म फर्किएँ, दशैं फर्किएन
विनोद ढकाल
स्कुलको प्रार्थना सकिएर हामी भर्खर कक्षाकोठामा पसेका थियौं । हाजिर गर्न आउने सरले पढाउने सुरसार गर्नुभएन । बरु भन्नुभो ‘सबैले किताब यहीँ राख, तिमीहरुको केही हराउँदैन, आज हामी कमेरो लिन जाने ।’
स्कुलमा सबै कक्षाका विद्यार्थीको लागि जिम्मेवारी बाँडिएको थियो । कसैले कमेरो ल्याउने, कसैले ग्राउण्ड सफा गर्ने, कसैले बढार्ने, कसैले स्कुलको भित्ता र गारोमा ठुटे कुचोले कमेरो छेप्ने । भोलीपल्ट स्कुलको भित्ता र गारोमा कमेरो छेपेर टिलिक्क टल्काएपछि बल्ल दशैं बिदा सुरु भयो अर्थात हामीलाई दशैं लाग्यो ।
स्कुल विदा भएपछि गाउँघरमा गर्नुपर्ने धेरै कामहरु थिए । पहिलो नम्बरमै थियो बाटो सरसफाइ र मर्मतसम्भार गर्ने । असार साउनमा बढेर बाटो छोप्न आइपुगेको बनमाराको झाडी फाँड्नुथियो । कतै पहिरो खसेर बाटो साँगुरो भएका त कतै सिँढीका ढुंगा झरेका हुन्थे ।
त्यसलाई मिलाएर चिटिक्क पार्नुपर्थ्यो । बाटो वरिपरीको झारहरु पनि सबै खुर्केर चिटिक्क पारिन्थ्यो । सबै काम हामी भुराहरुले मात्रै जान्ने र सक्ने कुरा पनि भएन । ठूलाहरुले साथ दिन्थे ।
फूलपातीको दिनतिर गाममा वडा स्तरिय भलिवल प्रतियोगिता हुन्थ्यो भने बेंशीमा क्लब स्तरिय फुटवल । हाम्रो घर बेंशीमा भएकाले फुटबलतिरै मन रमाउँथ्यो । वडा नम्बर ४ को खेल भएको दिनमात्र भलिबल हेर्न र हुटिङ गर्न गाउँ जान्थ्यौं । फुटबल प्रतियोगिता गर्ने रकम गाउँमै चन्दा उठाउँथ्यौं । खेलाडीहरुलाई खाना खुवाउन चामल र तरकारी घरघरबाट संकलन गर्थ्यौं ।
फुटबलको दुईटिम त हाम्रो गाउँमै हुन्थ्यो ए र बी । हाम्रो ध्याउन्न ए टिमलाई फष्ट बनाउने र बी लाई सेकेण्ड । त्यसैले कहिलेकाँही झगडा हुन्थ्यो । तर प्रतियोगिता भएरै छोड्थ्यो । अष्टमीको दिनसम्म प्रतियोगिता सकिन्थ्यो । अनिमात्र घरको काम गरिन्थ्यो– गोठालो जाने हो कि घाँस काट्ने हो ।
गाउँमा पिङ हाल्ने काम पनि छँदै थियो । यसमा भने साना केटाकेटीहरुको काम हुँदैनथ्यो, उही रमिते मात्र । हाम्रो गाउँमा लिंगे पिङ हाल्थे । माथिल्लो र तल्लोमा रोटेपिङ । लिंगे पिङ बाट्न एक दिन बेलुका उत्सवै हुन्थ्यो ।
गाउँका सबै घरबाट २ ÷२ मुठा बाबियो जम्मा गर्थ्यौं । बाबियो संकलन गर्न भने हामी भुराहरुको पनि काम आउँथ्यो । एक दिन साँझको खाना खाएपछि गाउँमा ठूलो आँगन कसको छ उसकोमा नै जम्मा भएर लठ्ठा बाटिन्थ्यो । तीन जना बलियो मान्छे बाबियो थप्दै त्यसलाई बटार्थे । एक जना सिपालु मान्छेले मिलाएर लठ्ठा बुन्थे । मध्यराततिर लठ्ठा तयार हुन्थ्यो ।
भोलीपल्ट बाँस काट्ने । चौरमा खाल्टो खनेर बाँस गाड्ने । त्यसमाथि गरालो राखेर लठ्ठा बाँध्ने गरिन्थ्यो । कन्याले सुरु गर्नुपर्छ भनेर कोही सानी केटीलाई पिङ खेलाएर उद्घाटन हुन्थ्यो । त्यसमा टीकाको दिन सबैले खेल्थे पालैसँग धर्ती छोड्नुपर्छ भनेर । अनि हामी रोटेपिङ खेल्न माथ्लो गाउँ जान्थ्यौं उताका मान्छे लिंगे पिङ खेल्न हाम्रो गाउँसम्म झर्थे ।
अहिले सम्झिँदा पनि अचम्म लाग्छ । हिजोआजका दशैं त्यस्तो छैन । गाउँमा फुटवल प्रतियोगिता हुन्न, भलिवल पनि हुन्न । पहिला दुई टिम बनाउँदा पनि धेरैको किचकिच हुन्थ्यो मलाई खेलाएनौं भनेर हिजोआज एक टिम पुर्याउन पनि गाह्रो ।
त्यसैले हिजोआज फुटबल भलिबल बन्द जस्तै भएको छ । पोहोर मैत्रीपूर्ण फुटवल खेले अरे गाउँकै दुई टिम बनाएर, एउटा बिबाहित बुढाहरुको टिम अनि अर्को अबिबाहित ठिटाहरुको टिम । यसपाली पनि भए त्यत्ति होला त्यहाँ भन्दा बढ्ता हुन्न ।
बाटोको झाडी पनि फाँडिएको छैन । बाटोभरि माकुराले जालो लगाएको छ । सिँढीका ढुंगा झरेको देख्ने कोही छैन । खोलामाथिको फड्के पनि मक्किसकेछ । स्कुल हेरेँ त्यो पहिलाजस्तो कमेरो टल्किएन । सिमेन्ट दलिएको रहेछ, फुस्रोफुस्रो देखियो ।
पिङ हाल्न पनि छोडिएछ । गाउँमा बाबियो पाइन छाड्यो रे । त्यसैले पहिले झैं लठ्ठा बाट्न छाडिएछ । कतैकतै बच्चाहरुले धेरै पिरे भने नाइलनको डोरीको पिङ हाल्दिँदा रहेछन् ।
मलाई त दशैं हराएको जस्तै लाग्यो । म त्यही दशैं भेटिन्छ की भनेर गाउँ पुग्छु तर ं भेटिएन । हामीले गाउँ छाडेसँगै त्यो दशैंले पनि गाउँ छाडेको थियो होला उ त्यसपछि आउन छाड्यो ।
यसपाली दशैंमा वल्लाघर पल्लाघर चाहर्न पनि मन लागेन । त्यहाँ गफ मिल्ने मान्छे छैन । बुढाबुढीले पहिल्यै सोध्छन् ‘बाबु कहिले जाने ?’ हुन पनि हो उनीहरुलाई थाहा छ यो २/३ दिनभन्दा बस्दैन ।
घरमा खसी काट्ने मान्छे त पाइन छोड्यो भलिवल, फुटवल खेल्ने, बाटो बनाउने र पिङ हाल्ने मान्छे कहाँबाट भेटिनु ? तर पनि अचम्म लाग्छ पसलमा तास खेल्न कोरम नपुगेर कहिल्यै रोकिएन ।
Post a Comment