0

वालवालिका पढ्ने विद्यालयमा चुनावी सभा

आचारसंहिता भन्छ-विद्यालयमा कार्यक्रम गर्न पाइँदैन

ज्ञानेन्द्र खड्का
८ कात्तिक, 
 नेपाली काँग्रेसले पाँचथरको रानीटार गाविसस्थित रानीटार उच्च माविमा चुनावी सभा गरिरहेकै बेला बुधबार वैद्य माओवादीका कार्यकर्ताले ढुंगा मुढा बर्साए । रानीटार उच्च माबिको खेल मैदानमा सभा चलिरहेका बेला वैद्य माओबादी कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा विद्यालयका फर्निचरमा क्षति पुगेका थियो ।
ठूला नेताका चुनावी सभा विद्यालयमै
ठूला दलका ठूला नेताका चुनावी सभा पनि विद्यालयमै सम्पन्न हुन थालेका छन् । संविधानसभा निर्वाचन आचारसंहिता ०७०, परिच्छेद २ को ३५ मा विद्यालय र विद्यालय हाताभित्र आमसभा, माइकिङ्ग लगायत निर्वाचन प्रचारका काम गर्नु हुँदैन भन्ने व्यवस्था विपरित काठमाडौ १० का उम्मेदवार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राराहिल मावि कीर्तिपुरमा चुनावी सभा गरेर राजनीतिक भाषण दिँदा पनि निर्वाचन कार्यालयले थाहा पाएन ।
सिरहा ५ बाटसमेत उठेका एमाओवादी अध्यक्ष प्रचण्डले सिरहाको जम्दह गाउँ विकास समिति-२ स्थित जम्दह माध्यामिक विद्यालय प्रांगणमा शुक्रबार चुनावी सभालाई सम्वोधन गर्नुभएको छ । विद्यालय हातामै वहाँले राजनीतिक भाषण दिन भ्याउनुभयो । विद्यालय हातामा प्रचण्डले चुनावी सभालाई सम्वोधन गर्न आउने थाहा पाएपछि सशस्त्र समूहले विद्यालय परिसरमै सकेट वम समेत राख्न भ्याएको थियो ।
संविधानसभा निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक गर्नुभएका काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार प्रकाशमान सिंहले ब्लुस्काई स्कुल घट्टेकुलोमा चुनावी सभा गरेर भाषण गर्न भ्याउनुभयो । उहाँ आफैंले विहीबार सार्वजनिक गर्नुभएको कांग्रेसको घोषणापत्रको ५.१४ नं. बुँदामा शिक्षामा विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ ।
देशैभरि विद्यालयमा कार्यक्रम
नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत ओखलढुंगाको खिजीकाती गाविसको कुण्डली मावि रावादोलुको हिमगंगा माविमा पनि चुनावी पोष्टर र व्यानर समेत टाँगेर बुधबार चुनावी आमसभा गर्‍यो । एमाले ताप्लेजुङले क्षेत्र नं.१ को महेन्द्र निम्न माध्यमिक विद्यालय लिङखिम, मयाम माध्यमिक विद्यालय फुरुम्बु, जनता उच्च माध्यमिक विद्यालय हाङदेवा, सिद्धकाली उच्च मावि दोखुमा चुनावी सभा सम्पन्न गर्‍यो ।
एमाओवादीले सिद्धेश्वरी मावि सादेवा, सिंहेश्वरी मावि आंखोप, सिंहदेवि निमावि साब्लाखु, सिदिङमा प्रावि लिम्वुदिन र निलगिरी उच्च मावि मेहेलेमा चुनावी सभा सम्पन्न गरेको छ । एमाओवादीले क्षेत्र नं.१ मा कालीखोला गाविसस्थित हरिसे प्राथमिक विद्यालयमा चुनावी सभा गर्‍यो । दलहरुले चुनावी अभियानको तालिकामै उल्लेख गरेर विद्यालयमा चुनावी सभा गर्दैछन् ।
मुगुमा मधेसी जनाधिकार फोरम नेपालले पार्टीको झण्डा बोकाएरै विद्यार्थीहरुलाई चुनावी सभामा र जुलुशमा सहभागी गरायो । मंसिर ४ को संविधानसभा चुनाव नजिकिदैं गर्दा दलहरुले विद्यालय र विद्यार्थीहरुलाई राजनीतिक स्वार्थ पूरा गर्न प्रयोग गरिरहेको तथ्य पुष्टि गर्न माथि उल्लेखित केही समाचार संक्षेपहरु पर्याप्त छन् ।
निर्वाचन आयोगले बनाएको आचारसंहिताको धोती लगाउँदै दलहरुले विद्यालयलाई शिक्षाको थलोबाट राजनीतिक थलोमा परिणत गरेका हुन् । दलहरुले विद्यालयलाई चुनावी मैदान बनाएपछि कतिपय विद्यालयमा पठनपाठन नै ठप्प भएको अवस्था छ । सानादेखि ठूला राजनीतिक दलका उम्मेदवारहरुको चुनावी सभा गर्ने पहिलो रोजाई विद्यालय नै बनेका छन् । आफ्ना भाषण सुन्ने जनता औंलामा गन्न सकिने मात्र भेला भएपनि दलहरुलाई चुनावी सभा गर्न ठूलो मैदान भएको स्थान भनेको विद्यालय नै हो ।
