0

निर्वाचन सुरक्षाकालागी सशस्त्र प्रहरीद्धारा ८५ हजार राउन्ड गोली माग


 -आगामी संविधानसभा निर्वाचनका लागि सशस्त्र प्रहरी बलले ८५ हजार थान गोली माग गरेको छ । सकेसम्म नेपाली सेनाबाट गोली खरिद गर्ने प्रस्ताव सशस्त्रले गृह मन्त्रालयमार्फत अघि बढाएको छ । गोली अभाव रहेको भन्दै सशस्त्र प्रहरीले खरिद प्रक्रिया अघि बढाएको हो । सशस्त्रको प्रस्तावमा नेपाली सेनासँग पर्याप्त गोली भएमा हालका लागि सेनाबाटै खरिद गर्ने उल्लेख छ । यसका लागि मूल्यसमेत तोकेर पठाउन गृहले रक्षा मन्त्रालयमा प्रक्रिया अघि बढाएको छ ।
हतियार तथा गोली किन्न सशस्त्र प्रहरीले नेपाली सेनाको समेत स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ । सोही कारण सशस्त्रले स्वीकृति माग्दै सकेसम्म सेनाबाटै गोली खरिद गर्ने प्रस्ताव गरेको हो । विभिन्न तीन किसिमका गोली आवश्यक रहेकोसमेत खुलाएर सशस्त्रले प्रक्रिया अघि बढाएको छ । संविधानसभा निर्वाचनमा सशस्त्र प्रहरी बल संवेदनशील र अति संवेदनशील गरी ६० जिल्लामा खटिनेछ । ६० जिल्लामा करिब २९ हजार सशस्त्र प्रहरी खटिनेछन् । जिम्मेवारी तोकिएको सबै जिल्लामा सशस्त्र प्रहरी खटिसकेको सशस्त्र प्रवक्ता डिआइजी सिंहबहादुर श्रेष्ठले बताए । खासगरी तराईका जिल्लामा केन्द्रित गरी सशस्त्र प्रहरीलाई खटाइएको छ ।
म्यादी प्रहरीभन्दा सेना खटाउँदा सुरक्षा बलियो हुने भएकाले सरकारले यसपटकको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न सेना खटाउने निर्णय गरेको हो । निर्वाचनमा सेना र सशस्त्र प्रहरीलाई बराबर अधिकार दिइएको छ । उनीहरूलाई चेकिङ तथा खानतलासीसमेत गर्न सक्ने अधिकार दिइएको स्रोत बताउँछ ।

Post a Comment

 
Top