0

बागीलाई फकाउँदै कांग्रेस



रमेश सापकोटा/
शीर्ष तीन नेतासहित २० भन्दा बढी प्रत्यक्षतर्फका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेपछि कांग्रेस उनीहरूलाई मनाउने गृहकार्यमा लागेको छ । विधि र प्रक्रिया नपुर्‍याई उम्मेदवार तोकिएको भन्दै १६ असोजमा २० भन्दा बढी कांग्रेसका नेताले बागी उम्मेदवारी दिएका थिए ।

निर्वाचन आयोगमा उम्मेदवारी फिर्ता लिने समय २२ असोजअघि बागी उम्मेदवारलाई मनाउन शीर्ष नेताहरू पार्टीगत तथा व्यक्तिगत रूपमा लागेका छन् ।

सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आफूनिकटका नेता प्रयोग गरी बागीहरूलाई मनाउने प्रयास गरेको एक नेताले जानकारी दिए । ‘पार्टीले बागी उम्मेदवारको विषयमा छलफल गरिरहेको छ,’ ती नेताले भने । नाम फिर्ता गर्ने दिनअघि नै असन्तुष्टलाई मनाइछाड्ने मनस्थितिमा नेताहरू रहेको उनले जानकारी दिए ।

आइतबार पनि सभापति कोइराला, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेताले बागी उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गरेका थिए । 
छलफलपछि मुख्यसचिव चीनकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बागी उम्मेदवारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्तो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ । विज्ञप्तिमा पार्टीको आदर्श र मर्यादा पालन गर्दै उम्मेदवारी तुरुन्त फिर्ता लिई आधिकारिक उम्मेदवारलाई विजयी गराउन आग्रह गरिएको छ । असन्तुष्टका गुनासालाई पार्टी संयन्त्रले सम्बोधन गर्ने पनि कांग्रेसको भनाइ छ । सभापति कोइरालाले पनि केही दिनअघि अपिल जारी गर्दै पार्टीमा त्याग गरेकालाई उचित अवसर र सम्मान दिने बताएका थिए ।

सभापति सुशील कोइरालाविरुद्ध चितवन ४ मा पूर्व जिल्ला सभापति विकास कोइराला, नेता शेरबहादुर देउवाविरुद्ध कैलाली ६ का पूर्वसांसद गंगाबहादुर कुँवर र उपसभापति रामचन्द्र पौडेलविरुद्ध तनहुँ २ मा तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले बागी उम्मेदवारी दिएका छन् । त्यस्तै, अन्य २० भन्दा बढी नेताविरुद्ध पनि बागी उम्मेदवार खडा भएका छन् ।

प्रत्यक्षमा आफ्नो नाम नपरेको भन्दै काठमाडौं ४ मा ०६४ को संविधानसभामा जितेकी नेतृ सुप्रभा घिमिरेले पनि कांग्रेस परित्याग गरी सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

क्षेत्र र जिल्लाको सिफारिसविना नै कांग्रेसको संसदीय समितिले उम्मेदवार चयन गरेपछि बागी उम्मेदवार खडा भएका हुन् । त्यस्तै, महिला कोटा पुर्‍याउन भन्दै टिकट पक्का भइसकेकाको नाम हटाइएपछि जिल्ला तहका नेता आक्रोशित भएका थिए ।

पार्टीको विधानविपरीत उम्मेदवार बनाइएपछि काठमाडौं २ को क्षेत्रीय समितिले उम्मेदवार नै बहिष्कार गर्ने चेतावनी दिएको छ । कांग्रेसले अहिले कायम भएको ७९ केन्द्रीय सदस्यमध्ये आधालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । त्यस्तै, अघिल्लोपटक चुनाव जितेका तीन–चार सदस्यबाहेक सबैलाई उम्मेदवार बनाइएको छ । कम मत अन्तरले पराजित भएकालाई समेत कांग्रेसले उम्मेदवार बनाएको छ ।

Post a Comment

 
Top