0

खुमबहादुर छुट्दा यस्तो तामझामको तयारी

 असोज २२ – 

भ्रष्टाचारको अभियोगमा १४ महिनासम्म जेल सजायँ पाएर छुट्दा कांग्रेस नेता खुमबहादुर खड्काले चुनाब जितेको नेताले झैं तडकभडक र तामझाम गर्ने भएका छन् ।

जेल जाँदा समेत उसैगरी शक्ति प्रदर्शन गरेका खड्काले छुट्दा पनि विजय र्‍यालीलाई झल्को दिने गरी तामझाम गर्न लागेका हुन् । जेलबाट निस्कने बित्तिकै फूलमाला र अबीरजात्रा गर्दै र्‍याली निकाल्ने योजना अनुसार जिल्ला जिल्लाबाट कांग्रेस कार्यकर्ता काठमाडौं आउँदैछन् ।
खड्का बुधबार विहान ११ बजेभित्र डिल्लीबजार जेलबाट छुट्ने कार्यक्रम छ । त्यसैले मंगलबार बेलुकीसम्म उनको गृहजिल्ला दाङ सहित बाँके, बर्दिया, पर्सा, रौतहट, बारा लगायत जिल्लाबाट कार्यकर्ता काठमाडौंमा जम्मा हुँदैछन् । दाङबाट मात्रै ४० वटा बसमा कार्यकर्ता काठमाडौं आउँदैछन् ।
डिल्लीबजारबाट खड्का निवास सानेपासम्म स्वागत र्यालीको तयारी छ । ‘हामीले बनाएको योजना त होइन, तर कार्यकर्ताले भव्य स्वागतको तयारी गरेका छन्’ खड्काका स्वकीय सचिव चुडामणि कँडेलले उज्यालो अनलाइनसित भन्नुभयो । कार्यकर्ताले डिल्लीबजारबाट खड्कालाई बीचमा राखेर अघिपछि मोटरसाइकलको ताँती लगाउने योजना बनाएका छन् ।
निवास पुगे लगत्तै खड्काका ससुराली पक्षत्रले आरती उतार्ने तयारी समेत गरेका स्रोतको भनाई छ । जेलबाट छुटे लगत्तै खड्काले डिल्लीबजारमै पत्रकार सम्मेलन गर्ने तयारी छ ।
स्रोतका अनुसार उनले जेल जीवन र भावी योजनाबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउनेछन् । सबै निर्वाचन क्षेत्रमा पुगेर कांग्रेसका उम्मेद्वारलाई भेट्ने र जिताउनको लागि प्रचारमा लाग्ने खड्काको योजना छ ।
कांग्रेसका शक्तिशाली मानिने खड्का जेलमा रहँदा उनलाई एकलाख २३ हजार जनाले भेट गरेका छन् । यसरी भेट्नेमा कांग्रेसका नेता कार्यकर्तासँगै सुरक्षा निकायका उच्च अधिकृत समेत रहेको स्रोतको भनाई छ । सर्वोच्च अदालतले खड्कालाई २०६९ साउनमा भ्रष्टाचारी ठहर गरी कैद सजायँ सुनाएको थियो ।

Post a Comment

 
Top