0

च्यांग्राको खपत बढेपछि कुखुराको मासु बजार सुस्तायो

असोज २७ –

 दशैंमा खसिबोका र च्यांग्राको मासुको खपत बढेपछि, कुखुराको मासु बजार सुस्ताएको छ ।

दशैं सुरु हुनुभन्दा अघि पोखरामा दैनिक ४० हजार किलो कुखुराको मासु खपत हुने गरेकोमा अहिले माग घटेर २० देखि २५ हजार किलोमा झरेको छ ।
दशैंमा खसिबोका तथा च्यांग्राको मासु खाने परम्पराले गर्दा पनि कुखुराको मासुबजार ओरालो लागेको हो । दशैंपछि, कुखुराको मासु पहिलेकै अवस्थामा बिक्री हुने कास्की खसि तथा कुखुरा मासु व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष भोलानाथ ओझाले बताउनुभयो ।
पोखरामा अहिले कुखुराको मासु प्रतिकिलो २ सय ७० रुपैयाँ छ । खसिबोका र च्यांग्राको मासुको माग ८० प्रतिशतले बढेको छ । दशैं सुरु हुनुभन्दा पहिले पोखरामा दैनिक करिब ५ हजार किलो खसिबोकाको मासु खपत हुने गरेकोमा अहिले बढेर २५ हजार किलोभन्दा माथि खपत हुने गरेको मासु व्यवसायीले बताएका छन् ।
पोखरामा अहिले खसीबोकाको मासु प्रतिकिलो ८ सय रुपैयाँ र च्यांग्राको १ हजार रुपैयाँभन्दा माथि पर्छ । पोखरामा यसपटकको दशैंमा हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, मुगुलगायतका ठाउँबाट गरी करिब १२÷१५ हजार भेडाच्यांग्रा भित्रिएको अनुमान गरिएको छ ।
देशका अन्य ठाउँमा पनि मुस्ताङ र मनाङबाट व्यापारीहरुले दशैंका लागि भेडाच्यांग्रा लगेका छन् । ठाउँ ठाउँमा कर तिर्नुपर्ने र खरिद नै महँगो भएकाले पोखरामा सामान्यतया एउटा च्यांग्राको मूल्य १६ हजारभन्दा बढी तोकिएको छ ।
भेडीगोठमा खोरेतको प्रकोप देखिएपछि, यसपटक कम भेडाच्यांग्रा पोखरा भित्रिएका व्यापारीहरुले बताएका छन् ।

Post a Comment

 
Top