0

टाइम्स अफ इन्डियाको समाचार झुट्टो : नेपाली सेना

 असोज २० - 

नेपाली सेनाले प्रधानसेनापति गौरव शम्शेर राणाले भारत भ्रमणको क्रममा कुनै पनि सञ्चारमाध्यमलाई अन्तवार्ता नदिएको प्रष्ट पारेको छ ।

सेनाले आइतबार विज्ञप्ती निकालेर प्रधानसेनापतिले भारत भ्रमणका क्रममा कुनै पनि सञ्चार माध्यमलाई अन्तर्वार्ता नदिएको दावी गर्दै केही सञ्चारमाध्यममा आएका खबर तथ्यहिन र भ्रामक रहेको उल्लेख गरेको छ ।
राणाले असोज १३ गतेदेखि १९ गतेसम्म भारतको भ्रमण गर्नुभएको थियो । त्यसक्रममा राणाले आफूलाई चण्डिगढमा विशेष अन्तर्वार्ता दिँदै चीन कुनै पनि हालतमा भारतमा घुस्न नसक्ने बताएको समाचार भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित गरेको थियो ।
टाइम्स अफ इन्डियालाई उद्धृत गर्दै केही नेपाली सञ्चार माध्यममा पनि त्यो समाचार आएको थियो । नेपाली सेनाले भने राणाले भारत भ्रमणका क्रममा कुनै पनि सञ्चार माध्यमसँग कुराकानी नगरेको दावी गरेको  छ ।
‘विगत केही दिनयता केही सञ्चार माध्यमहरुमा प्रधानसेनापति श्री राणाले नेपाल र छिमेकी मुलुकहरुको सुरक्षा र सो संग सम्बन्धित विषयबस्तुहरुमा टिकाटिप्पणी गर्दै अन्तर्वाता दिएको भन्ने समाचार तथ्यहिन र भ्रामक भएको नेपाली सेना स्पष्ट पार्न चाहन्छ’, सैनिक जनसम्पर्क निर्देशनालयका तर्फबाट निकालिएको विज्ञप्तिमा भनिएको छ ‘सप्ताहव्यापी उक्त भ्रमणका दौरान प्रधानसेनापति श्री राणाले सञ्चार जगतलाई कुनै किसिमको औपचारिक अन्तर्वाता नदिएको हुँदा उक्त टिकाटिप्पणी आफैंमा अप्रासङ्गिक तवरले संप्रेषण गरेको देखिन्छ ।’
नेपाली सेना वा नेपाली सेनाको नेतृत्वले त्यस प्रकृतिको गैर जिम्मेवारीपूर्ण टिकाटिप्पणी गर्ने संभावना नै नरहेको र त्यस प्रकृतिको टिकाटिप्पणी सैनिक नेतृत्वबाट नभएको सेनाले स्पष्ट पारेको छ ।

Post a Comment

 
Top