0
ताप्लेजुङ घटनाको एमाओवादीद्वारा भर्सना डटेर सामना गर्न निर्देशन
विगत केही दिनदेखि एनेकपा माओवादीका उम्मेद्वार, नेता र कार्यकर्तामाथि आक्रमणका शृंखला बढ्दै गएको भन्दै सरकारसँग सुरक्षाको प्रवन्ध गर्न आग्रह गरिएको छ । साथै आफ्नो तर्फबाट यस्ता गतिविधिहरु नगर्ने प्रदिवद्धता जाहेर गर्दै आफूहरुमाथि आक्रमणका घटनाहरु बढने भएकाले उच्च सतर्कता अपनाउन र आइलागे त्यस्ता गतिविधिहरुका विरुद्ध डटेर सामना गर्न निर्देशन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ । प्रेस विज्ञप्ति आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)को तर्फवाट ताप्लेजुङको क्षेत्र नं १ मा प्रत्यक्षतर्फका उम्मेदवार सञ्चपाल मादेनसहितका कार्यकर्ताहरुमाथि आज विहान ३.३० वजे सुतिरहेको अवस्थामा भएको बर्वर र कायरतापूर्ण आक्रमणप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचन प्रचार प्रसारका क्रममा ताप्लेजुङ क्षेत्र नं १ को मेहले गाविस वडा नं २ मा पुगीे राति घरमा सुतिरहेको बेला मोहन वैद्यले नेतृत्व गरेको समूहका सन्तोष पतङ्वा, परशुराम पौडेल, तारा थापासमेतको हातहतियारसहित आएको एक समूहले घर घेरेर सांघातिक आक्रमण गरेको छ । सो आक्रमणवाट पूर्व सभासदसमेत रहनुभएका उम्मेदवार सञ्चपाल मादेनसहित १५ जना घाइते हुनुभएको छ । घाइतेमध्ये उम्मेदवार मादेनसहित ३ जनाको अवस्था गम्भीर छ । उहाँहरुलाई उपचारका लागि सदरमुकामतर्फ ल्याइदैछ । आक्रमणकारीले अभियान टोलीसँग रहेको नगद, मोवाइल, क्यामरा, रेकर्डरसहितका सञ्चार साधन, प्रचार–प्रसारका सामग्री, सुन, घडीलगायतका सामानसमेत खोसेर लगेको छ । हाम्रो पार्टी उक्त आक्रमणको घोर निन्दा र भत्र्सना गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना एवम् घटनामा संलग्न अपराधीहरुमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दछ । उम्मेदवारसहितको प्रचार टोलीमाथि यसप्रकारको गम्भीर आक्रमण हुँदा पनि सरकारले आवश्यक सुरक्षा, घाइतेको उद्धार गरी सिघ्र उपचारको व्यवस्था मिलाउन नसकेकोमा दुःख प्रकट गर्दछ । सरकारका सुरक्षाकर्मीको चरम लापर्वाही र सुरक्षा चुनौति रहेका उम्मेदवारको सुरक्षामा पर्याप्त ध्यान दिन नसकेकै कारण यसप्रकारको घटना भएको ठहर गर्दै सरकारलाई निर्वाचन प्रचार प्रसारका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन माग गर्दछ । हाल केही दिन यता देशका विभिन्न भागमा हाम्रो पार्टीका उम्मेदवारसहितका नेता, कार्यकर्ता माथि आक्रमण गर्ने, प्रचार सामग्री नष्ट पार्ने तथा शान्तिपूर्ण कार्यक्रममा ढुंगा प्रहार गर्ने र सवारी साधनमा आक्रमण गर्ने जस्ता कार्यमा केही समूहको सक्रियता रहेकाले आम पार्टी पङ्तिलाई उच्च सतर्कताका साथ रहन तथा हामी माथि आइलाग्नेहरुको डटेर प्रतिकार गर्न निर्देश गरिन्छ । अग्निप्रसाद सापकोटा प्रवक्ता एकीकृत नेकपा माओवादी

Post a Comment

 
Top