के पो रहेछ भनेर म घुस्रिँदै भिडभित्र पसें । ‘के के पो देख्नुपर्छ यार...’ पुर्वेली शैलीमा फत्फताउँदै एउटा केटो भिडबाट बाहिरियो ।
ट्याक्सीभित्रै बच्चा जन्मिएको रहेछ । बेथाले च्यापेपछि अस्पताल हिँडेकी गर्भवती ट्याक्सीमै हलुङ भएकी रहिछन् । अस्पताल, डाक्टर, विभिन्न उपकरण र औषधिले गर्ने काम काठमाडौंको उवडखावड सडकले नै गरिदिएछ क्यारे । थप एउटा शिशुले प्राकृतिक रुपमा जन्मन त पायो । भत्किएको सडकले राम्रो पनि काम गर्दो रहेछ भनौं । उवडखावड सडकको पहिलो राम्रो नतिजा पो हो कि त !
गाउँघरमा उबेला हिँड्दाहिँड्दै परालको कुन्युमा वा घाँसको थुप्रोमा सुत्केरी भएजस्तो शहरमा उनी गुड्दागुड्दै ट्याक्सीमा सुत्केरी भएकी थिईन् । अलिपछि थाहा भयो, केटी अविवाहित रहिछ ।
पछिल्लो समयको एउटा समस्याकी प्रतिनिधि पात्र पो परिछ केटी त । सोच्छु बाआमा, साथीसंगी, छरछिमेकीले पनि ९ महिनासम्म बढ्दै गएको पेट देखेर केही सोधीखोजी गरेनन् कि ? कि थाहा पाएर पनि सामसुम पार्न खोजेका होलान् ? कि अर्काको समस्यामा किन टाउको दुखाउने भन्ने बेमतलवी शहरी पारा पो हो कि ?
माथ्लाघरकी भाउजु बिरामी भएपछि प्रसूति गृह छिरेको थिएँ म । बहिनी पनि त्यहीं भेटिई । म उनको पछिपछि लोग्नेमानिसलाई प्रवेश निषेध लेखिएको प्रसुति गृहको आकस्मिक कक्षको बाहिरसम्म पुगें । राम्रो अनुहार भएकी नर्सले कागलाई छेरौटी लागेजस्ता अक्षरमा के के लेखेको चिर्कटो बहिनीलाई दिई ।
आँखा तन्काएर हेरें बच्चाको धड्कन नसुनिएको र अपरेशन गर्नुपर्ने भएकाले बच्चा र आमालाई केही भए उजुर गर्ने छैन...........यस्तै यस्तै के के लेखेको त्यो मञ्जुरीनामामा उनले सही गर्न लगाइन् ।
आफन्तलाई अपरेशन थिएटरमा छिराएपछि के हुने हो कसो हुने हो भन्ने चिन्ताले थलिएका आफन्त बाहिरपट्टि निन्याउरो मुख लगाएर बसिरहेका छन् । कोही घोसेमुण्टो लगाएर बसेका ।
कोही अर्काको अनुहार पढिरहेका । कोही भगवानलाई सम्झेर जम्ल्याहा हात गरिरहेका । कोही आशावादी । कोही आत्तिएका जस्ता । धेरैजसो मायालाग्दा मान्छे फुंग उडेको अनुहार लिएर टुसुक्क बसेका छन् ।
भाउजूलाई ओटीमा छिराएको ३ घण्टासम्म केही खबर आएन । दमकको आम्दा अस्पतालमा त्यस्तै २५ मिनेट जतिमा मेरो बच्चा जन्मिएको थियो । त्यसको तुलनामा यो समय धेरै बढी थियो ।
अघिकी नर्सले ल्याप्चे गराएको ब्यहोराका कारण पनि चिन्ता बढेको थियो । चिन्ताको पारो चारभञ्ज्याङ नै कटौला झै गरि उक्लिरहेको छ । हामी एकअर्काको मुख हेर्दै बसेका छौ । तर गर्न सकिने के नै छ र ? कतै भाउजुलाई अघि नै पो यता सारिसकेकी भनेर लुसुक्क पोष्ट अपरेशन रुममा बहिनीलाई जान भनें । नर्सले सातो जानेगरि हप्काएर धपाइछन् ।
ओटीको बाहिरपट्टी दामनका शिव तामाङ्ग उँघिरहेका थिए । श्रीमती सुत्केरी भइसकेपछि रगत धेरै बहेका कारण आमालाई रगत दिएर राखिएको रहेछ । बच्चा चाहिँ आइसीयुमा । विरामी रुघाँलुको मनोविज्ञान मिल्ने नै भयो । मान्द्रोजस्तै वेरेर राखेको कालो फम भुइमा ओच्छ्याउँदै उनले भने ‘बसौं न भाइ ।’
छिप्पिएको रक्सीलाई बिर्साउने गरि डुङ्डुङ्ती गनाउने मोजा खोल्दै पलेटी कसें र साउती मारेजस्तो गरि सुनाए भाई १६ हजार सकिसक्यो ३ दिनमा । अब चाहिँ निको होला कि, हरौं । आमा बच्चा दुवैलाई भेट्न नदिने हुनाले उनलाई एकखालको ढुक्क थियो । गफ गर्दागर्दै उनी त्यही निदाए र घुर्न थाले ।
