सरकारी अड्डा कि घुस अड्डा?
काठमाडौं सुकेधारा बस्दै आएका रोमन राई मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ अघिल्तिर पुग्दा दुई तीन जनाबाट घेरिए । एमआरपी फारम भर्न हिँडेको बेला प्रशासनको गेटमै कसैले हात समात्न खोज्दा झस्किए पनि ।
‘एकसुरमा हिँडिरहेको बखत अपरिचित आएर झ्याप्प बाटो रोके को झस्किँदैनँ ?,’ आक्रोश पोख्दै रोमनले भने, ‘फेरि यो त जिल्ला प्रशासन कार्यालय हो ।’ संविधानसभा चुनाव नजिकिँदै जाँदा अपरिचितसँग सजग बन्न उर्दी गर्ने प्रशासनको सामुन्ने सर्वसाधारण रोक्न खोज्ने ती को हुन् ? बुझ्दै जाँदा दलाल रैछन् ।
एमआरपी फारममा सहयोग गर्ने भनेपछि हल्का भए रोमन । सकेसम्म सहयोग गर्ने भनेपछि अंगालो हालेरै लगे तिनले र हत्तपत्त फोटो खिचाए । फारम भरेको र फोटो खिचाएको गरेर तीन सय पच्चीस रूपैयाँ असुलीहाले । एमआरपीकै लागि डेढ सयभन्दा बढी पैसा नतिरिकनै बजारमा जताततै फोटो खिच्न पाइन्छ ।
फारम भरेको र टिकटसिकट टाँसेको भनेर अरु पच्चीस रुपैयाँ पनि तिर्नुप¥यो । यति काम सकेर लाइनमा बस्दा पालै आएन । बुधबार पनि उनी एमआरपी फाँटमा कुरिरहेका देखिन्थे । बेलबारी घर भएका उनी एमआरपीको काम सकाएर वैदेशिक रोजगारीमा जाने सपना बुन्दै रहेछन् ।
मोेरङ प्रशासनको छेऊछाउमा रहेका दलालबाट पीडित बन्ने उनी एक्ला भने हैनन् । जोकोही, कुनै कामले हिँडेका व्यक्तिलाई दलालले त्यसरी नै समात्छन् । ‘सर एमआरपी बनाउने हो ? भन्दै तानिहाल्दा रैछन्,’ एमाले जिल्ला कमिटी सदस्य पारुल क्षेत्री भन्छन् ।
मोरङबाट रुकुम घर भएकी साथीको नागरिकता अभिलेख पठाउनुपर्ने भएपछि उनी मंगलबार प्रशासन पुगेका रहेछन् । उनी त्यहाँ पुगेको एक घन्टामा अभिलेख भेटियो । तर अभिलेख उतार्न अरु दुई घन्टा कुर्नुपर्यो। तै पनि फाँटका कर्मचारीले पत्याएनन् ।
राष्ट्रिय अनुसन्धानका कर्मचारीको सहयोग लिन बाध्य बने । अनुसन्धानका कर्मचारी फाँट पुग्दा केहीअघि टेबुलमा राखेको त्यो फाइल गायब भइसकेको रहेछ । कडिकडाउ गर्न थालेपछि बल्लबल्ल फाइल निस्कियो।
जिल्ला प्रशासन कार्यालय जाने प्रायः सर्वसाधारणको एउटै गुनासो छ, समयमा काम भएन । सुकिलामुकिला, चिनजानका आए बेग्लै व्यवहार गरेर काम छिटो गर्दिने तर सर्वसाधारणलाई घन्टौं र सानोतिनो काममा पनि दुई तीन दिनसम्म अल्मल्याइदिने राणा, राजारजौटा र पञ्चायती शैली अझै पनि हट्न सकेको छैन । ‘एकैपटक गएको मान्छे एकलाई आइस्योस्, बसिस्योस्, तातो चिसो के टक्र्याँउसम्म र अर्कोलाई ठिङ्ग्याएर राख्ने शैली गणतन्त्र नेपालमा पनि उस्तै रहेछ,’ क्षेत्री भन्छन्, ‘सिडिओ, सहायक सिडिओकहाँ गएर भन्नसक्ने पहुँचवालाको पाँच मिनेटमै काम फत्ते, पहुँच नहुने रुँघेको रुँघै ।’
हजारौं लाखौं जनताको सरोकार रहेको प्रशासन कस्तो होला ? छोरोको नागरिकता बनाउन आएका सुन्दरपुर ६ का जगन्नाथ कट्टेल उभिँदाउभिँदा खुट्टा गलेर लल्याकलुलुक भए । त्यो पनि नाक थुनेर । नागरिकता फाँटछेऊ एउटा चर्पी छ, जुन कहिल्यै सफा गरिन्नँ । त्यहाँबाट फैलिने दुर्गन्धले पिरोलिएर सर्वसाधारण ‘कस्तो अड्डा रैछ’ भन्दै दिक्क मान्छन् । कट्टेल भन्छन्, ‘यहाँ कर्मचारीको चित्त बुझाए पाँचै मिनेटमा, दायाँवायाँ बोले दिनभरि कुरे पनि काम बन्दैन ।’
केही समयअघिसम्म यो अड्डा घुसअड्डा भनेर चिनिन्थ्यिो । फाइलसँगै घुसाएर दाम राखे एकैछिनमा काम बन्थ्यो । ‘अहिले केही कम भएको मात्र हो,’ यो फाँटसँग सरोकार राख्ने एक कर्मचारी आफैं भन्छन्, ‘सिडिओसापले अलि कडा गर्दिएकाले ।’
एमआरपी फारम भर्नेलाई अर्को सास्ती छ । आफैंले खिचेर लगेको फोटो हुँदै नहुने । प्रशासनछेउ दलालले खोलेका फोटो स्टुडियोकै चाहिने भनेर कर्मचारी अड्डी कस्छन् । कर्मचारीले त्यति गर्दिँदा दलाल आफैं टेबुलसम्म पुगेर फाइल बुझाउँछन् । प्रशासन स्रोतका अनुसार यी दलालसँग कर्मचारीको भरपुर हेलमेल छ । ‘मैले खिचेको फोटो र उनीहरुले खिचेको फोटोमा फरक केही देखिनँ, तै पनि भएन भनेर ग्राहक आउँदा दुःख पाउने गरेको छ,’ विराटनगरका व्यावसायिक फोटोग्राफर एवम् मेलिना फोटो स्टुडियोका सञ्चालक सञ्जय श्रेष्ठले दुखेसो पोखे ।
प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की आफैं यस्तो ठगीप्रति जानकार छन् । ‘हामीले सकेसम्म दलालबाट ठगी रोक्ने प्रयास गरेका छौं,’ उनले भने । उनका अनुसार नेपाली समाजमा अझै पनि एउटा संस्कृति छ, ठूलाबडालाई बढी आदरसम्मान गर्ने । प्रशासनमा पनि त्यही भएको उनको दाबी छ । ‘प्रशासनमा काम गर्ने कर्मचारी पनि त्यो समाजभन्दा बाहिर गएर काम गर्न सक्दैन,’ उनी भन्छन्, ‘चिनजानका आए छिटो गर्दिहाल्छन् ।’ सबै सेवाग्राहीलाई समान व्यवहार गर्न भने बारम्बार भन्ने गरेको कार्कीको भनाइ छ । समयमा काम नभएको वा कानुनविपरीत काम गरेको प्रमाणसहित गुनासो आए त्यस्ता कर्मचारीलाई कारबाही गर्ने उनको कथन छ ।
Post a Comment