आचार संहिता कसले अनुगमन गर्ने ?
संविधानसभा निर्वाचन आचारसंहिता ०७०, परिच्छेद २ को ३५ मा विद्यालय वा विद्यालय हाताभित्र आमसभा तथा चुनावी प्रचार गर्न नपाइने प्रष्ट व्यवस्था भए पनि यसको पूरै बेवास्ता गर्दै दलहरु आफ्ना उम्मेदवारको भाषण सुनाउन विद्यालयमा पसिरहेका हुन् । आचारसंहिता उल्लघंनका समाचारहरु आए पनि जिल्लास्थित निर्वाचन कार्यालय र अनुगमन अधिकृतहरु भने घटना थाहा पाएर पनि कानमा तेल हालेर बसेका छन् । ‘विद्यालयमा दलहरुले कार्यक्रम गरेका समाचार दैनिक बाहिर आईरहँदा पनि निर्वाचन कार्यालय जानकारी नै नआएको भनेर बोल्नै चहाँदैन । उसका अनुगमन अधिकृतहरु दलहरुको चुनावी गतिविधि अनुगमन गर्न निस्केको अवस्था छैन ।’ पाँचथरमा अधिकारकर्मी कृष्ण ओझाले भन्नुभयो ।
आचारसंहिता उल्लङघन भएका विषयमा बुधबारै जिल्ला प्रशासन कार्यालयमा र्सवपक्षीय बैठकमा आचारसंहिता उल्लङघन नगर्न दलहरुलाई सचेत गराइएको जिल्ला निर्वाचन कार्यालयले जनाएपनि ओखलढुंगाका सार्वजनिकस्थलको प्रयोग, पर्चा टाँस्ने तथा एकअर्काका प्रचा च्यात्ने कामलाई तीब्र बनाएको ओखलढुंगामा मानवअधिकारकर्मी शिव ढुंगानाले बताउनुभयो ।
‘दलहरुले चुनावी सभाको प्रमुख थलो विद्यालयलाई बनाएका छन् । हामीले यसबारे निर्वाचन कार्यालयलाई सचेत गराएका छौं ।’, अधिकारकर्मी ढुंगानाले भन्नुभयो, ‘निर्वाचन कार्यालय अनुगमन भइरहेको जनाउँछ, तर विद्यालयमा कार्यक्रम गर्ने र विद्यार्थीको प्रयोग गर्ने क्रम झनै बढेर गएको छ ।
दलहरुले ठाउँ नभएकाले बाध्य भएर विद्यालयमा कार्यक्रम गर्नु परेको बताउँदै आएका छन् । तामझामका साथ निर्वाचन आचारसंहिताको पालना भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगले बताइरहँदा दलहरु भने उसैले बनाएको आचारसंहित खुलेआम उलंघन गरिरहँदा पनि प्रतिकृयाविहिन
छ ।
निर्देशन दिइसकिएको छ : निर्वाचन आयोग
निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले अनलाइनखबरसँग कुरा गर्दै विद्यालयमा चुनावीसभा र चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग रोक्न सम्वन्धित निर्वाचन कार्यालयलाई लिखित निर्देशन दिइसकेको बताउनुभयो । ’हामीले आचारसंहितको कडाईका साथ पालना गराउन सम्वन्धित निर्वाचन कार्यालयललाई भनिसकेका छौं । यदि पालना नभएको पाइएमा तत्काल सम्वन्धित जिल्लाका निर्वाचन कार्यालयमा जानकारी गराउनु भएमा त्यस्ता गतिवधि रोकिनेछन् ।’ प्रवक्ता राईले भन्नुभयो ।
सरोकारवालाको भनाइ
चुनावी सभामा बालबालिकाहरु र विद्यालयको प्रयोग बढेपछि महिला बालबालिका र समाज कल्याण मन्त्रालयअन्र्तर्गतको केन्द्रीय बालकल्याण समितिले विहिबार काठमाडौमा आयोजना गरेको बालअधिकारमा आधारित निर्वाचन पर्यवेक्षणसम्बन्धी कार्यक्रममा सरोकारवालाहरुले दलहरुले बालबालिक र विद्यालयलाई निर्वाचनको प्रचारमा प्रयोग गरेको भन्दै सो कार्य बन्द गर्न आग्रह गरेका छन् ।
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालबालिकालाई दलहरुले निर्वाचनमा प्रयोग गर्दा उनीहरूमा मानसिक असर पर्ने भन्दै उनीहरूलाई निर्वाचनमा प्रयोग गर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष भानु पराजुलीले बालबालिका वर्तमानका आधार र भविष्यका कर्णधार भएकाले उनीहरुलाई कुनै पनि दलले निर्वाचनको प्रचारमा प्रयोग गर्न नहुने बताउनुभयो ।

Post a Comment

 
Top