिवारलाई टिकट दिएको भन्दै उहाँले त्यसको बिरोधमा आफूले उम्मेद्वारी दिएको बताउनुभयो ।
यस्तै ललितपुर २ मा एकीकृत नेकपा माओवादीका उम्मेद्वार सरोज सिंह डंगोलको बिरुद्ध जनक थापाले उम्मेद्वारी दिनुभएको छ । सिफारिसमा परेर पनि टिकट नपाएपछि उहाँले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गर्नुभएको हो ।

थप्पड हान्ने पदम कुँवर प्रचण्डसँगै उमेद्वार

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने बागलुङका पदम कुँवरले प्रचण्डकै निर्वाचन क्षेत्रबाट उमेद्वारी दिएका छन् । बिहीबार उनले प्रचण्ड उठेकै निर्वाचन क्षेत्र काठमाडौं १० बाट उम्मेद्वारी दिएका हुन् ।
उनले गएको वर्ष एकीकृत नेकपा माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डलाई थप्पड हानेका थिए । उनी एकीकृत माओवादीका पूर्व कार्यकर्ता समेत हुन् ।  

रसुवामा माओवादीको बिद्रोही उम्मेद्वार

पार्टीले टिकट नदिएछि एकीकृत नेकपा माओवादी रसुवाका निवर्तमान जिल्ला इन्चार्ज इन्द्रप्रसाद गोतामेले स्वतन्त्र रुपमा उमेद्वारी दिनुभएको छ । उहाँ पार्टीका आधिकारिक उमेद्वार प्रेम तामाङका बिरुद्ध बागी उठ्नुभएको हो ।
पार्टीको उमेद्वार तामाङ पार्टीको भावना, चाहना र मर्म विपरित चरम गुटबन्दीको आधारमा टिकट दिएको भन्दै उहाँले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

काभ्रेमा पनि माओवादीका बागी उम्मेद्वार

काभ्रेमा पनि एकीकृत नेकपा माओवादीका आधिकारिक उम्मेद्वार बिरुद्ध बागी उम्मेद्वारी परेको छ । क्षेत्र नम्वर १ मा सूर्यमान दोङ विरुद्ध वाईसीएलका जिल्ला नेता तेजप्रसाद गौतमले उम्मेद्वारी दिनुभयो ।

माओवादी केन्द्रीय सदस्य बिरुद्ध बागी उमेद्वार

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य महेश्वर गहतराज अथक विरुद्ध बाँके क्षेत्र नंबर १ मा बागी उमेद्वारी परेको छ । थारुवान राज्य समिति सचिवालय सदस्य भट्टराई पक्षीय नेता भीमप्रसाद देवकोटा लोसीले बागी उमेद्वारी दिनुभएको हो ।

विना मगरका विरुद्ध बागी उम्मेदवारी

कञ्चनपुर क्षेत्र नम्बर १ मा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगरका विरुद्ध बागी उम्मेदवारी परेको छ ।
बाजागाजा सहित एकीकृत नेकपा माओवादीका ४ वटै निर्वाचन क्षेत्रका उम्मेदवारले मनोनय दर्ता गरे लगत्तै प्रत्यक्षमा नाम सिफारिस नभएका गगन सिंहले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँले पार्टीले फिल्डमा खटिएर पार्टीका लागि काम गर्ने कार्यकर्ताहरुको मर्म र भावना नबुझेरै उम्मेद्वार छनोट गरेको प्रति असन्तुष्टी जनाएको बताउनुभयो ।
उम्मेदवारी दर्ता पछि पत्रकारसंगको कुराकानीमा उहाँले आफुलाई निर्वाचन क्षेत्र नम्बर १ का सबै पार्टी कार्यकर्ताले समर्थन गरेर उम्मेदवारी दिन लगाएको बताउनुभयो । विना मगरका विरुद्ध उम्मेद्वारी दर्ता गराएका गगन सिंह एकीकृत नेकपा माओवादी थारुवान राज्य समितिका कार्यालय सदस्य हुनुहुन्छ ।
गएको वर्ष माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाशले विना मगरसँग बिवाह गर्नुभएको थियो । तर प्रकाशले भने विवाह अस्वीकर गर्दै आउनुभएको छ ।

Post a Comment

 
Top