0

प्रचण्डलाई हराउन पदमको यस्तो छ चुनावी रणनीति

 एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक कार्यक्रममै झापड हानेर एकाएक चर्चामा आएका बाग्लुङका पदम कुँवरले प्रचण्डकै विरुद्धमा चुनावमा उठ्ने बताएका छन् । बाग्लुङको राजकोट गाविस वडा नम्बर २ का पदमले प्रचण्ड उम्मेदवार बन्न लाग्नुभएको काठमाडौं क्षेत्र नम्बर १० बाट उम्मेदवारी दिने बताएका हुन् ।
पदमले आफू प्रचण्ड विरुद्ध चुनाव उठ्ने र आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले ‘बाटो’ बिराएको जिकिर गर्दै पदमले उहाँ असफल समेत हुनुभएको तर्क गरेका छन् । पदमले एक भिडियो मार्फत आफू प्रचण्ड विरुद्ध कीर्तिपुरबाट चुनाव लड्ने बताएका हुन् । उनले प्रचण्डलाई ‘असफल’ नेताको संज्ञा समेत दिएका छन् ।
पदम कुँवर
पदमले उम्मेदवारी दिनुपूर्व नै एक चुनावी ‘अभियान’ भिडियो तयार गरेका हुन्। पदमका नजिकक मित्र, छिमेकी र आफन्तले भिडियोमा पदमका बारेमा आफ्ना विचार व्यक्त गरेका देखिएको छ । यु–ट्युव मार्फत सार्वजनिक भएको उक्त करिब सवा ३ मिनेटको भिडियोमा पदमलाई ‘भोट गरौं’ भन्ने सन्देश दर्शाइएको छ ।
एमाओवादीकै पूर्व कार्यकर्ता रहेका पदम माओवादी टुक्रिएपछि नेकपा–माओवादीतर्फ लागेका बताईंदै आएको छ । यतिबेला नेकपा–माओवादी चुनाव विरोधी अभियानमा लागेको छ । नेकपा–माओवादीले आगामी मंसिर ४ गतेका लागि तय भएको संविधानसभाको दोस्रो निर्वाचनका लागि आफ्नो दल समेत निर्वाचन आयोगमा दर्ता गराएको छैन।
यस्तो स्थितिमा नेकपा–माओवादी निकट भनिएका पदमको यस भिडियोले भने थुप्रै आशंका पैदा गरेको छ । पदमले प्रचण्ड विरुद्ध कीर्तिपुरबाट चुनाव लड्छु भनी दाबी गरेको कुनै पार्टी विशेषको उम्मेदवार भएर हो वा स्वतन्त्र रुपमा हो त्यो भने आधिकारीक रुपमा खुलेको छैन ।

Post a Comment

 
Top