‘कस्तो असत्ति रछ, हेर त अहिलेसम्म नानीलाई न खान देको छ न लुगा छ । हैन कस्ता कस्ता ल्वाँठ पनि बाबु हुन्छन हौ’ काखमा शिशु बोकर च्याठिंदै आएकी महिलाको पछिपछि अर्की युवती पनि थिइन् । महिलाले फत्फताउँदै शिशुलाई लुगा लगाइदिइन् । शिशु चिटिक्कको देखियो । त्यहि बखत प्यासेजमा आइपुगेकी अर्की महिलासंग उनले अनुनयविनय गरिन् । फतरफतर गर्ने भएपनि दिदी साह्रै फर्साइली भएको बुझ्न समय लागेन ।
काठमाडौको मनमैजुमा विहान १० बजेतिर बच्चा जन्मिएपनि साल नझरेपछि अस्पताल ल्याइएकी आमाको दुध झर्ने कुरा भएन । बच्चोलाई एउटा कपडामा बेरेर यसै राखिएको रहेछ । बच्चापनि कत्ति सन्तोकी च्याँ सम्म नगरि फुसुफुसु निदाइरहेको । ती दिदीको पहलमा लुगा र प्याकेटको दुधको प्रबन्ध मिल्यो । सबैजनाले बच्चाको हेरचाह नगरेकोमा बाबु चाहिँ लाई गाली गरे । पट्पटी फुटेका नांगा कुरकुच्चा लिएर उनी चुपचाप खडा थिए ।
पैसा भएन होला केले किनुन लुगा र लगाइदिउन् बच्चालाई ? अभावभन्दा ठुलो कुरा के हो र जिन्दगीमा । लाग्यो कम्तिमा आमा विरामी नभएकी भए कतिपल्ट दुध चुसाइसक्थिन होला । पोषण नभएर दुध नआएपनि लाम्टामा मुख राखिदिन्थीन होला र सुम्सुम्याउथिन होला बच्चोलाई । जति गरेपनि बाबु आमा बन्न कहाँ सक्छ ?
मानिसहरु थरिथरिका गफ गरिरहेका छन् । कोही छोरा जन्मियो भन्दै मोबाइलमा कसैलाई भनिरहेका छन् । पहिलेका दुइटी छोरी अनि अहिले छोरो । उनीहरुका मुहार त्यसैत्यसै धपधपी उजिल्लिएको देखिन्छ । समानताका कुरा जति गरेपनि महिलाकै दिमागमा छोरा नै पाउनुपर्ने धङधङी देखिन्छ ।
४ घण्टाजति पछि भाउजु हलुङ्ग हुनुभयो । के भयो र कसो भयो भन्ने औडाहा क्षणमै शान्त भयो । बच्चालाई ओटीबाट वेडसम्म लैजाने प्रारम्भिक चरणका २ जना सुसारे थिए । ल भाइ यसो लड्डु त खान पर्यो छोरा जन्मेको छ । उनीहरुले बाबु भन्ठाने होलान् मलाई । सय रुपैयाँ हातमा हाल्देर म भाउजू सुताएको स्टेचर तान्दै वार्डतिर लागें । आमाहरु जो एकबित्ता पेट चिरेर पनि सन्तानको भविष्यको सुखद कल्पनामा मुस्कुराईरहेका । उनीहरुका रुघाँलु के के जाती गरिरहेका ।
केटोमान्छे भएका कारण त्यहाँ धेरैबेर बस्ने अनुमति भएन । बाहिरपट्टी गफ लडाइरहेका बाउहरुलाई छिचोल्दै म अझै बाहिर आएँ । सुसारेको टोली अर्को बच्चा र आमा लिएर भित्र जाँदै थिए । रातीको १ बजेको हुँदो हो, म पारिपट्टी कुपण्डोलमा रहेको डेरातर्फ लम्किएँ । गेट बाहिर नर्भिक अस्पताल उज्यालो देखियो । केहीपल्ट त्यहाँ जादा देखेको छु त्यो अस्पताल होइन तारे होटल जस्तो छ । क्यान्टिन, क्याविन वेड वा विरामी जाँच्ने ठाउँ वा अरु कुनै शाखा मात्र होइन त्यहाँ विरामी पनि उच्चस्तरीय आउँछन् प्रायः ।
सम्झें ट्याक्सीमा बच्चा जन्माउने महिला, माथ्लाघरकी भाउजु, शिव तामाङकी जहान वा मनमैजुकी ति महिला पनि उच्चस्तरीय हुन्थे भने बेथा नै नलागि क्याविन लिएर अस्पतालमा बस्थे होलान् नि । थापाथलीमा आमनेसामने रहेका यी २ अस्पताल हुँदाखाने र हुने खानेका वीचको खाडल देखाउने राम्रो उदाहरण हुन् शायद ।
आमनेसामने रहेका यिनिहरुले २ वर्गको प्रतिनिधित्व गर्छन् शायद, हुनेखाने र हुँदा खानेको । संसार र समाज यसरि नै त चलेको छ । गम्दै कोठातिर फर्कदै गर्दा अर्को ट्याक्सी प्रसूतिगृहको गेटबाट छिर्दै थियो । संगै अर्कोतिरबाट ठोक्किएको नानीको च्याँ आवाजले झसंग बनायो । सम्झें कतै फेरि कोही ट्याक्सीमै त सुत्केरी भएन ? त्यस्तो दुर्लभ संयोग सधैंभरि कहाँ मिलोस !
Post a Comment